चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा पुष्कर लामा निर्वाचित भएका छन्। उनी निर्विरोध निर्वाचित भएका हुन्। पुष्कर यो तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए।
पुनः संघमा नेतृत्व पाएसँगै लामाले तेस्रो घरेलु फिल्मको प्राविधिकको छाता संस्थालाई नेतृत्व गर्ने अर्को मौका प्राप्त गरेका छन्। लामासँगै ‘के घर के डेरा’फेम्ड निर्माण नियन्त्रक युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि लामाले फिल्म प्राविधिकलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु आफ्नो मुख्य एजेन्डा रहने बताएका छन्। प्राविधिक र उनीहरुका सन्तानको शिक्षा र स्वास्थ्यबारेका एजेन्डा पनि उनका छन्। उपचारमा छुटको व्यवस्था गर्नेदेखि उपचारमा आर्थिक सहयोग प्रदान गर्नेसम्मका योजना लामाले सुनाएका छन्।
आगामी कार्यकालमा नेफ्टाको आफ्नै भवन निर्माण गर्ने लामाको योजना छ। लामाकै नेतृत्वमा आगामी जेठ १३ गते अमेरिकी संस्करणको नेफ्टा फिल्म अवार्ड समेत आयोजना हुँदै छ।
Shares
प्रतिक्रिया