उनलाई हरेक पटक चुनौती मोल्न मन लाग्छ। फिल्मको संख्यासँगै दर्शकले सम्झना गर्ने पात्रको संख्या पनि बढोस् भन्ने लाग्छ। त्यसैले अभिनेत्री शिल्पा मास्के हरेक फिल्मको अफरलाई लिएर सचेत हुन्छिन्।

शिल्पा नेपाली फिल्म उद्योगमा आएको चार वर्ष भयो। यी चार वर्षमा उनले ७ वटा फिल्ममा अभिनय गरिन्। उद्योगमा आएको छोटो समयमै शिल्पाले बेग्लै परिचय बनाएकी छिन्। तर, अहिले फिल्म ‘परस्त्री’ मार्फत शीर्ष कलाकारका रुपमा देखिने तयारीमा छिन् उनी।
असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को कथा आफ्नै काँधमा बोकेर हिँडेकी शिल्पा सुरुमा यो फिल्मको क्यारेक्टरलाई लिएर डराएकी थिइन्। फिल्ममा एक आरजेको भूमिकामा देखिएकी शिल्पालाई समाजको डर थियो।
भन्छिन्, ‘स्क्रिप्ट आउँदा केटीको क्यारेक्टर गर्न डर लागेको थियो। किनभने वास्तविक जीवनमा म अविवाहित हुँ तर विवाहित महिला जो विवाहेत्तर सम्बन्धमा छे, उसको रोल गर्नुपर्ने थियो। किनकि मलाई विवाहको संसारबारे केही थाहा छैन।’
शिल्पा ‘परस्त्री’मा वैवाहिक जीवनबाट दुःखी भएर परपुरुषको प्रेममा परेकी महिलाको भूमिकामा देखिनेछिन्। यो भूमिकालाई लिएर शिल्पालाई अर्को पनि डर थियो। त्यो डर हो, फिल्म प्रमोसनको समयमा गरिने प्रश्न, आउने समाचार। फिल्मको स्क्रिप्ट हातमा परेपछि अभिनयको निर्णय लिन शिल्पालाई १ साता समय लाग्यो।
उनलाई थाहा थियो फरक काम गर्दा चुनौती आउँछ। त्यही अनुसार शिल्पाले मनोवैज्ञानिक ग्राफ बनाइन्। त्यो ग्राफले हिजोआज काम गरेको छ। फिल्मको पोस्टरदेखि सुरु भएका प्रश्न, ट्रेलर, गीतसम्म आइपुग्दासम्म पनि रोकिएको छैन। विशेष गरेर शिल्पाले फिल्मका लागि दिएको ‘किस’ तथा ‘बेड सिन’लाई लिएर प्रश्न गरिन्छ।

त्यसो त शिल्पा अभिनयमा प्रयोग गर्न रुचाउने कलाकार हुन्। उनलाई ‘परस्त्री’बाट पनि एउटा फरक खालको अनुभव बटुल्नु थियो। यस्ता भूमिकाले करिअरमा पनि राम्रो गर्ने शिल्पाको विश्वास छ। भन्छिन्, ‘गर्ल नेक्स्ट डोर टाइपका रोलभन्दा प्रयोगात्मक भूमिका ग्रोथको लागि पनि जरुरी छ।’
नेपाली फिल्म उद्योगमा आउनुअगावै शिल्पाले हलिउड र बलिउडमा काम गरिसकेकी थिइन्। लन्डनमै हुर्के–बढेकी शिल्पाले करिअरको सुरुवात नै हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा अतिथि भूमिका निर्वाह गरेर भएको हो। त्यसपछि उनले केही फिल्ममा क्यामियो गरिन्। त्यसपछि उनलाई नेपाली फिल्म उद्योगमै करिअर बनाउने सोच आयो। उनले लण्डन छोड्ने निधो गरिन्।
सानैमा देश छोडेकी शिल्पालाई यहाँको संस्कृतिसँग विशेष मोह थियो। उच्च शिक्षाका लागि लण्डन पुगेकी शिल्पा २ घण्टा ट्रेनमा चढेर नेपाली फिल्म हेर्न पुग्थिन्। भन्छिन्, ‘देश छोडेपछि देशको हरेक कुराको माया लाग्छ।’

यसकारण पनि उनले नेपाली फिल्मको सपना देखिन्। हलिउड र बलिउड फिल्मको अनुभव संगालेर नेपाली फिल्ममा प्रवेश गरेकी शिल्पाले नेपालमा भने हेमराज बिसीले निर्देशन गरेको ‘दि ब्रेकअप’बाट करिअर सुरु गरेकी हुन्। त्यसपछि उनले ‘कागजपत्र’, ‘कठपुतली’ लगायतका फिल्ममा अभिनय गरेकी छिन्। उनै शिल्पा अभिनित नयाँ फिल्म ‘परस्त्री’ असार १५ बाट प्रदर्शनको तयारीमा छ।

प्रतिक्रिया