कला


‘मालती मंगले’ को प्रदर्शनका लागि अमेरिका उडे रामकृष्ण ढकाल

‘मालती मंगले’ को प्रदर्शनका लागि अमेरिका उडे रामकृष्ण ढकाल

नेपालखबर
जेठ २०, २०८३ बुधबार १३:२१, काठमाडौँ

फिल्म ‘मालती मंगले’ को विश्वव्यापी रिलिजका लागि निर्माता तथा गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन्।

चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले ढकाल पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन्। पहिलो चरणअन्तर्गत उनले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन् भने त्यसपछि युरोपलगायत अन्य मुलुकमा पनि जाने योजना रहेको ढकालले बताए।

विश्वव्यापी प्रदर्शनका क्रममा चलचित्रको विशेष प्रदर्शनीसँगै दर्शकसँग ‘मिट एन्ड ग्रिट’ र गायक ढकालको साङ्गीतिक कार्यक्रमसमेत सँगसँगै आयोजना हुनेछ। सार्वजनिक प्रदर्शन तालिकाअनुसार अमेरिकाको बोस्टनमा ५ जुनमा र न्यु ह्याम्पसायरमा ६ जुनमा चलचित्र प्रदर्शन तथा साङ्गीतिक कार्यक्रम हुनेछ।

त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुनको तेस्रो साता क्यानडाको टोरन्टोमा चलचित्र प्रदर्शन गरिनेछ। यसै गरी, ४ जुलाईमा अस्ट्रेलियाको सिड्नीमा चलचित्रको ‘रेड कार्पेट प्रिमियर’ आयोजना हुनेछ भने अस्ट्रेलियाका अन्य सहरमा पनि प्रदर्शनलाई निरन्तरता दिइनेछ।

साथै, युरोपका विभिन्न मुलुकमा समेत चलचित्र रिलिज हुने र सो रिलिज तथा साङ्गीतिक कार्यक्रममा ढकालसँगै कार्यकारी निर्माता सागर ज्ञवाली तथा अन्य कलाकारको समेत सहभागिता रहने जनाइएको छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको ‘मालती मंगले’ लाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। फिल्मको कथा निर्देशक पाण्डेयले नै तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन्।

फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायतका कलाकारको अभिनय रहेको छ। 

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह-निर्माताका रूपमा लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad