कला


बीपी कोइरालाको कविता ‘छोरी र छाया’

बीपी कोइरालाको कविता ‘छोरी र छाया’

नेपालखबर
असार ३०, २०८० शनिबार ६:३९, काठमाडौँ

विश्वेश्वरप्रसाद कोइरालाले जीवन राजनीति र साहित्यको रङमा घुलेको छ। नेपालका प्रथम जननिर्वाचित (२२औँ) प्रधानमन्त्री कोइरालाले जीवनकालमा ६ उपन्याससहित १२ कृति लेखे।

कथा र उपन्यासमार्फत् साहित्य जगतमा चिनिएका उनको 'आत्मवृतान्त' आत्मकथा क्षेत्रमा आज पनि छुट्टै विशेष मानिन्छ। कारण, अहिले जसले पनि खेताला लगाएर आफ्नो बढ्याइँको कथा लेख्ने भएकाले आत्मकथा यतिबेला बदनाम छ। तर उनको यो संग्रहलाई आज पनि साहित्यप्रेमीले उत्तिकै माया गर्छन्।

तर बीपी कवि पनि थिए भन्ने चाहिँ कमैलाई थाहा छ। तर उनले आफ्ना अन्तर्वार्तामा आफूले कविता पनि लेख्ने गरेको बताएका छन्। २०५९ मा उनका फुटकर कविता संकलन गरेर साझा प्रकाशनले 'विश्वेश्वरप्रसाद कोइरालाका कविता' पुस्तक प्रकाशित गरेको छ।

सोही पुस्तकबाट एक कविता :

छोरी र छाया

दिन थियो मध्य माघको याम 
घाम न्यानो आलिङ्गनसरि 
छाप्छाप्ती भुवनभरि बिदाको दिन
 

म थिएँ बेकाम 
आविष्काररत जो छ प्रतिपल 
पार्छ जिज्ञासाले धेरै हलचल 

‘त्यो राती जसको ध्वाँसे छ नि ...........’
मैले भनें, ‘हो छाया त्यो 
तरूको, बुझिस् लाटी छोरी!’
छोरी हेर्छ तरूछाया घोरिई–घोरिई 
परेको थियो छाया कपूरतरूको 
‘छाया भनेको के?’ सोध्छे ‘बाबा’ 

अन्योल तीन वर्षे मुखमा देखेँ
के भनूँ भनी धेरै बेर सोचें
भनें, ‘नभएको कुरा देखेको हो फुस्सा हो हावा’
छोरी पिट्छे थपडी हाँसेर 
नाच्छे कुदै भन्दै ‘बुझेँ, 
नभएको करा देखेको फुस्सा
हो सपना बाबा बुझेँ’
‘रूखको सपना तँ!’ छायालाई भन्छे झुकेर 

औधी बलबले छोरी मेरी 
सोध्छे काखमा कुद्दै आएर 
राति के सपना हो हेरेको दिनले सुतेर?
रातिले हेरेको सपना नि?

सोध्छे फेरि 
‘के त्यो उज्यालो हो दिनको?’
प्रश्नको झरी छोरी लगाउँछे
उत्तरहीन बाबालाई घचघच्याउँछे

के उत्तर दिऊँ? 
छोरी प्रश्न छिनछिनको 
छोरी पुग्छे छायासमीप दुगुरेर 
हेर्छ क्षणभर ‘म घचघच्याउँछु छायालाई’
भन्दै ‘सपना खलबल्याउँछु’ 
विस्तारै छुन्छ छायालाई 
शंका, द्विविधा मानेर 
पस्छे स्वयं छायाभित्र सोझै फेरि 
पदमर्दन गर्दै साना–साना कुर्कुच्चाले 
छायालाई खजबजाउने इरादाले 
नाच्छे ठोक्दै पैताला छोरी मेरी 

थाक्छ सायद, भन्छे, ‘बाबा हेर!
सपनामाथि चढ्दा बुई 
चढ्छ साँच्चै ममाथि नै उई 
टुट्दैन सपना रूखको 
नाचेँ म त्यसमाथि कति बेर’

म वाल्ल पर्छु छोरीका कुराले, मुखलाई 
विस्मित भै हेर्छ छोरीलाई
भन्दै जान्छे मलाई घचघच्याई–
‘सपनालाई नकुल्च बाबा, नत्र पनि 
लत्याउँछ तिमीलाई।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad