बलिउड अभिनेत्री दुर्गा खोटेको यसै साता ११८औँ जन्मजयन्ती मनाइएको छ। उनले बलिउडमा महिलाका लागि एउटा छुट्टै आयाम स्थापना गरेकी थिइन्। फिल्म सफलतामा सहज देखिएकी उनको जीवन भने त्यति सजिलो थिएन।

धनी परिवारमा जन्मिएका दुर्गाको सानै उमेरमा विवाह भएको थियो। पारिवारिक जीवन राम्रै चलिरहेकै बेला उनका श्रीमान्को मृत्यु भयो। त्यतिबेला उनको उमेर २६ वर्ष मात्र थियो। श्रीमान्को निधनपछि उनले ठूलो आर्थिक संकट झेल्नपर्यो। यही संकटका कारण दुर्गाले स्तरियता नभएका कैयौँ फिल्ममा काम गर्नुपर्यो।

दुर्गाले पहिलोृ फिल्मबाटै निकै आलोचना खेप्नुपरेको थियो। मानिसहरूको आलोचना र पहिलो फिल्म नै फ्लप हुँदाको नमीठो अनुभूतिका कारण दुर्गाले फिल्मबाट टाढा रहने निधो गरिन्। तर वी. शान्तारामको निर्देशनमा पुनः फिल्ममा फर्किएकी उनी निरन्तर ५ दशक उद्योगको एक हिस्सा बनिरहिन्।
फिल्ममा काम गर्ने क्रममा नै उनले आफ्नो छोरो पनि गुमाइन्। बलिउड फिल्म उद्योगकी ‘आमा’का रूपमा स्थापित दुर्गा छोराको मृत्युपछि निकै विक्षिप्त भइन्। उनलाई निडरताका साथ स्वतन्त्र रूपमा काम गर्ने पहिलो अभिनेत्रीको उपाधिसमेत दिइएको थियो। दुर्गा दादासाहेब फाल्के पुरस्कार पाउने चौथो महिला हुन्। उनले पद्मश्री सम्मान पनि पाइन्।
उनै दुर्गा खोटेको जन्मजयन्तीको अवसरमा उनको जीवनसँग जोडिएका केही किस्सा जानौँ।
छोरीलाई पढ्ने अनुमति नभएका बेला बीए उत्तीर्ण
दुर्गा खोटेको जन्म १४ जनवरी १९०५ मा ब्राह्मण परिवारमा भएको थियो। उनको बाल्यकालको नाम भिटा लाड थियो। उनका पिताको नाम पाण्डुरंग शामराव लाड र आमाको नाम मञ्जुलाबाई थियो। दुर्गा धनी परिवारकी छोरी थिइन्। दुर्गाले सेन्ट जेभियर्स कलेजबाट बीए उत्तीर्ण गरेकी थिइन्। दुर्गाले त्यस्तो समय बीएसम्म पढेकी थिइन, जुन बेला छोरीहरूलाई पढ्ने अनुमति थिएन।

२६ वर्षकै उमेरमा एकल
कलेज पढ्दापढ्दै दुर्गाको परिवारले उनको विवाह गरिदियो। उनका श्रीमान्को नाम विश्वनाथ खोटे थियो। उनी मेकानिकल इन्जिनियर थिए। वैवाहिक जीवन निकै राम्रो थियो। उनीहरूका दुई छोरा पनि थिए। तर दुर्गाको यो खुसी लामो समय टिक्न सकेन। उनी २६ वर्षकी हुँदा पति बिते।

श्रीमान्को मृत्युपछि दुर्गाका ससुराले उनको र छोराहरूको हेरचाह गरे। तर केही दिनपछि ससुराको पनि मृत्यु भयो। यसपछि परिवारका केही सदस्यले दुर्गालार्ई सहयोग गरे, तर केही समयपछि उनलाई अरूको भर पर्न नसक्ने महसुस भयो।
दुर्गालाई घर चलाउन समस्या पर्न थाल्यो। उनलाई लाग्यो– ‘अब मैले घर चलाउन केही न केही काम गर्नुपर्छ।’ सुरुवातमा उनले बच्चाहरूलाई ट्युसन पढाएर परिवार चलाउन थालिन्। यही समय उनकी बहिनी शालिनीसँग जेबीको चिनजान भयो। त्यो समय जेबी आफ्नो फिल्मका लागि नयाँ अनुहारको खोजीमा थिए। शालिनीलाई फिल्ममा अभिनय गर्न अफर गरे। त्यो अवसर उनले आफ्नी दिदी दुर्गालाई दिइन्।

पहिलो फिल्म फ्लप
शालिनीको आग्रहमा एच वाडियाले दुर्गालाई फिल्मका लागि अफर गरे। उनले काम गरिन्। फिल्मको प्रस्ताव सजिलै स्वीकार गरेर काम गर्नुका पछाडि एउटै कारण आर्थिक संकट थियो। सन् १९३१ मा रिलिज भएको फिल्म ‘फराबी जाल’मा पहिलोपटक अभिनय गरेकी दुर्गालाई ‘पहिलो गाँसमै ढुंगा’ भनेझैं भयो। उक्त फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो।
धेरै आलोचना
दुर्गाले फिल्म खेल्न सुरु गर्दा केटाहरूले नै केटीको भूमिका निर्वाह गरिरहेका हुन्थे। छोरीहरू बाहिर निस्कँदैनथे। त्यसैले त्यो समय दुर्गाको निकै आलोचना भयो। आलोचकहरूले धनी परिवारकी केटीले पनि फिल्ममा काम गरेको भनेर कुरा काटे। त्यो फिल्ममा दुर्गाको भूमिका १० मिनेटको मात्रै थियो। तर त्यही सानो भूमिकाले उनलाई निकै ठूलो तनाव दियो। मानिसहरूको खिसिट्युरीले उनको मन नराम्रोसँग भाँचियो। जसका कारण उनले फिल्मी दुनियाँबाट टाढा रहने निधो गरिन्।
त्यही समय उनको अभिनयबाट वी. शान्ताराम निकै प्रभावित थिए। शान्तरामको निर्देशनमा पुनरागमनसँगै दुर्गा पनि फिल्ममा फर्किन्। शान्तरामले आफ्नो फिल्म ‘अयोध्याको राजा’मा ‘तारामती’काखे भूमिका निर्वाह गर्न आग्रह गरे। सुरुमा दुर्गाले यो प्रस्ताव स्वीकार गरिनन्। शान्तरामको निरन्तर आग्रहपछि उनी फिल्ममा फर्किएकी हुन्।
दोस्रो फिल्मबाट स्टार
दोस्रो फिल्म ‘अयोध्यका राजा’ छायांकन सकिँदा उनी नर्भस थिइन्। पहिलो फिल्मले दिएको असफलताले गर्दा उनलाई दोस्रो फिल्मप्रति पनि विश्वास थिएन। उनलाई जनताले बहिष्कार गर्ने र फिल्म फ्लप हुने चिन्ता थियो। फिल्म रिलिजपछि भने उनको भूमिकालाई दर्शकले निकै मन पराए। यही फिल्मले दुर्गालाई स्टारका रूपमा स्थापित गरायो। त्यसपछि उनले निरन्तर ५ दशक उद्योगमा काम गरिन्। हिन्दी सिनेमामा स्टुडिओ प्रणाली तोड्ने पहिलो अभिनेत्रीका रूपमा दुर्गालाई लिने गरिन्छ।
दुर्गाले अभिनयसँगै निर्देशनमा पनि हात हालेकी थिइन्। महिलाले अभिनय गर्नु नै ठूलो मानिने त्यो समय दुर्गाले फ्याक्ट फिल्म्स प्रोडक्सन हाउसको ब्यानरमा धेरैवटा सर्ट फिल्म निर्देशन गरिन्। निर्देशनमा पनि उनले राम्रो प्रशंसा पाएकी थिइन्। विदेशी फिल्म फेस्टिभलमा हिँडिरहने दुर्गाले फिल्म निर्माण पनि गरिन्। उनले ‘साथी’ फिल्म बनाएकी थिइन्। तर उनको यो फिल्म उद्योगमा सफल हुन सकेन।
छोरो गुमाएर फिल्म उद्योगकी ‘आमा’
दुर्गा फिल्ममा सक्रिय रहेकै बेला उनका छोराको मृत्यु भयो। छोराको मृत्युले उनलाई स्तब्ध बनाएको थियो। छोरो गुमाएपछि उनी पर्दामा आमाका रूपमा उदाइन्। उनले ‘मुगल–ए आजम’ फिल्ममा शलिमकी आमा जोधा बाईको भूमिका निर्वाह गरेकी थिइन्। जुन अहिले पनि मानिसहरूले सम्झने गरेका छन्।
मोटोपनाका कारण दुर्गाको तौल निकै बढेर गयो। त्यसपछि उनले शीर्ष भूमिका छाडेर सहायक कलाकारको भूमिका निर्वाह गर्न थालेकी थिइन्। दुर्गा बलिउड फिल्म उद्योगकी ‘दादासाहेब फाल्के पुरस्कार’ पाउने चौथो महिला हुन्। यसका साथै उनलाई पद्मश्री र फिल्मफेयर अवार्डबाट पनि सम्मान गरिएको थियो।
पाँचदशक चलचित्र क्षेत्रमा काम गरेकी दुर्गाको ८६ वर्षको उमेरमा निधन भयो। उनको अन्तिम फिल्म सन् १९८० मा रिलिज भएको थियो। त्यसपछि अस्वस्थताका कारण उनले चलचित्रमा काम गर्न छाडिन्। सन् १९९१ म उनको निधन भएको हो।
Shares

प्रतिक्रिया