विवाहित महिलाको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का आवेदन खुला गरिएको छ।
मिसेस नेपाल वर्ल्डले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ। आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ भव्य, व्यवस्थित तथा अन्तर्राष्ट्रिय स्तरको बनाइने जानकारी दिए।
‘मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगिता मात्र होइन, नेपाली महिलाको नेतृत्व, क्षमता, आत्मविश्वास र सामाजिक योगदानलाई विश्वसामु प्रस्तुत गर्ने अभियान हो,’ झाले भने, ‘हामी यस संस्करणलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रतिबद्ध छौंँ।’
प्रतियोगिताको पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौँको नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा गरिनेछ। प्रतियोगितामा सहभागी हुन उचाइ वा तौलको कुनै सीमा तोकिएको छैन।
न्यूनतम एसईई, एसएलसी वा सो सरह उत्तीर्ण विवाहित तथा एकल महिलाले देश विदेशबाट आवेदन दिन सक्नेछन्। आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्ट प्रालिको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने व्यवस्था गरिएको छ।
अडिसनबाट छनोट भएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व, सार्वजनिक प्रस्तुति, र्याम्प वाक, फिटनेस, सामाजिक उत्तरदायित्व तथा विभिन्न जीवनोपयोगी विषयमा अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा विशेष प्रशिक्षण प्रदान गरिनेछ।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते काठमाडौँमा आयोजना गरिने आयोजकले जनाएका छन्।
यस वर्षदेखि आयोजक संस्थाले आफ्नो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विस्तार गर्दै नयाँ राष्ट्रिय उपाधि ‘मिसेस नेपाल कोस्मो २०२६’ समेत समावेश गरेको छ। यस उपाधिकी विजेताले म्यानमारमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस कोस्मोमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।
यस नयाँ फ्रेन्चाइजमार्फत नेपाली विवाहित महिलालाई अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता तथा नेपाली संस्कृति विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान हुने आयोजकले जनाएको छ।
Shares

प्रतिक्रिया