कला


अभिनयका लागि निसन्तान क्याथरिन : २७ वर्षसम्म अफेयर चल्यो, नोकरलाई दिइन् करोडौंको सम्पत्ति

अभिनयका लागि निसन्तान क्याथरिन : २७ वर्षसम्म अफेयर चल्यो, नोकरलाई दिइन् करोडौंको सम्पत्ति

नेपालखबर
असार १४, २०८० बिहिबार १३:४८, काठमाडौँ

आजभन्दा ठीक २० वर्षअघि, हलिउडकी सबैभन्दा बोल्ड र प्रतिभाशाली अभिनेत्री क्याथरिन हेपबर्नको ९७ वर्षको उमेरमा निधन भयो। क्याथरिन ४ ओस्कार जित्ने एक्ली अभिनेत्री हुन्। अभिनय संसारमा पूर्णतावादी मानिने क्याथरीनको व्यक्तिगत जीवन पनि कम रोचक थिएन।

एक शीर्ष अभिनेत्री भए पनि, उनले आफ्नो करियरमा थोरै मात्रै अन्तर्वार्ता दिएकी छन्। सबैभन्दा गोप्य जीवन बिताउन चाहने उनले व्यक्तिगत जीवनलाई बाहिरी दुनियाँबाट सधैं लुकाएर राखेकी थिइन्। ४ पटक ओस्कर जितेकी क्याथरिन भीडबाट बच्नको लागि कहिल्यै ओस्कर समारोहमा सहभागी भइनन्।

सह–अभिनेतासँगको उनको अफेयर २७ वर्षसम्म चल्यो। यो हलिउडको सबैभन्दा क्लासिक मामिलाहरूमध्ये एक मानिन्छ। अभिनयमा क्याथरिनको लगाव यस्तो थियो कि उनी आमा बनिन्। सन्तान जन्माउँदा उनीहरुलाई हुर्काउनका लागि सिनेमाबाट ब्रेक लिनु पर्थ्यो। त्यसैले उनले सन्तान नै जन्माइनन्। एनले आफ्नो अधिकांश सम्पत्ति नोकरहरुलाई दिएकी छन्।

क्याथरिन हेपबर्नको जन्म १२ मे १९०७ मा हार्टफोर्ड अमेरिकामा भएको थियो। उनका आमा बुवाका ६ सन्तान थिए। उनी माइली छोरी हुन्। उनका बुबा ठूला डाक्टर थिए, आमा मार्था नारीवादी अभियानकर्ता थिइन्। सानै उमेरदेखि, क्याथरिनले आफ्नी आमासँग अभियानको एक हिस्सा हुने मौका पाइन्। जसले उनको विचारमा गहिरो प्रभाव पारेको थियो। अभिभावकको प्रगतिशील दृष्टिकोणका कारण उनको परिवारले पनि निकै आलोचनाको सामना गर्नुपरेको थियो।

बाल्यकाल देखि नै क्याथरीन केटाहरु जस्तै हुन चाहान्थिन्। केटाको लुगा लगाइदिन्थिन्, कपाल काट्थिन्। उनका अभिभावकले पनि आफ्ना छोराछोरीलाई पौडी खेल्ने, दौडने, ड्राइभिङ गर्ने, सवारी चलाउने, कुस्ती खेल्ने, गल्फ, टेनिसको तालिम दिए। गल्फ च्याम्पियन हुनुका साथै क्याथरिन पौडी खेल्न पनि माहिर थिइन्। फुर्सदको समयमा उनी लामो खोलाको हिउँको पानीमा पौडी गर्थिन्। यी सबै शौकहरूमा प्रत्येक शनिबार थिएटरमा चलचित्र हेर्नु उनको अर्को रुचीको विषय थियो।

जेठो दाइलाई झुण्डिएको देखेर क्याथरिन छक्क
सन् १९२१ को कुरा हो, क्याथरिन १३ वर्षकी थिइन्। उनी आफ्ना १६ वर्षीय दाजु टमसँग न्यूयोर्कमा छुट्टी मनाउन गएकी थिइन। जब क्याथरिन आफ्नो दाइको कोठामा पुगिन्, त्यहाँ उनका दाइ टम झुण्डिएको अवस्थामा भेटिए।

झुण्डिएको अवस्थामा भेटिएको टमले आत्महत्या गरेको भनियो। उनको परिवारले खेलकुदमा आफ्नो प्रयोग भएकाले टमले मृत्यु रोजेको दाबी गरे। क्याथरीन आफ्नो दाइको मृत्युबाट नराम्ररी टुटिन्। उनी भीड र मानिसहरुसँग डराउन थालिन। स्कुल जान सकिनन्। त्यसपछि उनको परिवरले स्कुलबाट निकालेर घरमै शिक्षक राखिदिए।

दाजुको मृत्युको केही वर्षपछि क्याथरीनलाई उनकी आमाले समूहमा पढ्नका लागि थिएटर पठाइन्। उनी भिडसँग त्यो समय पनि निकै डराइन्। डरका कारण क्याथरिन चुरोट पिउन थालिन्। एक पटक उनलाई कोठामा चुरोट पिएको भन्दै निलम्बन पनि गरिएको थियो। स्कूलबाट भाग्नको लागि, क्याथरिनले नाटकमा भाग लिन थालिन।

अभिनय छाडेर गृहिणी
क्याथरिनले नाटकमा भाग लिन थालिन्। उनको अभिनयको तारिफ भैरहेको थियो। उनी आफ्नै क्लासमेटको प्रेममा परिन्। विवाहका लागि अभिनय छाडिन्। उनी आफ्नो वैवाहिक जीवनमा ध्यान केन्द्रित गर्न चाहन्थिन्, त्यसैले उनले हलिउडका धेरै फिल्मको प्रस्ताव अस्वीकार गरिन्। तर केहि समयपछि उनलाई करिअरको माया लाग्यो। अभिनयमा फर्किन्।

हलिउडमा आएपछि विवाह टुट्यो
केही नाटकहरू पछि क्याथरीनलाई एजेन्ट लेल्यान्ड हेवर्डले देखे। जसले उनलाई फिल्म ‘ए बिल अफ डिभोर्स’मा मौका दिए। त्यो फिल्मका लागि क्याथरिनले प्रति हप्ता १५ सय शुल्क मागिन्। नयाँ अभिनेत्रीको लागि यो रकम ठूलो थियो, तर स्टुडियो उनको प्रतिभाका अगाडि झुक्न बाध्य भयो।

सन् १९३२ मा २५ वर्षको उमेरमा नायिका बनिन्। नायिका बनेपछि उनको वैवाहिक जीवनमा नराम्रो प्रभाव पार्न थाल्यो। सन् १९३४ मा उनले सम्बन्धबिच्छेद गरिन्। त्यसपछि क्याथरीन शक्तिशाली हलिउड अभिनेत्री बनिन्। ४ ओस्कार जितेर विश्व कीर्तिमान बनाइन्।

सन् २००३ सम्म सबैभन्दा बढी मनोनयन प्राप्त गर्ने कीर्तिमान पनि उनको नाममा थियो। सन् २००३ मा अभिनेत्री मेरिल शीपले उनको यो कीर्तिमान तोडिन्। यति धेरै रेकर्ड बनाएकी क्याथरीनले कुनै पनि ओस्कर अवार्ड आफ्नै हातले लिइनन्। ६० वर्षको करियरमा क्याथरिनले ओस्कार अवार्ड समारोहमा एकपटक मात्रै भाग लिएकी छिन्, त्यो पनि अवार्ड प्रस्तोताको रूपमा।

क्याथरिनले सन् १९३४ मा मर्निङ ग्लोरी, १९६८ मा गेस हू कमिङ टु डिनर, १९६९ मा द लायन इन विटर र १९९१ मा अन गोल्डेन पोन्डका लागि ओस्कर जितेकी थिइन्। ६६ वर्ष लामो अभिनय करियरमा क्याथरिनले ४४ फीचर फिल्म, ८ टिभी चलचित्र र ३३ नाटकमा अभिनय गरिन्।

संसार परिवर्तन गर्ने ५० महिलाको सूचीमा
‘वुमन हु चेन्ज्ड द वल्र्ड’ नामक पुस्तकमा क्याथरिनको नाम विश्व परिवर्तनको श्रेय दिने ५० महिलामा पनि समावेश गरिएको छ। इन्साइक्लोपीडिया ब्रिटानिकाले संसार परिवर्तन गर्ने ३०० महिलामा क्याथरिनको नाम समावेश गरेको थियो। भेराइटी म्यागजिनले उनलाई १०० आईकन मध्ये भनेको छ।

एजेन्ट र होवडसँगको सम्बन्ध
क्याथरिनको एजेन्ट लेल्याण्ड हेवार्डसँग सम्बन्ध थियो, जसले उनलाई हलिउडमा डेब्यू गराएका थिए। जबकि दुवै विवाहित थिए। लेल्यान्डले उनलाई विवाहको प्रस्ताव पनि गरे, तर क्याथरिन उनको पहिलो विवाहबाट चिन्तित थिइन् र आफूलाई फेरि बाँध्न चाहँदैनथिन्। यति मात्रै होइन हलिउडका सबैभन्दा धनी निर्माता उनीसँग विवाह गर्न चाहान्थे।

सन् १९३६ मा क्याथरीनले हलिउडका सबैभन्दा धनी निर्माता होवर्ड ह्युजेससँग सम्बन्ध स्थापित गरिन्। हावर्ड पनि क्याथरिनसँग विवाह गर्न चाहन्थे, तर यस पटक पनि क्याथरिन आफ्नो असफल करियरमा ध्यान केन्द्रित गर्न चाहान्थिन्। दुवैले गोप्य रूपमा विवाह गरेको खबर पनि आएको थियो तर क्याथरिनले सबै खबरहरुको खण्डन गरेकी थिइन्।

क्याथरीन फिल्मको लागि आमा बनिनन्
क्याथरिनले फिल्मी करअर छोड्नु पर्ने भयले आमा नबन्ने निधो गरिन। उनलाई लाग्यो, आमा बनेको खण्डमा जीवनको सबैभन्दा ठूलो हिस्सा बच्चाहरूलाई दिनु पर्छ। उनी आफ्नो जीवनमा फिल्ममा मात्र ध्यान दिन चाहन्थिन्। एक अन्र्तवार्तामा क्याथरिनले भनेकी थिइन्, ‘म स्वार्थी मान्छे हुँ।’

क्याथरिन हेपबर्न एक अनुभवी अभिनेत्री थिइन्, तर बाल्यकालका दुर्घटनाहरूले उनलाई सधैं लाइमलाइटबाट टाढा राखे। सार्वजनिक व्यवहारमा कमजोर क्याथरिनलाई एक पटक प्रेसले आफ्ना छोराछोरी छन् कि भनेर सोधेपछि उनले रिसाउँदै भनिन्, मेरा ५ जना छोराछोरी छन्, २ गोरा र तीन काला।

यस विषयमा उनको निकै आलोचना भएको थियो। लोकप्रियता बढेपछि सबैले उनको अन्र्तवार्ता लिन चाहन्थे, तर क्याथरीनले हरेक पटक इन्कार गरिन्। भीडबाट टाढा रहन उनले कसैलाई अटोग्राफ दिइनन्। त्यसैले प्रेसले उनको व्यवहारमाथि प्रश्न उठायो र उनको नाम क्याथरिन एरोगान्ट राखेको थिया।

खराब छवि र मानिसहरूबाट टाढा हुनबाट बच्न उनले हलिउड छोडिन् र फेरि थिएटर गर्न थालिन्। त्यसपछि पनि प्रसिद्ध निर्माताहरूको अनुरोधमा क्याथरिनले निश्चित फिल्ममा काम गरिन्। तर उनको ध्यान सधैं थिएटरमा रह्यो।

को–स्टारसँग २७ वर्षसम्म अफेयर
सन् १९४१ म क्याथरीनको सम्बन्ध स्पेन्सर ट्रेसीसँग सुरु भयो। टे«सीले ९ वटा फिल्ममा क्याथरीको को–स्टार भएर काम गरेका थिए। दुवैले एकअर्कालाई असाध्यै मन पराउँथे।

क्याथरीनले आफ्नो जीवनीमा लेखेकी छिन्, ‘यो एक धेरै अनौठो अनुभूति थियो। म उसको लागि जे पनि गर्छु।’ त्यो बेला क्याथरीन ३४ वर्षकी थिइन् र स्पेन्सर ४१ वर्षका थिए र विवाहित थिए। स्पेन्सर विवाहित भएको तथ्यले पनि क्याथरिनमा कुनै प्रभाव पारेन।

क्याथरिनलाई लेस्बियनको आरोप
क्याथरीन सधैं केटाहरू जस्तै देखिन चाहान्थिन्। त्यसैले धेरै मानिसहरूले उनलाई समलैंगिक भएको आरोप लगाए। धेरै पटक उनलाई समलैंगिक भनिन्थ्यो र क्याथरीन आफैंले यसको बारेमा मजाक गर्थिन्। जब स्पेन्सरले उनलाई पहिलो पटक भेटे, उनले यो पनि सोचे कि उनी एक समलैंगिक हुन्। तर, साथी बनेपछि उनको त्यो भ्रम हटेको थियो।

अफेयरलाई गोप्य राख्नका लागि दुवै छुट्टाछुट्टै घरमा बस्थे। यी दुवै कहिल्यै पनि सार्वजनिक कार्यक्रमहरुमा सँगै निस्किएनन्। स्पेन्सर असाध्यै रक्सी खान्थे।  क्याथरीनले उनको बच्चा जस्तै हेरचाह गरिन्। चलचित्रबाट विश्राम लिएर क्याथरिनले आफ्नो सम्पूर्ण जीवन स्पेन्सरको जीवन सुधार्न र उनको हेरचाह गर्न समर्पित गरिन्।

जब स्पेन्सरको स्वास्थ्य रक्सी, चुरोट र भारी ड्रग्सका कारण बिग्रन थाल्यो, क्याथरिनले आफ्नो घर छोडेर उनको हेरचाह गर्न उनकै घर गइन्। सन् १९६७ जुन १० मा स्पेन्सरको मृत्यु भयो। स्पेन्सरको मृत्युको समय साथमा रहेकी क्याथरिन उनको अन्त्यष्टीमा भने सहभागी भइनन्। उनका श्रीमती र छोराछोरीको कारण क्याथरिन उनको अन्त्येष्टिमा उपस्थित हुन सकिनन्।

स्पेन्सरको मृत्यु पछि क्याथरिन पूर्णतया परिवर्तन भइन्। कुनै दिन तस्विर खिच्ने क्यामेराम्यानको क्यामेरा तोड्ने क्याथरिनले सन् १९७३ मा ‘द डिक क्याभेट शो’मा दुई घण्टाको अन्तर्वार्ता दिइन्। त्यसपछि उनले धेरै अन्र्तवार्ता दिएकी छिन्। उनले आफ्ना प्रायः अन्र्तवार्तामा स्पेन्सरको नाम लिएकी छिन्।

यसबाहेक, उनले गर्भनिरोधकलाई बढावा दिँदै गर्भपतनलाई वैधानिक बनाउन धेरै अभियान गरिन। क्याथरिनले आफूलाई नास्तिक भन्थिन। उनी भन्थिन्, ‘विश्वास गर्नुहोस् यहाँ कुनै भगवान छैन, तर मानिसहरु एक अर्काप्रति दयालु हुनुपर्छ।’

सन् १९९३ मा उनको स्वास्थ्यमा समस्या देखियो। पहिलो पटक उनलाई अस्पताल भर्ना गरियो। सन् १९९६ मा निमोनियाका कारण फेरि भर्ना भइन्।  सन् १९९७ मा उमेर बढ्दै जाँदा उनी निकै कमजोर भइन्। उनले खान र पिउन झण्डै छाडिसकेकी थिइन। सन् २००१ मा उनलाई फेरि निमोनिया भयो र त्यही बेला पिसाब नलीमा संक्रमणका कारण उनको अवस्था नाजुक बन्यो।


उनी यस पटक पनि बाँचिन्। तर सन् २००३ मा घाँटीमा ट्युमर भएको पत्ता लाग्दा उनले उपचार गर्न अस्वीकार गरिन्। उनको निर्णयलाई चिकित्सकहरुले पनि समर्थन गरेका छन्। उनको २९ जुन २००३ मा हृदयघातका कारण मृत्यु भयो।

मृत्युपछि क्याथरिनको १६ करोड पाउण्ड सम्पति थियो। उनी निःसन्तान थिइन्, यसैले उनको सबै सम्पत्ति उनका नोकर र साथीलाई बाँडियो। उनको सम्पत्तिको ठूलो हिस्सा दान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad