केही साताअघि फर्किएर हेर्ने हो भने सिनेमा हलहरुमा नेपाली फिल्महरुको तँछाडमछाड थियो। हरेक साता कम्तीमा दुई नेपाली फिल्म हलमा लाग्ने गर्थे। तर अहिले चार हप्ताअघि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ले सिनेमा हल धानिरहेको अवस्था छ। बलिउड फिल्म ‘उँचाइ’ सहायक भएको छ।
हरेक दिन उल्लेख्य संख्यामा म्युजिक भिडिओ सार्वजनिक हुने युट्युबमा पनि अहिले गीत रिलिज भएको छैन। गएको साता पारपाचुके गरेकी दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले गाएका लाइभ दोहोरी र उनका केही म्युजिक भिडिओबाहेक नयाँ गीत सार्वजनिक नभएको धेरै दिन भइसक्यो। बरु केही पुराना फिल्म यहीबेला युट्युबमा रिलिज भएका छन्।
युट्युबमा नयाँ म्युजिक भिडिओ र हलमा नयाँ फिल्म नदेखिनुको मुख्य कारण हो चुनाव। मतगणना नसकिँदासम्म नयाँ फिल्म रिलिजले गति लिनेछैन्। फिल्म र म्युजिक भिडिओको खडेरी लाग्नुको अर्को कारण हो कतारमा सुरु भएको विश्वकप। आइतबार रातिबाट सुरु भएको विश्वकप आगामी पुस ३ गतेसम्म चल्ने छ।
म्युजिक भिडिओहरु निर्माण सकेर बसेरकाहरु पनि उपयुक्त समयको पर्खाइमा छन्। विश्वकप र चुनावका कारण फिल्म रिलिजको जोखिम निर्माताहरुले नलिएको निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन्। भन्छन्, ‘दर्शकहरुको ध्यान मतपरिणाम र विश्वकपतिर भएकाले हलसम्मद दर्शक जाँदैनन् भन्ने निर्माताको धारणा बनेको छ। त्यसैले अहिले नयाँ फिल्म रिलिज भएका छैनन्।’
निर्वाचन मिति घोषणा भएपछि निर्माताहरुले मंसिर ४ को नजिक पारेर फिल्म रिलिज मिति लिएनन्। फलस्वरुप २ सातायता कुनै पनि नेपाली फिल्म रिलिज भएका छैनन्। कात्तिक ११ मा प्रदर्शन भएको ‘लाखे’ले पनि हलमा खासै कमाल गर्न सकेन। अहिलेसम्म पनि कात्तिक ११ मा प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित ‘महापुरुष’ले छिटपुट दर्शक तानिरहेको छ। नयाँ फिल्मको खडेरीका कारण अझै केही साता ‘महापुरुष’ले फाइदा असुल्ने देखिन्छ।
ठूला ब्यानरका फिल्मका लागि पुससम्मै कुर्नु पर्ने देखिन्छ। त्यसयता केही फिल्मले प्रर्दशन मिति लिएका भए पनि राम्रो आशा गरिएका फिल्म भने पुस लागेर मात्रै प्रदर्शन हुनेछन्। मंसिर ९ गते सलोन बस्नेतको ‘मिलन’, मंसिर १६ मा रिस्ता बस्नेत अभिनित ‘पासो’, मंसिरको २३ मा नम्रता सापकोटा अभिनित ‘देसान’ र दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता राजकुमार राईको ‘सोल अफ द कमान्डो’ प्रदर्शन हुने छन्। यी सबै फिल्म बक्स अफिसमा कमाल गर्ने फिल्मको सूचीमा नरहेका फिल्म हुन्।
पुस १५ पछि भने फिल्म उद्योगमा भिडन्त ठूलै हुने देखिन्छ। पुस १५ मा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको ‘डिसेम्बर फल्स’ प्रदर्शन हुनेछ। चलेका नायक आर्यनको यो फिल्मबाट कमब्याकको आशा गरिएको छ। त्यहीअनुसार प्रचार पनि भइरहेको छ। यही मितिमा प्रियंका कार्की अभिनित हरर फिल्म ‘चिँ मुसी चिँ’ प्रदर्शन हुने छ। यो फिल्मले पनि बक्स अफिसमा धेरथोर कलेक्सनको अपेक्षा गरिएको छ। ऋचा शर्माको फिल्म ‘कौसिद’ पनि यही मितिमा प्रदर्शन हुनेछ। ऋचाको ‘कौसिद’को निर्माण घोषणाबाटै राम्रो प्रचार गरिँदै आएको छ।
पुस २९ मा पनि नेपाली फिल्मको त्रिपक्षीय भिडन्त हुने भएको छ। यो मितिमा सारा श्रीपाइली अभिनित ‘गुञ्जन’, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘तिम्रो मेरो साथ’ र राजु गिरीको निर्देशन रहेको ‘दिलमाया–२’ प्रदर्शन हुनेछन्। माघमा भने एउटा मिति बाहेक अहिलेसम्म कुनै मिति तय भएका छैनन्। माघ २० लाई जीतु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ले प्रदर्शन मिति तोकेको छ। माघको अन्य मिति खाली छ।
फागुन लागेपछि भने हलमा हेभिवेट फिल्मको भिडन्त हुने देखिएको छ। ठुल्ठूला ब्रान्डका फिल्म प्रदर्शन हुने भएका छन्। फागनु ५ गते नारायण रायमाझीको ‘परदेशी २’ प्रदर्शन हुनेछ। रायमाझी आफैँ ब्रान्डका रुपमा स्थापित निर्देशक हुन्। नेपाली गायनमा स्थापित प्रकाश सपुतको डेब्यु फिल्म उद्योगले मात्रै होइन दर्शकले पनि प्रतीक्षा गरेको फिल्म हो।
यही मितिमा रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ प्रदर्शन हुँदैछ। रामबाबु पनि फिल्म उद्योगमा अब्बल साबित भएका निर्देशक हुन्। फिल्ममा प्रियंका कार्की र दयाहाङ राईले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। यी दुवै कलाकार सिने उद्योगमा ब्रान्डकै रुपमा स्थापित कलाकार हुन्। यही मितिमा घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ प्रदर्शन हुनेछ। ‘धौली’, ‘पञ्चेबाजा’ जस्ता फिल्म निर्देशन गरेर समीक्षकको राम्रो मत पाएका लामिछानेको यो फिल्म पनि उद्योगमा आशा गरिएको फिल्म हो। फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेकी छिन्। साम्राज्ञी पनि दर्शको रोजाईमा पर्ने अभिनेत्री हुन्।
अहिलेसम्म फागुन १२ मा सरोज खनालको ‘बगान’ सोलो रिलिज हुने देखिएको छ। यो मितिमा अन्य निर्माताले रिलिज घोषणा गरेका छैनन्। फागुन १९ लाई वर्षकै सबैभन्दा ठूलो फिल्मी भिडन्तका रुपमा फिल्म विश्लेषकहरुले लिएका छन्। यो मितिमा दीपकराज गिरीको ‘छक्कापञ्जा ४’ रिलिज हुने चर्चा छ। यद्यपि, यो फिल्म छायांकनमा गइनसकेकाले यसै भन्न सक्ने अवस्था छैन। यही मितिमा अनमोल केसी अभिनित ‘छड्के–२’, सुरज पाण्डेले निर्देशन गरेको ‘परस्त्री’ र लक्ष्मण सुनारको ‘बुलाकी’ प्रदर्शनमा आउने भएका छन्।
प्रतिक्रिया