कला


छायांकनमा नजाँदै रेखा थापाको ‘उपहार’मा विवाद, कथाकार र निर्देशकबीच भनाभन

छायांकनमा नजाँदै रेखा थापाको ‘उपहार’मा विवाद, कथाकार र निर्देशकबीच भनाभन

नेपालखबर
साउन २३, २०८० मंगलबार १३:३४, काठमाडौँ

अभिनेत्री रेखा थापाले बनाउन लागेको फिल्म ‘उपहार’ छायांकनमा जानुअगावै विवादमा परेको छ। सबै कलाकार फाइनल गरेर छायांकन गर्ने तयारीमा रहेको फिल्म कथाकारले पारिश्रमिक नपाएको भनेपछि विवादमा परेको हो।

फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन्। उनले सामाजिक सञ्जालमा उपहार टिमको फोटो राख्दै लेखेका छन्, ‘रेखाजी र देउजाजी दुवैप्रति गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु। मेरो वान लाइन वान कथामाथि मेरो अनुमति र पारिश्रमिकबिना नै काम गर्न खोज्नु कतिसम्म न्यायोचित होला? मेरो प्रश्न।’

उक्त स्टाटसमा फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले लाइक गरेका छन्। त्यसपछि कमेन्टमा भनाभन चलेको छ।

ज्ञानेन्द्रको लाइकपछि सुलक्षणले लेखेका छन्, ‘प्रश्नको जवाफ मागेको हो ज्ञानेन्द्र जी! थम्स अप होइन।’

यसको प्रतिउत्तरमा ज्ञानेन्द्रले लेखेका छन्, ‘यसको जवाफ कोसँग कुरा भएको हो? ऊसँग माग्ने गर– अनि पैसो लिएर कन्सेप्ट पनि डेभलप नगरी हिँड्ने तिमी हैन र भाई? तिम्रो कारणले वैशाखमा बन्ने फिल्म आजसम्म बन्न नसकेको हैन र? आजसम्म तिमी प्रोड्युसरसँग सम्पर्कमा नआउने पनि तिमी हैन र? तिमीले पैसो लगेर चैत्रमा स्क्रिप्ट बुझाउँछु भनेर आजसम्म किन प्रोड्युसरसँग सम्पर्क गरेनौ?’

ज्ञानेन्द्रलाई पुनः जवाफ दिँदै सुलक्षण लेख्छन्, ‘तपाईंहरुबाट यो कुरा आउँछ भनेर मलाई पक्का नै थियो, न त म सम्पर्कबाट बाहिर छु न त तपाईंहरु नै, मैले पूरै कथा लेखेर र त्यसमाथि पुन: गरेको काम र लेखेको पूर्ण कथा तपाईंहरुलाई पठाएको इमेल मसँग पनि छ र तपाईंहरुसँग पनि छ। अब सम्पर्कमा को र किन आएन त्यो बहस को विषय होइन।’

उनले अगाडि लेखेका छन्, ‘तपाईंहरुसँग अग्रिम भुक्तानीको रुपमा ७५००० लिएको छु। तर यहाँ कुरा पैसाको होइन, मेरो कन्सेप्ट को हो यदि पैसा फिर्ता चाहनुहुन्छ भने म फिर्ता गर्न तयार छु तर मेरो कथा र कन्सेप्टमाथि म खेलबाड गरेको कसरी सहन सक्छु होला र?  कि त मेरो कथा र कन्सेप्टमा काम नगर्नुस्। गर्नुहुन्छ भने मेरो अधिकार मलाई दिएर मात्र गर्नुस्। कथामा वान लाइन महत्त्वपूर्ण हुन्छ न कि स्क्रिप्ट। स्क्रिप्ट त वान लाइनको आधारमा बनाउने हो। मेरो वान लाइन भनेको मेरो कन्सेप्ट हो। त्यसलाई त्यति सजिलै कसरी तपाईंको बनाउन सकिन्छ र? आउनुस् ज्ञानेन्द्रजी! बौद्धिक सम्पत्तिको संरक्षणको बारेमा बहस गरौं।’

जवाफमा ज्ञानेन्द्रले सम्बन्धित ठाउँमा सम्पर्क गर्न भनेका छन्। सुलक्षणले बहसका लागि आफू तयार रहेको बताएका छन्। निर्माण टिमले फिल्मको लेखकमा अभिमन्यू निरवीको नाम राखेपछि सुलक्षण रिसाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad