ad ad

कला


१२ देशका नाटक मञ्चन हुँदैछन्, खुला हृदय लिएर आउनुहोला  : विजया कार्की

१२ देशका नाटक मञ्चन हुँदैछन्, खुला हृदय लिएर आउनुहोला  : विजया कार्की

राधिका अधिकारी
मंसिर ७, २०७९ बुधबार १८:३४, काठमाडौँ

मण्डला थिएटरको आयोजनामा मंसिर ९ देखि १७ गतेसम्म दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ हुँदै छ। महोत्सवमा १२ देशका नाटक मञ्चन हुँदैछन्। महोत्सवमा सहभागिताका लागि देश तथा विदेशबाट कलाकार काठमाडौं आउने क्रम सुरु भएको छ। महोत्सवको संयोजन गरिरहेकी रंगकर्मी विजया कार्कीसँग नेपालखबरले गरेको कुराकानीः

दोस्रो नाट्य महोत्सवको तयारी कहिलेदेखिको हो?
महोत्सव समिति २०२० मै बनेको हो। मण्डला थिएटर नेपाल आयोजक हो। उहाँहरुले महोत्सव समिति बनाउनुभयो, जसमा संस्थाको मात्रै मान्छे नभएर मण्डलाबाहिरका पनि थिएटरसँग सम्बन्धित हामी जस्तो मान्छेलाई राख्नुभयो। म थिएटरबाहिरको मान्छे हुँ। 

२०२० को अन्त्यमा महोत्सव समिति बन्यो। तर २०२१ मा भौतिक उपस्थितिमै महोत्सव गर्ने, डिजिटलमा नजाने भन्ने निर्णय भयो। त्यतिबेला हामीले केही साना कार्यक्रमहरु ब्रिटिस काउन्सिलसँग मिलेर गरेका थियौं। मुख्य महोत्सवको मिति तोक्नुअघि नै कोरोनाको नयाँ भेरियन्ट आयो। त्यसैले २०२१ म महोत्सव गर्न सम्भावना देखिएन। तर जहिले हुन्छ, भौतिक उपस्थितिमै महोत्सव गर्नु पर्छ भन्ने कुरामा हामी स्पष्ट थियौँ। त्यसैले लक्षित समयमा महोत्सव हुन सकेन। २०२२ को सुरुवातबाट यो वर्ष चाहिँ हुन सक्छ है भनेर हामीले त्यही अनुसार तयारी गर्यौँ।

महोत्सवको तयारी पुरा भएको हो?
अब लगभग तयारी सकियो। अब महोत्सवका लागि छानिएका नाटक देखाउन बाँकी हो भन्दा पनि हुन्छ। तर तयारीकै क्रममा महोत्सवको अन्त्यतिर आएर छानिएका दुई अन्तर्राष्ट्रिय नाटक क्यान्सिल भए। फाइनल भएका नाटक पनि मञ्चन हुन नपाउने भए। त्यसका आफ्नै आन्तरिक कारण छन्। नराम्रो लागेको छ। हामीले विश्वभरिबाट ८५ वटा नाटकका लागि आवेदन प्राप्त गरेका थियौँ। अब १७ वटा नाटक देखाइने छ। एउटा अडिओ बजाइने छ। अन्तर्राष्ट्रिय सहभागी आउने क्रम सुरु भएको छ। 

अन्य महोत्सवभन्दा यो महोत्सव फरक छ। यहाँ नाटकदेखि हरेक कुरा लाइभ हुन्छ। त्यसैले काम त महोत्सव नसकिँदासम्म चलिरहन्छ। 

महोत्सव संयोजन गर्दैगर्दाका सुख–दुःख होलान नि?
पक्कै पनि छन्। मण्डला परिवारले विश्वास गरेर मलाई संयोजनकारी भूमिकामा लागि बोलाउनु भयो। मैले पनि खुसीका साथ यो अवसरलाई स्वीकार गरेँ। तर कोरोनाका कारण समय लम्बियो। भ्नेको समयमा महोत्सव हुन सकेन। पहिलोपटक यति ठूलो संयोजनको काम गरिरहेको थिएँ। त्यसमाथि अन्य काम पनि गर्नु पर्ने हामी कलाकारको बाध्यता छ। एक समय लाग्यो, ‘ला यो कमिन्टमेन्ट लम्बिएर जाँदा मेरो अरु काममा पनि असर गर्छ।’ यति भन्दाभन्दै पनि यो संयोजनले मलाई दिएको आत्मविश्वास, सिकाइ, सीप, धेरै कुरामा विकासको अवसर पाएँ। जुन कुराहरु मेरो लागि सुखद छन्। 

आयोजकभित्र थुप्रै कोर टिम छन्। जसमा रहेका सबैजना सक्रिय रुपमा काम गरिरहनु भएको छ। प्रायः सबै मभन्दा बढी उमेरको हुनुहुन्छ, केही हामी समान उमेरका छौँ। हाम्रो महोत्सवको संरचना अनुसार मैले उहाँहरुलाई समझाउनु पर्ने हुन्छ। आफ्नो विचार ठाउँको ठाउँ पनि दिनुपर्ने हुन्छ। उमेर सानो भएकै कारणले केही असहज महसुस हुन्थ्यो। तर उहाँहरुले एउटा बहिनीले भन्दा पनि महोत्सव संयोजकले भनेको हो भनेर मेरा कुरा सुनिदिनु भयो, बुझिदिनु भयो। त्यसैले मलाई सजिलो भयो। उमेर सानो भएकै कारण कति ठाउँमा सल्लाह र सहयोग माग्न मलाई सजिलो पनि भएको हो। 

विदेशी नाट्य समूहको सहभागिता कसरी भयो?
मैले संयोजकको रुपमा महत्वपूर्ण भूमिका त्यतिबेला खेलेँ भन्ने लाग्छ, जब हामी महोत्सव गर्ने/नगर्ने विषयमा टुंगोमा पुग्न सक्दैनथ्यौँ। किनकि हामीसँग महोत्सव पुरा गर्न चाहिने पैसा थिएन। थोरै बजेट थियो। त्यसैका आधारमा यहाँसम्म आइरहेका छौँ। त्यतिबेला मैले के भन्थेँ भने गर्ने हो भने घोषणा गरेर आवेदन आह्वान गरिहाल्नुपर्छ। त्यो कुराले काम पनि गर्यो। थोरै समयमा धेरै आवेदन आयो। राष्ट्रियभन्दा धेरै अन्तर्राष्ट्रिय आवेदन प्राप्त गरेका थियौँ। हामीले दक्षिण एसियाबाट बढी सहभागिताको अपेक्षा राखेका थियौँ। तर, जापान, रुस लगायतका देशबाट आवेदन आयो। उहाँहरुको त्यो उत्साहले उर्जा प्रदान गर्यो। केही सहभागीहरुले हाम्रो पहिलो महोत्सवबाटै फलो गर्नु भएको रहेछ। उहाँहरुको अर्को महोत्सवका बारेमा हामीलाई सोधिरहनु भएको थियो। घोषणा भएपछि हामीले खबर गर्यौं, उहाँहरुले छानिनुभएको छ। अर्कै खालको खुसी मिलिरहेको छ। 

विदेशी नाट्य टोलीसँग सहकार्य गर्नुभएको छ, महोत्सवका लागि। यहाँ र बाहिरको थिएटरमा के फरक रहेछ?
नेपालको थिएटरमा फिजिकल, बडी प्रयोग हुन्छ। अरु तत्व प्रयोग गरेका नाटकहरु कम छन्। रियालिस्टिक नाटकमा पनि अभिनय गर्दा शरीर, आवाज प्रयोग हुन्छ। पछिल्लो समय केही प्रयोग भएका छन्। तर, अन्तर्राष्ट्रिय रुपमा चाहिँ थरीथरी प्रयोग भएको पाइने। कागजबाट पपेट बनाएर कथा भनिएका नाटक पनि छन्। कसैले मास्कबाट कथा भनिएको छ। कसैले अमेरिकामा बसेर भुटानी शरणार्थीको कथा भनिरहनु भएको छ। कथाको छनोट, भन्ने माध्यम फरक छ। सबै देशको आ–आफ्नो ट्रेन्डअनुसार चलिरहेको हुने रहेछ। 

सधैं महिलाको क्षमता माथि प्रश्न उठाइन्छ। अवसर पनि खासै पाउँदैनन्। तर यति ठूलो महोत्सव महिलाकै नेतृत्वमा हुँदैछ। निर्देशक महिला, संयोजक महिला। तपाईंहरुको यो नेतृत्वलाई थिएटरमा अब्बल महिला सहभागिता भनेर बुझ्न सक्छौँ?
अवश्य। किन नबुझ्ने? आजभन्दा ५/७ वर्ष अगाडि महिलाहरुको यो किसिमको नेतृत्वको कल्पना पनि गरिएको थिएन होला। त्यतिबेला महिला निर्देशक, कलाकार नै पनि कम हुनुहुन्थ्यो। अब त जिम्मेवारी लिने महिलाको संख्या पनि बढिरहेको छ। सुरुवाती कदम यसरी नै अगाडि बढिरहेको छ भन्न चाहन्छु। हामी नै हरेक प्रोसेसको जुरी होइन, तर हाम्रो आवाज त्यहाँ जान्छ, अरुले हाम्रो आवाज सुन्नु हुन्छ। हामीले राखेका कुरा सुनिनु भनेको पनि अहिलेका लागि ठूलो कुरा हो। यहाँ महिलाको आवाजलाई आवाजको रुपमा सुन्न थालिएको धेरै भएको छैन। 

पुरुषहरुको व्यवस्थापन र महिलाको व्यवस्थापनमा केही फरक पर्ने रहेछ कि रहेनछ? 
यो महोत्सवको संयोजन गर्दैगर्दा नयाँ कामको अफर आएको छ। त्यसमा उहाँहरुले हामीलाई महिला नै चाहिन्छ भन्नु भएको छ। कतिपय ठाउँमा कोटाका कारण हामीले महिलालाई पनि सहभागी गराएका छौँ है भन्नका लागि पनि महिला राख्ने चलन छ। तर उहाँहरुको त्यो उल्टो छ। उहाँहरुले भन्नु भएको थियो, ‘महिलाहरुको सिर्जनात्मक पक्षलाई हामीले छुट्टै लिन्छौँ। हामीलाई त्यो पोजिसनमा महिला नै राख्नु छ।’ त्यो सिर्जनात्मक काम नै हो। त्यतिबेला मलाई लागेको थियो, महिलामा हुने फेमिनाइन क्षमता महिलाको स्ट्रेन्थ रहेछ। कुनै पनि पोजिसनमा महिला हुँदा देखिने फरक त्यही रहेछ। महिलाहरु खासमा कुशल व्यवस्थापक हुन्। महिला भएको घर र नभएको घर जस्तै हो अन्य संघ–संस्थाको नेतृत्व पनि। पुरुष मित्रहरुलाई मन परे पनि उहाँहरुमा त्यो व्यवस्थापकीय गुण हुँदैन।

महोत्सवको मुख्य मुख्य आकर्षण के के हुन्? 
सबैभन्दा महत्वपूर्ण कुरा त १२ देशका कलाकार एकै ठाउँमा भेला हुँदै छौँ। सबैजनाको भेट सबैजनासँग नहोला, सबैको आफ्नै किसिमको तालिका छ। तर १८ वटा नाटक एकै ठाउँमा बसेर हेर्ने मौका पाउँदै छौँ। नाटक मात्रै हेर्ने होइन, उहाँहरुसँग संवाद पनि गर्ने छौँ। आफ्नो कुरा भन्ने छौँ, उहाँहरुका कुरा सुन्ने छौँ। महोत्सवका माध्यमबाट यो अवसर प्रदान गर्ने जमर्को गरेका छौँ। 

यही महोत्सवका लागि भारतीय अभिनेत्री तथा रंगकर्मी शबाना आजमी काठमाडौं आउँदै हुनुहुन्छ। हामी उहाँका अनुभव सुन्ने छौ। उहाँले मास्टरक्लास दिनुहुनेछ। उक्त मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ साढे ७ बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ। साथै अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई पुरस्कृत गर्नुहुनेछ। 

अहिले रंगमञ्चमा कुरा गरिनु पर्ने शीर्षकहरु खोजेर छलफल गर्ने छौँ। ५ वटा प्यानल डिस्कसन हुँदैछ। १७ नाटकका निर्देशकहरुसँग छुट्टै भेट्न समय पनि छुट्टयाएका छौँ।

यो महोत्सवले नेपाली थिएटर र थिएटरप्रेमीमा कस्तो प्रभाव पर्ला?
मलाई लाग्छ, मनमा केही अपेक्षा नराखी महोत्सवमा सहभागी हुनुभयो भने यहाँबाट केही न केही लिएर जानु हुने छ। अपेक्षा राखेर आउनु भयो भने चाहिँ सोचेको जस्तो नहुन सक्छ। अपेक्षाले मान्छेलाई बिगार्छ। महोत्सवबाट के बोकेर जाने त्यो तपाईंमा भर पर्ने छ। जति खुला हृदय बोकेर महोत्सवमा सहभागी हुनुहुन्छ, त्यति धेरै कुरा लिएर जानु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .