यस वर्षको हरितालिका तीज भदौ २९ मा परेको छ। तीज आउन दुई महिना बाँकी छँदै तीज गीत आउन थालेका छन्। असारदेखि नै युट्युबमा तीज विशेष गीत आइरहेका छन्।
युट्युब नियाल्दा यतिखेर तीन दर्जन हाराहारीमा तीज गीत देखिन्छन्। दिनहुँ तीजलक्षित गीत सार्वजनिक हुने क्रम बढ्दो छ।
चर्चित लोकदोहोरी गायक खुमन अधिकारी लामो समयदेखि तीजका गीत गाउँदै आइरहेका छन्। यसवर्ष असार १७ मै खुमनले तीज गीत ल्याइसकेका छन्।
‘तीज चाड’ बोलको गीतमा खुमनसहित शान्तिश्री परियार, समीक्षा अधिकारी, शिला आले, टीका पुन, राधिका हमाल, पूर्णकला बीसीसहित २२ जना गायिकाको स्वर सुन्न सकिन्छ।
दुर्गा पौडेललको शब्द रहेको गीतमा खुमनले संगीत भरेका छन्। यस गीतले युट्युबमा पनि राम्रो भ्युज पाइसकेको छ। हालसम्म गीत साढे पाँच लाख पटक हेरिइसकेको छ।
योसहित खुमनको स्वर रहेका चार वटा तीज गीत सार्वजनिक भएका छन्। उनले शान्तिश्री परियारसँग मिलेर अफिसियल तीज गीत ‘करिमैले जहाँ लान्छ उहीँ जाउँला’ पनि ल्याएका छन्। साथै उनको स्वरमा ‘फूल देवीलाई, जोबान बेबिलाई’ र ‘अब होला केही’ बोलको गीत सार्वजनिक भएका छन्।
त्यस्तै, असारमै पशुपति शर्मा, खेम सेन्चुरी र शान्तिश्री परिवारको स्वरमा ‘फेरि आयो तीज’ बोलको गीतले चर्चा बटुलिरहेको छ। पशुपति शर्माको स्वरमा यस वर्ष ‘फेरि आयो तीज’ सहित ‘हाम्ले माया लाउने होइन र?’ र ‘कर्म घरलाई खुशी दिएर’ गीत पनि सार्वजनिक छन्।
प्रिती आलेले पनि तीज गीत ‘दुनियालाई पिर’ ल्याइसकेकी छन्। दुई साताअघि सार्वजनिक गीतमा झण्डै दुई लाख भ्युज छ।
भूमिका गिरीको लगानीमा ‘दिम कि नदिम’ बोलको गीत आइसकेको छ। गीतमा भूमिकासहित ऋषि खड्काको स्वर रहेको छ। ऋषिकै शब्द र संगीत रहेको गीतलाई टिकटकदेखि युट्युबमा रूचाइएको छ। हालसम्म यो गीत सात लाखभन्दा बढी पटक हेरिएको छ।
१२ दिनअघि नै युट्युबमा तीज गीत ‘एकबारको जिन्दगानीमा’ आएको छ। यस गीतमा कृषक्षेत्री र समीक्षा अधिकारीको स्वर रहेको छ। कृष क्षेत्रीको शब्द र संगीत रहेको गीतलाई खेमराज गौतमको एरेन्ज छ। गीतमा कमाउन र रमाउन जान्नुपर्छ भन्ने भाव समेटिएको छ।
त्यस्तै, रमाइलो खालको तीज गीत ‘महादेव, खालि भयो जेब’ पनि युट्युबमा आइसकेको छ। कस्तुप पन्तको शब्द र संगीत रहेको गीतमा एलिना चौहानले स्वर दिएकी छन्।
एलिनाले आफ्नै लगानीमा ‘नौरती फुली’ ल्याएकी छन्। साउन १ मा सार्वजनिक भएको गीतमा एलिनासहित रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बूको स्वर रहेको छ। दीपक शर्माको शब्द र संगीत रहेको गीतमा चेलिको माइतीप्रतिको माया समेटिएको छ। यो गीतमा नौ लाख बढी भ्युज आइसकेको छ।
अर्को उनको अफिसियल तीज गीत रिलिज हुने तयारीमा रहेको छ। वर्षमा ५० वटा तीज गीतमा स्वर दिँदै आएकी एलिनाले यस वर्ष २५ वटा तीज गाइसकेकी छन्। हालै उनले फेसन स्टोर व्यवसाय समेत सुरू गरेकी छन्।
अस्मिता डल्लाकोटीले पनि ‘नाच्न गाउँन हो’ तीज गीत ल्याएकी छन्। गीतमा अस्मितासहित हरि गिरी विमर्सीको स्वर छ। अस्मिताकै शब्द रहेको गीतमा विमर्शीको संगीत छ।
गायिका शर्मिला बर्देवाले पनि यसपालि तीज गीत ‘शिरैमा शिरफूल’ ल्याएकी छन्। तीन दशक लामो सांगीतिक यात्रामा उनले पहिलो पटक तीज गीतमा स्वर दिएकी हुन्। त्यस्तै, गायक कालीप्रसाद बास्कोटाले पनि ‘तीजको रन्को’ बोलको गीत ल्याएका छन्।
‘बुढी आमा दिदीभाइ’ बोलको तीज गीतमा पुरुषोत्तम पौडेलसहित देवी घर्ती र कमला पोखरेलको स्वर छ। शिव पौडेलको शब्द र संगीत रहेको गीतमा संगीत संगोजन विनोद बाजुरालीको छ।
गीतको भिडिओमा विमल अधिकारी, शिवम पोखरेल, शिरु बिष्ट र रश्मी भट्टको अभिनय छ। गीतमा तीजको बेला विदेशमा रहेका भाइको अभावलाई पस्किएको छ।
अञ्जिता विश्वकर्माको स्वरमा ‘पराईको शासन’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ। यो गीत तीन लाख ७० हजार पटक हेरिसकिएको छ। यस गीतमा छोरीको बेदना र पीडा पोखिएको छ।
त्यस्तै, ‘साइली’, ‘सासुको शासन’, ‘माइतको आँगन’, ‘सुनको चुरा औँठी नि सुनकै’, ‘बर्खे झरीमा’, ‘वरिलै’, ‘राम्री देखिन्छु’, ‘भरिएको जोवन’, ‘तीज आयो बरिलै’, ‘लालु मै’, ‘चलेको साडी’, ‘चेली रुवाउने तीज’, ‘उठौं चेली भाग-२’ लगायतका गीतहरू सार्वजनिक भएका छन्। तीज आउन अझै बाँकी छ तर तीज गीतले तीजको झल्को दिइसकेका छन्।
विष्णु माझीकै प्रतिक्षा
दुई महिनाअघि नै तीज गीत आउन सुरु भए पनि हरेक वर्ष चर्चित गायिका विष्णु माझीको तीज गीतकै प्रतिक्षा रहन्छ। एमान्त जीवन बिताउँदै आएकी विष्णुले हरेक वर्ष सुटुक्क तीज गीत ल्याउने गर्छिन्।
गतवर्ष उनले ‘पुतलीको भट्टी भाग-२१’ मा ‘म त नराउरी’ बोलको गीत ल्याएकी थिइन्। दर्शकले पनि विष्णुको गीत आएपछि मात्रै ‘बल्ल तीज आएजस्तो भयो’ भन्दै प्रतिक्रिया दिने गरेका छन्।
गायिका बिष्णुले विगत केही वर्षयता बाहिरका गीतहरू गाउन छाडेकी थिइन्। वर्षभरि गुमनाम रहने उनले आफ्नो सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज वा दशैँमा मात्रै गीत ल्याउने गर्थिन। तर, यसपटक भने तीज आउनुअघिनै उनको स्वरमा ‘झोर्ले हजुर’ सार्वजनिक भइसकेको छ।
यो विष्णुको धेरै वर्षपछि आफ्नो सपना म्युजिक इन्डस्ट्रिजभन्दा बाहिरी गीत हो। सार्वजनिक गीतमा विष्णुसँगै गायक बाबुकृष्ण परियारको स्वर रहेको छ। तर, यो गीतले पहिलेजस्तो चर्चा भने पाउन सकेन।
यस्तोमा यसपटकको तीजमा विष्णुले कस्तो गीत ल्याउँलिन् त? नेपाली सांगीतिक क्षेत्रसहित दर्शकस्रोतामा व्यापक चासो छ।
Shares

प्रतिक्रिया