कला


आमिरबाई : हिंसा सहन नसकेपछि कार र पैसा दिएर ‘डिभोर्स’ गरिन्, पूर्वपतिबाटै अपहरणमा परिन्

आमिरबाई : हिंसा सहन नसकेपछि कार र पैसा दिएर ‘डिभोर्स’ गरिन्, पूर्वपतिबाटै अपहरणमा परिन्

अमिराबाई


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ११:४८, काठमाडौँ

महात्मा गान्धीको मनपर्ने भजन ‘वैष्णव जन तो तेने कहिये’ थियो। यो गुजराती भजन थियो र यसलाई कन्नड गायिका आमिरबाई कर्नाटकीले गाएकी हुन्। महात्मा गान्धी अमीरबाईको यो भजनका प्रशंसक थिए। आमिरबाई कन्नड, हिन्दी र मराठी गीतहरूमा लोकप्रिय थिइन्। उनले थुप्रै सिनेमाका गीत पनि गाएकी छन्। 

फिल्ममा काम गर्ने महिलालाई घृणा गरिने समयमा पनि अमिराबाईले फिल्मका गीत गाइन्। आज पनि उनको आँटको सम्झना गरिन्छ। त्यो समय फिल्ममा काम गर्ने महिलाले परिवार नै छाड्नुपर्ने अवस्था थियो। फिल्ममा अभिनय गर्ने महिलालाई ‘वेश्या’ भनेर सम्बोधन गर्ने त्यो समयमा उनले फिल्ममा अभिनयसमेत गरिन्। फिल्म क्षेत्रमा महिलाको उपस्थितिलाई सम्मानित बनाउन उनले सिंगो समाजसँग लडाइँ गरिन्। 

आमिरबाईको जन्म बिजापुर, कर्नाटकमा भएको थियो। उनको जन्ममितिको कुनै अभिलेख छैन तर उनको जन्म सन् १९१२ मा भएको भनिन्छ। पहिलो भारतीय फिल्म ‘राजा हरिश्चन्द्र’ पनि त्यही वर्ष बनेको थियो। आमाबाबु अमिना बी र हुसेन साब दुवै गायन र थिएटरमा संलग्न थिए, त्यसैले आमिरबाई र उनका चार बहिनीले संगीतमा काम गर्ने सहज वातावरण पाए। 

सन् १९३१ मा आमिरबाई बिजापुरबाट मुम्बई सरिन्। त्यसपछि नै हो- उनले फिल्मी यात्रा सुरु गरेको। उनलाई भारतको पहिलो गायन तारा पनि भनिन्छ। ग्रामोफोन कम्पनीले १९३५ मै उनलाई एउटा गीत गाएको हजार रूपैयाँ पारीश्रमिक दिन्थ्यो। उनलाई प्रेमगीतसँग पनि जोडेर हेरिने गरिन्थ्यो। कारण उनले त्यो समय थुप्रै रोमान्टिक गीत गाएकी छन्। उनको आफ्नो जीवन भने गायनजस्तो प्रेमिल बन्न सकेन। 

उनले त्यो समयका चर्चित खलनायक हिमालयवाला (अफजल कुरेशी) सँग विवाह गरेकी थिइन्। अफजलले अमिराबाईलाई निकै हिंसा गर्थे। मरणासन्न हुनेगरी कुटपिट गर्थे। अमिराबाईले कमाएको सबै पैसा आफ्नो कब्जामा लिन्थे। अफजलले सम्बन्ध विच्छेदका बेला उल्टै श्रीमतीसँग पैसा लिएका थिए। 

आमिरबाईले न ठूलो सम्मान पाइन्, न ठूलो पुरस्कार।  उनले कन्नड नाइटिंगेलको उपाधि पाएकी थिइन्, तर उनी वास्तवमा उनको योग्यताको सम्मान भने नभएको भनेर अहिले पनि चर्चा हुने गरेको छ। उनीभित्र संगीतको बीउ बिजापुरमै रोपिएको थियो। त्यही बीउ मुम्बई हुँदै गुजरातसम्म फस्टायो। 

आमिरबाईले सानैदेखि संगीतको तालिम लिन थालिन्। आफ्ना आमाबुवाको निरीक्षणमा, उनी आफ्ना दिदीबहिनीहरूसँग संगीतको अभ्यास गर्थिन्। त्यसबेला कर्नाटकको बिजापुर थिएटर कलाकारहरूको गढ थियो। प्रख्यात् मराठी रंगमञ्चका कलाकार बाल गन्धर्व पनि आफ्नो नाटक समूह लिएर बिजापुर पुग्थे। बाल गन्धर्वको नजर आमिरबाई र उनकी दिदी गौहरबाईमा पर्‍यो। अमिराबईको गायन शैली मन परेपछि गन्धर्वले थिएटरमा मौका दिए। 

बाल गन्धर्वको रंगमञ्चबाहेक आमिरबाईले अन्य मञ्चमा पनि गाउन थालिन्। उनको आवाज खारिँदै गयो। त्यतिबेला फिल्ममा गायनको स्कोप थिएन। फिल्ममा अभिनयलाई मात्रै प्राथमिकता दिने त्यो समय महिलाको प्रवेशलाई पनि राम्रो मानिँदैनथ्यो। 

सन् १९३१ मा फिल्म ‘आलमआरा’ प्रदर्शन भयो। यसपछि अमिराबाई बिजापुरको थिएटर संसार छाडेर मुम्बई आइन्। उनको मुम्बई आगमनको यकिन मिति कतै उल्लेख नभए पनि फिल्म ‘आलमआरा’को प्रदर्शनसँगै मुम्बई आएकी थिइन् भन्ने उनको जीवनीमा उल्लेख छ।

सन् १९३४ मा फिल्म ‘विष्णु भक्ति’ बाट अभिनय यात्रा प्रारम्भ गरिन्। उनकी दिदी गौहरबाईका कारण उनले यो फिल्ममा काम गर्ने मौका पाएकी थिइन्। उनकी दिदी आफैँले पनि फिल्ममा काम गरेकी थिइन्। तर पहिलो फिल्मबाट उनको कामको खासै कदर भएन। सन् १९३६ मा आएको फिल्म ‘जमाना’को ‘इस पाप की दुनियाँ से कहें और ले चल’ गीतले भने उनलाई राम्रो पहिचान दियो। त्यसपछि उनले थुप्रै लोकप्रिय गीतमा काम गरिन्।

भाग्यले बदल्यो सपना, बनिन् स्टार गायिका
सन् १९४५ को फिल्म ‘किस्मत’लाई भारतीय फिल्म उद्योगको पहिलो ब्लकबस्टर सिनेमा मानिन्छ। यो फिल्मले धेरै स्टार दियो। अशोक कुमार तीमध्ये एक थिए। यही फिल्ममार्फत पहिलोपटक हिन्दी फिल्ममा एन्टी हिरोको अवधारणा देखापरेको थियो। यही फिल्मबाट अशोक कुमार सुपरस्टार बने। 

यो फिल्मको ‘दूर हटो ए दुनियाँवालो हिन्दुस्तान हमारा है’ गीतले बेलायती सरकारलाई विचलित नै बनाएको थियो। त्यसपछि बेलायतीहरूले यो गीत प्रतिबन्ध लगाउन सक्दो प्रयास गरे। तर फिल्मले भारतीय सिनेमाको नक्सा नै बदलिदियो। १९४५ मा यो फिल्मले बक्स अफिसमा एक करोड रूपैयाँ कमाएको थियो। त्यो समय यो रकम निकै ठूलो थियो। 

यो समय राम्रो परिवारका छोरीहरू फिल्ममा काम गर्दैनथे। उनलाई पनि मानिसहरूले सहज रूपमा स्वीकार गरेनन्। मानिसहरू उनलाई गिल्ला गर्थे। उनले उद्योगमा इज्जतका लागि निकै संघर्ष गरिन्। समाजको खिसीटिउरी र घरपरिवारको विरोधको सामना गर्दै उनले आफ्नो पहिचान बनाइन्।

उनको जीवनी लेख्ने रहमत तारकीले लेखेकी छन्, ‘आमिरबाई र त्यसबेला फिल्मी दुनियाँमा आएका केटीहरूको यो लडाइँ स्वतन्त्रताको लडाइँभन्दा कम थिएन। यो लडाइँलाई खासै महत्त्व दिएनन् तर पनि यी महिलाहरूको साहसले नै आज केटीहरू फिल्मको नायिका बन्दा लाज मान्दैनन्। गर्व गर्छन्।’

खलनायकसँग विवाह 
आमिरबाईले सन् १९४० को दशकका चर्चित खलनायक हिमालयवाला (अफजल कुरैशी) सँग विवाह गरिन्। हिमालयवाला त्यतिबेला धेरै फिल्ममा खलनायकको भूमिका निर्वाह गर्थे। उनलाई उद्योगको ठूलो कलाकार मानिन्थ्यो। तर श्रीमान्‌को व्यवहारका कारण अमिराबाईको वैवाहिक जीवन कष्टकर बन्न पुग्यो। दिनरात विभिन्न खालका हिंसा भोगिन्। हिमालयवालाले सबै पैसा आफ्नो विलासितामा खर्च गरे। विरोध गर्दा उनी आमिरबाईलाई पिट्ने गर्थे। 

सम्बन्ध विच्छेद, धेरै पैसा र कार
पति हिमालयवालासँग चित्त दुखाएकी आमिरबाई कुनै पनि हालतमा उनीसँग अलग हुन चाहन्थिन्। श्रीमान्‌का कारण उनको गायन करियरमा पनि कठिनाइ आइलाग्यो। अभिनय करियर पनि राम्रो चल्न सकेन। त्यो अवधिमा लता मंगेशकर र आशा भोसलेजस्ता गायिकाहरू आएका थिए। उनले काम पाउन मुस्किल हुन थालेको थियो। पाएको काम पनि राम्रोसँग गर्नसक्ने अवस्था थिएन। यस्तो अवस्थामा आमिरबाई आफ्नो पतिबाट अलग भएर करियरमा ध्यान केन्द्रित गर्न चाहन्थिन्। श्रीमान्‌सँग छुट्टिन उनले प्रस्ताव गरिन्- धेरै पैसा र कार पनि लिनुहोस्, तर मलाई छाडिदिनुहोस्।

श्रीमान् पनि राजी भए।

पतिको नराम्रो व्यवहारका कारण आमिरबाई लामो समय डिप्रेसनको सिकार बनिन्। आमिरबाईले श्रीमान्‌लाई धेरै पैसा र कार दिएर सम्बन्ध सक्ने निधो गरिन्। आफ्नो जीवनमा हस्तक्षेप गर्न नपाउने सर्त राखिन्। श्रीमान् हिमालयवालाले पनि सहमति जनाए। श्रीमान्‌बाट छुट्टिएर भोलिपल्ट आमिरबाई गीत रेकर्डिङका लागि स्टुडियो पुगिन्। त्यही बेला उनका श्रीमान् आमिरबाईले दिएको गाडीमा स्टुडियो पुगे। सबैको अगाडि आमिरबाईलाई अपहरण गरे। स्टुडियोका मानिसहरू हेरिरहेका थिए। गाडीमा बसेर घरमा लगेर कोठामा थुनिदिए। आमिरबाईका वकिल चेलशंकर व्यासले त्यस दिन हिमालयवालाले उनलाई कोठामा थुनेर कुटपिट गरेको बयान दिएका थिए।

मुद्दा दायर गरी सम्बन्धविच्छेद गरिन्
यो झमेलापछि आमिरबाईले आफ्ना वकिल चेलशंकर व्यासको सहयोगमा अदालतमा मुद्दा दायर गरिन्। उनले श्रीमान्‌विरुद्ध धेरै गम्भीर आरोप लगाइन्। लामो समयको हिंसा र दुर्व्यवहारपछि उनले अन्ततः श्रीमान्‌सँग सम्बन्ध विच्छेद गरिन्। उनी आफ्ना पतिबाट अलग भइन्, तर यो सम्बन्धको आघात उनलाई लामो समयसम्म परिरह्यो। त्यसपछि उनले सम्पादक बद्री कांचवालासँग दोस्रो विवाह गरिन्। यो विवाह उनका लागि खुसीको खुड्किलो थियो। उनका श्रीमान् हिमालयवाला पनि श्रीमतीसँग अलग्गिएपछि पाकिस्तानमा बसे र पाकिस्तानी फिल्मका ठूला अभिनेता बने। 

लता मंगेशकर स्टार बनेपछि गायन करियर अन्त्य 
सन् १९४७ देखि फिल्मी दुनियाँमा गायनका लागि लता मंगेशकरको नाम मात्रै चर्चा हुन् थाल्यो। उनकी बहिनी आशा भोस्लेको पनि निकै तारिफ भइरहेको थियो र उनीहरू दुवैको गायनका कारण अन्य धेरै गायिकाको करियर सीमान्तमा गएको थियो। तीमध्ये आमिरबाई पनि एक थिइन्। 

गायनमा करियरको ग्राफ घट्दै गएको देखेर आमिरबाईले अभिनयमा ध्यान दिन थालिन्। यसमा पनि उनले मुख्य भूमिका पाएकी छैनन्। ‘आमा, दिदीबहिनी, भाउजु’जस्ता पात्रमा  सहयोगी कलाकार भएर काम गरिन्। गायन करिअर सकिएपछि उनले अभिनय र गायनमा मात्रै ध्यान दिइन्। 

१५० चलचित्रमा ३८० गीत गाइन्
आमिरबाईले आफ्नो करियरमा जम्मा १ सय ५० चलचित्रमा काम गरिन्। उनले आफ्नो करिअरमा  फिल्मका ३ सय ८० गीत गाएकी छन्। यसबाहेक उनले धेरै भजन पनि गाइन्। जसमा गुजराती भजन ‘वैष्णवजन तेने कहिये’ सबैभन्दा प्रसिद्ध भजन थियो। महात्मा गान्धीले पनि यसको धेरै प्रशंसा गरे। उनले यो भजनका लागि आमिरबाईको धेरै प्रशंसा गर्नाका साथै आफ्नो प्रार्थना सभामा गाउन थाले। तर, आमिरबाईले यो भजन गाएको लय र महात्मा गान्धीले गाउने लयमा धेरै भिन्नता थियो।

आमिरबाईले करिअरको उत्कर्षमा रहेका बेला सिनेमा हल पनि निर्माण गरिन्। कर्नाटकको बिजापुरमा रहेको ‘आमिर टॉकीज’ उनले बनाएको सिनेमा घर हो। आज पनि उनको परिवारले उक्त हल चलाइरहेको छ। उनले कर्नाटकमा धेरै शो गरिन्। गायन र नाटकका कार्यक्रम गरिन्। वास्तवमा उनलाई महिला कलाकारलाई स्थापित गराउनु थियो। महिलालाई पनि इज्जत दिलाउनु थियो। जसका लागि उनले आफ्नो सम्पूर्ण क्षमता लगाइन्। आज पनि बलिउडमा महिलाको उपस्थितिलाई उनकै देनका रूपमा चर्चा गर्ने गरिएको छ। 

सन् १९६५ फेब्रुअरी २७ मा अमिराबाईलाई पक्षाघात भयो। फिल्म र गायनमा ठूलो योगदान गरेकी उनका बारेमा बाहिरी दुनियाँलाई थाहै भएन। उनी चार दिनसम्म रोगसँग एक्लै लडिन्। ५५ वर्षको उमेरमा ३ मार्च १९६५ मा उनको निधन भयो।

अमिराबाई

त्यतिबेला पनि उनको कामको चर्चा मिडियामा गरिएन। उनको मृत्युको चार दिनपछि मात्रै पत्रपत्रिकामा उनको मृत्युको खबर छापिएको थियो। उनको मृत्युपछि मात्रै गायन र अभिनय मार्फत भारतीय सिनेमामा महिलाको सम्मान खोज्ने उनको लडाइँको चर्चा भएको थियो। 

–दैनिक भास्करबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad