कला


खगेन्द्र संग्रौलाका समग्र रचना अब १५ ठेलीमा

खगेन्द्र संग्रौलाका समग्र रचना अब १५ ठेलीमा

नेपालखबर
पुस १९, २०७६ शनिबार ६:४२,

साहित्यकार खगेन्द्र संग्रौलाका सबै रचना अब व्यवस्थित ढंगले एउटै सेटमा प्रकाशन हुने भएका छन्। प्रकाशक फिनिक्स बुक्सले संग्रौलाका प्रकाशित–अप्रकाशित सम्पूर्ण पुस्तक तथा फुटकर रचना समेतलाई एकीकृत गरी पन्ध्र खण्डमा उनका प्रतिनिधि रचना छाप्ने तयारी गरेको हो।

संग्रौलाका हालसम्म १४ वटा निबन्ध संग्रह, १२ वटा कथा पुस्तक, तीन वटा उपन्यास पुस्तकाकारमै प्रकाशित छन्। त्यसबाहेक उनका ११ वटा नाटक तथा एकांकी पनि केही पुस्तकमा र केही फुटकर रुपमा छापिएका छन् । संग्रौलाका फुटकर लेख थुप्रै राष्ट्रिय तथा क्षेत्रीय पत्रिकाहरुमा सयौंको संख्यामा छरिएर रहेका छन्। उनका एक दर्जन कविता पनि फुटकर रुपमा प्रकाशित छन्।

‘संग्रौला समग्र’ नामक सेटमा उनका कविता, अन्तर्वार्ता, चिठीपत्र र दुर्लभ रचनाहरु पनि समेट्ने फिनिक्स बुक्सले जनाएको छ। संग्रौलाका रचना संकलन, चयन तथा सम्पादनको काम सुरु भइसकेको सम्पादक संगीत श्रोताले बताए। ‘आउँदो एक वर्षभित्र हामीले उहाँ (संग्रौला)का प्रतिनिधि रचनाको एकै सेट १५ ठेलीभित्र ल्याइसक्ने योजनामा काम गरिरहेका छौँ’, उनले भने, ‘एउटा पेशेवर लेखकले ५० वर्षसम्म लेखेका रचनाहरु चयन गर्नु भयंकर ठूलो चुनौती हो, यो बृहत् परियोजना पनि हो। तर, हामीले त्यस चुनौतीलाई आत्मसात् गरिसकेका छौं।’

आफ्ना सबै पुस्तक र फुटकर रचना समेत एउटै सेटमा प्रकाशित गर्ने योजनाले आफूलाई खुशी तुल्याएको संग्रौलाले बताए। ‘कति लेखियो, कताकता लेखियो, त्यसको हिसाब राखिएन,’ संग्रौलाले भने, ‘अनेक पुस्तक अनेकथरी प्रकाशकले छापे। तपाईंका सबै रचना कहाँ पाइन्छन् भनेर मलाई धेरै पाठकले सोधिरहन्छन्। त्यसको उत्तर मसँग थिएन । अब भने मैले उत्तर पाएको छु– मेरा सबै रचना फिनिक्सले छापेको ‘संग्रौला समग्र’मा पाइन्छन्।’

सम्पादक संगीतले खगेन्द्र संग्रौलाका बारेमा धेरै पाठकमा एक समयको छवि मात्रै स्थापित भएको र उनको समग्र व्यक्तित्व ओझेलमा परेको बताए। ‘नेपालको साहित्यिक सांस्कृतिक आन्दोलन र लोकतन्त्र स्थापनाको नागरिक संघर्षमा खगेन्द्र संग्रौलाको छवि प्रखर, प्रतिबद्ध र निर्भीक सार्वजनिक बौद्धिकको रुपमा ख्यातिप्राप्त छ। पाँच दशकभन्दा लामो समय साहित्य लेखन र सार्वजनिक विमर्शहरुका माध्यमबाट न्यायपूर्ण, समतामूलक र मानवीय समाज निर्माण गर्न संग्रौलाले निर्वाह गरेको भूमिका बिर्सनै नसकिने र बिर्सनै नमिल्ने छ’, उनले भने, ‘तर, अहिलेका धेरै पाठक उनलाई संविधानका आलोचक वा सत्तारुढ दलका विरोधीका रुपमा मात्रै चित्रित गर्छन्। त्यसकारण पनि हामीले २०२० को दशकदेखिका एकजना प्रतिबद्ध र संघर्षशील लेखकको समग्र कृतित्व अभिलिखित होस् भनेर यो काम थालेका हौं।’

साहित्य लेखन र सामाजिक परिवर्तनमा संग्रौलाको अनवरत अध्यवसायको व्यवस्थित अभिलेखीकरण नभएको र वस्तुगत मूल्यांकन समेत हुन नसकेको संगीतको तर्क छ। ‘यही रिक्ततालाई पूर्ति गर्न तथा संग्रौलाको सम्पूर्ण बौद्धिक कर्मको व्यवस्थित दस्तावेजीकरण गर्न हामीले यो परियोजना सुरु गरेका हौं’, उनले भने।

सम्पादक संगीत स्रोता र प्रकाशक फिनिक्स बुक्सले ‘संग्रौला समग्र’ प्रकाशनको परियोजना–प्रस्तावका लागि संग्रौलासँग त्रिपक्षीय सम्झौता पनि गरिसकेका छन्। सम्झौताअनुसार संग्रौलाका छानिएका समग्र रचनाहरु विधागत विभाजनका आधारमा पन्ध्र पुस्तकमा तयार गरिने फिनिक्स बुक्सका कुमार ढकालले बताए। ‘संग्रौलाज्यूले आफ्ना सम्पूर्ण रचनाहरुलाई व्यवस्थित ढंगले एकत्रित गरेर सम्पादन तथा प्रकाशन गर्ने अनुमति संयुक्त रुपमा हामीलाई दिनुभएको छ’, ढकालले भने, ‘फिनिक्स बुक्सको १०औं वार्षिकोत्सवको विशेष अवसरमा हामीले उहाँका प्रतिनिधि रचनाको सेट सार्वजनिक गर्नेछौं।’

फिनिक्स बुक्सले यसअघि समग्र रचना प्रकाशन परियोजनाअन्तर्गत साहित्यकार पारिजातका ‘पारिजात संकलित रचना’ ६ भागमा, भीमबहादुर पाँडेको ‘त्यसबखतको नेपाल’ ५ भागमा प्रकाशित गरिसकेको छ। साहित्यकार इन्द्रबहादुर राईका सम्पूर्ण रचनाको सेट पनि प्रकाशनको तयारीमा रहेको फिनिक्स बुक्सले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad