ad ad

समाज


थली घटना : कोठा भाडा तिर्न नसकेपछि ३ महिनादेखि ट्याक्सीमै बस्थे कृष्णका परिवार

छोरालाई आत्महत्याको तरिका सिकाएर छुट्टिएका थिए कृष्ण
थली घटना : कोठा भाडा तिर्न नसकेपछि ३ महिनादेखि ट्याक्सीमै बस्थे कृष्णका परिवार

उजिर कार्की
जेठ ८, २०८१ मंगलबार १५:८, काठमाडौँ

भक्तपुरको छालिङका कृष्ण नगरकोटी मंगलबार बिहान काठमाडौंको थलीस्थित  सडकमै मृत फेला परे। उनका छोराछोरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा छन्। प्रहरीले उनीहरुसँग सोधपुछ गरिरहेको छ।

अहिलेसम्मको अनुसन्धान र छोराछोरीले दिएको जानकारी अनुसार, ५४ वर्षका कृष्णले आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

कृष्णका छोरा रिचेन नगरकोटीले बुबाले आफूलाई पनि आत्महत्या गर्न सिकाएर पठाएको प्रहरीलाई बताएका छन्। यसको कारण आर्थिक संकट रहेको प्रहरीको भनाई छ।

कृष्णका परिवार पछिल्ले तीन महिनादेखि ट्याक्सीमै बस्दै आएका थिए। पहिले उनीहरू काठमाडौंको रविभवन नजिक गणेशथानमा कोठा भाडामा लिएर बस्दै आएका थिए। तर कृष्णकी श्रीमतीले उनलाई छाडिन्।

श्रीमतीले छाडेपछि कृष्णले छोराछोरीलाई पनि ट्याक्सीमै बास बसाउन थालेका थिए। कोठा भाडा तिर्न नसकेपछि तीन महिनादेखि ट्याक्सीमै बस्ने गरेको रिचेन र रश्मीले प्रहरीलाई बताएका छन्।

कृष्ण विगत १५ वर्षदेखि ट्याक्सी चलाउँथे। छोराछोरीको मानसिक स्वास्थ्य अवस्था असामान्य देखिएको प्रहरीको भनाई छ।

२०८१ जेठ ७ गते सोमबार बिहान १० बजेतिर रश्मीलाई सेतोपुलमा छाडेर बाबुछोरा हिँडेका थिए। ट्याक्सी बिग्रिएको र मिस्त्री ल्याउँछु भनेर उनले रश्मीलाई त्यहीँ बस्न लगाए। छोरालाई भने साथमा लिएर गए।

कृष्णले रिचेनलाई साथमा लिएर गएपछि ब्लेडले घाँटी काट्न सिकाए। दुई वटा ब्लेड र १२५ रुपैयाँ पैसा दिएर उनलाई पठाए।

रिचेनले दिएको बयान अनुसार कृष्णले भनेका थिए– दक्षिणकालीको जंगलमा गएर आत्महत्या गर्नू, म पनि कतै गएर आत्महत्या गर्छु।

रिचेनलाई सोमबार नै चोभारको चाल्नाखेलमा घाँटी काट्दै गरेको अवस्थामा फेला पारेर प्रहरीले उद्धार गर्‍यो।

तर मंगलबार बिहान ५ बजेर २० मिनेट जाँदा कागेश्वरी मनोहरा नगरपालिका ५ मिलनचोकको ओरालोमा बन्दै गरेको सडकको किनारमा अपरिचित पुरुष मृत फेला परेको प्रहरीलाई जानकारी आयो।

जिल्ला प्रहरी परिसरको टोली तत्काल घटनास्थलमा पुग्दा कृष्ण नगरकोटी मृत फेला परे। उनको साथबाट प्रहरीले ४ वटा ब्लेड पनि फेला पारेको छ।

कृष्ण नगरकोटीको मुखमा कपडा कोचिएको थियो।

घाइते अवस्थामा फेला पर्दा रिचेनको पनि मुखमा कपडा नै थियो। कृष्णले छोरालाई पनि उही तरिका सिकाएको खुलेको छ।

प्रहरीले घटनापछि रश्मीलाई खोजि गर्ने क्रममा बा १ ज ९६५ नम्बरको ट्याक्सीभित्र बसिरहेको अवस्थामा सेतो पुलमा फेला पारेको हो।

अहिले उनलाई पनि प्रहरी परिसर काठमाडौंमा लगेर सोधपुछ गरिरहेको परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .