कला


मलाई नेपाली गीत गाउने रहर छ-गायक अमित पल

मलाई नेपाली गीत गाउने रहर छ-गायक अमित पल

नेपालखबर
चैत २५, २०७९ शनिबार २०:४५, काठमाडौँ

सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए। किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए।

त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो। नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल भए। त्यही शोको उपविजेता हुनुहुन्थ्यो अमित पल।

गायनमा अब्बल पलले गायक तामाङसँगै विश्वका विभिन्न देशमा कन्सर्ट गरे। ‘इन्डियन आइडल’ को अन्तिम तीनमा परेका सबैले एकसाथ कार्यक्रम गरेपछि सामीप्यता बढ्यो। गायक पललाई नेपाली चलचित्र ‘दीपशिखा’ बाट गायनको प्रस्ताव आएपछि गीत गाए। उनी नेपालमा काठमाडौँसँगै पोखरा, चितवनलगायतका स्थानमा आयोजित कार्यक्रममा सहभागिता जनाए। 

‘मैले बाल्यकालमा धेरै नेपाली गीत सुनेको छु। ‘कान्छी रे कान्छी रे’, ‘रातो रानी फूले झैँ साँझमा’ लगायतका गीत सुनेर खाना खान्थेँ। कन्सर्टमा घुमेपछि अझै नेपालीलाई बुझ्ने मौका पाएँ’, गायक पलले भने, ‘नेपाली गीत प्रस्ताव हुँदा गाएँ । साङ्गीतिक कार्यक्रम प्रस्ताव हुँदा नेपाल आएँ। नेपाल र नेपालीबाट पाएको मायालाई व्यक्त गर्ने शब्द मसँग छैन।’

गायक पल केही दिनअघिदेखि नेपालमा छन्। प्राय साङ्गीतिक कार्यक्रमको लागि नेपाल आउने गायक पल यसपटक गायन र नृत्यको एक ठूलो रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा सहभागी प्रतियोगीलाई हौसला दिन यहाँ आएका हुन्। 

उनीसँगै ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’ का प्रतियोगी गायक कर्मा शेर्पा पनि काठमाडौंमा छन्।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हाल काठमाडौँमा भइरहेको शोले विश्वभरका नेपालीलाई एउटै मालामा उन्न सफल भएको गायक पलले बताए। 

‘ठूलो धनराशि त छ नै साथै अवसर पनि छ। विजेताले विश्व भ्रमण गर्न पाउनुहुनेछ। पाश्र्व गायनको अवसर छ। यसले प्रतिभालाई अगाडि बढाउन मदत गर्छ’, गायक पलले भने, ‘हाम्रो समयमा यस्ता सुविधा थिएनन्। त्यसैले हामीले बुझ्दा बुझ्दै समय गयो। तर यो शो हेर्दा नेपाली गायनमा धेरै प्रतिभा उदाउने देखेको छु। यसका आयोजकहरु वास्तवमै धन्यवादका पात्र हुन्।’

‘मेरो भ्वाइस युनिभर्स’ को केही अडिसन र प्रतियोगीसँगको साक्षात्कारपछि उहाँले निर्णायकलाई छान्न मुस्किल हुने देख्छन्। ‘प्रतिभा निकै छन्। उनीहरूमा कसलाई राख्ने र निकाल्ने निर्णय लिन सहज छैन किनकी गायन उस्तै छ,’ उनले भने। 

आफू झैँ गायन वा नृत्यमा भविष्य देख्नेका लागि निर्माण भएको मञ्चकै कारण गायक पल हौसला प्रदान गर्न नेपाल आएका हुन्।

उनले गायन र नृत्यमा छानिने पचास÷पचासलाई मञ्चअनुसार तयार गर्न सुझावसमेत दिएका छन्। 

‘स्टेजमा गाउनेले नाच्न सक्नुपर्छ। नाच्नेले अभिनय गर्न सक्नुपर्छ। उहाँहरू गायक र नृत्य कलाकार मात्र नभई पर्फमर हुनुपर्छ’, गायक पलले भने।

गायक शेर्पाले यस्ता शोमार्फत अवसर पर्खिरहेकाले गन्तव्य पाउने बताए। 

छमैले निकै सङ्घर्ष गरेर सारेगमपा सिङ्गिङ सुपरस्टारसम्म पुगेको थिएँ। मैले पाइरहेको असफलतालाई खुड्किलो बनाएर सफलतासम्मको यात्रा तय गरेको हुँ। त्यसैले नेपाल आएर सहभागी प्रतियोगीलाई हौसला दिइरहेको छु’, गायक शेर्पाले भने, ‘निरन्तरता दिनेलाई यो मञ्चले पहिचान दिनेमा विश्वत छु। छिटै उहाँहरू सपनाको उडान भर्नु हुनेछ।’

नेपाल आएर काठमाडौँ घुमघामसँगै सङ्गीतकर्मीसँग भेटघाटसमेत बढेको छ गायक पलको। 

केही समय सङ्गीतभन्दा पनि व्यापारमा बढी सक्रिय गायक पलले नेपाली गीतको तयारी गरिरहेका छन्। उनी नेपालमै गीत तयार गर्ने तयारीमा समेत छन्। 

छमैले नेपाली भाषा पनि सिक्दैछु, बोल्दैछु। म यही गीत गाउने र भिडियो बनाउने तयारीमा छु। मैले सोचेजस्तो भयो भने नेपालीलाई छिटै उपहारस्वरूप नेपाली गीत दिनेछु’, गायक पलले भने, ‘मलाई अहिले पनि नेपाली गीत गाउने रहर छ। यहाँबाट प्राप्त मायालाई कदर गर्दै गाउने गीत एउटा मात्र नभई सङ्ग्रह नै हुनेछ। तर अहिले एउटाको मात्र तयारी छ।’

अझै केही दिन नेपालमै रहने गायक पल पशुपतिनाथ र बौद्ध पुगे।

नेपालमा उनलाई थकाली खाना एकदमै मन पर्छ। नेपाली खाना र संस्कृतिसँग अझै नजिक आउन गायक शेर्पाले मद्दत गरिरहेका छन्।

गायक पल र शेर्पा आशावादी भएको शो ‘मेरो भ्वाइस युनिभर्स’ को यतिखेर ‘साइटलेस’ अडिसन चलिरहेको छ। 

पचासबढी देशबाट छानिएका एकसय ४० मध्येबाट पचास प्रतियोगी छान्न हाल अडिसन काठमाडौँमा जारी छ। यसपछि ‘मेरो डान्स युनिभर्स’ मा सहभागी प्रतिस्पर्धीबाट पनि पचास सोही प्रक्रियामार्फत छानिने छन्। 

नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए। ‘मेरो भ्वाइस युनिभर्स’ को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन्। 

यसैगरी नृत्यतर्फ निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई छन्। 

त्यस्तै कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ हुन्।

नेपालमा आयोजना गरिएको यो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो। गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन्।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको जनाइएको छ।

सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad