नेपाली चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई आफ्ना १९ बुँदे मागपत्र बुझाएका छन्। निर्माता संघले बुझाएको मागपत्रमा फिलमी नीति, स्टुडियो, सेयर बाँडफाँड, प्रोजेक्ट बिमा, निर्मातालाई ५ वर्षसम्मको राहतलगायत माग समेटिएको छ।
निर्माताहरुको राष्ट्रिय भेलाले दिएका सुझावलाई मागका रुपमा सञ्चारमन्त्री समक्ष पेस गरेको संघका अध्यक्ष नवल खड्काले बताए। निर्माताहरुको मागपत्र बुझे पनि मन्त्री शर्माले पत्रमा उल्लेख माग सकेसम्म आफ्नो कार्यकालमा पूरा गर्न पहल गर्ने बताएकी छन्।
निर्माता संघले बुझाएको मागपत्रको पहिलो बुँदामा राष्ट्रिय चलचित्र नीति २०७१ लागू गरी उच्चस्तरीय मूल्यांकन अनुगमन समिति गठन गरिनुपर्ने कुरा उल्लेख गरिएको छ। यसैगरी चलचित्र छायांकनका लागि प्रत्येक प्रदेशमा फिल्म सुटिङ स्टुडियोको निर्माणको माग गरिएको छ।
नेपाली चलचित्रको विकास र विस्तारका लागि चलचित्र हेर्ने कल्चरको विकास गर्न घुम्ती चलचित्र भवनको अवधारणलाई अवलम्बन गर्ने गराउने, हल अनुगमलाई कडाइका साथ लागू गरी अनुगमनमा निर्मातालाई पनि सामेल गर्नुपर्नेलगायत माग निर्माता संघले बुझाएको मागपत्रमा उल्लेख गरिएका छन्।
प्रतिक्रिया