तपाईंले सन २०१८ को चर्चित एडभेन्चर सिनेमा ‘दि मैग’ हेर्नुभएको छ भने सार्कले समुद्रमा निस्किएका मान्छेहरूमाथि गरेको डरलाग्दो आक्रमणले सिनेमाहलमा बसेका दर्शकलाई कुर्सी समाएर बस्न बाध्य बनाउँछ।
हो, त्यही सिनेमाको सिक्वेल ‘मैग–२ : दि ट्रेन्च’ ले अहिले विश्वभरका दर्शकहरुलाई कल्पनाको त्यस्तो सामुद्रिक दुनियाँमा सयर गराइरहेको छ, जहाँ थ्रिल सिवाय केही तत्वले ‘ड्राइभ’ गराउँदैन।
मैग हेर्न जानुअघि मैग्सबारे केही कुरा बुझे राम्रो हुन्छ। नेचुरल हिस्टोरी म्यूजियमको जर्नलमा प्रकाशित आलेख अनुसार, ३.६ मिलियन वर्ष अघि समुद्रमा राज गरेको मैग्स अर्थात मेगालोडन नामधारी यो सार्क १५–१८ मीटर लम्बाईको थियो।
यो भनेको अहिलेसम्म सबैभन्दा लामो भनिएको ‘ग्रेट ब्हाइट सार्क’ भन्दा तीन गुणा बढी लम्बाई हो। यसको दाँत पनि १८ सेन्टिमिटर लामो थियो।
अब जाउँ सिनेमाहलतिर–
तपाईंले ‘थ्री डी’ चश्मा लगाउनासाथ सुरुमै पर्दामा लाखौं वर्ष अगाडिका प्राणीहरूले आफ्नो आहारामाथि आक्रमण गरिरहेको देखाइन्छ।
दृश्यमा ‘सर्बाइल अफ दि फिटेस्ट थ्यौरी’ बमोजिम बलियाले आफूभन्दा कमजोर प्राणिको सिकार गरिरहेका छन्। पर्दामा डायनोसरको सबैभन्दा बलियो प्रजाति मानिएको टिरेक्स आउँछ र आफ्नो आहारामाथि आक्रमण सुरु गर्छ।
टिरेक्सको आक्रमण छल्न ती भागेर समुद्रभित्र लुक्छन। त्यतिनै बेला समुद्रभित्रबाट निस्किएको मेगालोडन सार्क अर्थात् मैगले टिरेक्सलाई नै निलिदिन्छ। यसरी त्यो युगमा सामुद्रिक संसारमा शासन गरेको मैग्सको शक्ति कत्रो थियो भनी दर्शकको दिमागभित्र छिराइन्छ।

त्यसपछि देखाइन्छ अहिलेको पृथ्वीलोकको समय, जहाँ बुद्धिमानी मान्छेको रजगज चलिरहेको छ। कथा अगाडि बढ्छ। चीनको हायना प्रोभिन्समा रहेको ओसन इन्स्टिच्यूटका वैज्ञानिकले यस्तो पोशाक बनाएका हुन्छन जुन ड्रेस लगाएपछि मान्छेको शक्तिमा २० प्रतिशतले बढोत्तरी हुन्छ।
यसका डाइरेक्टर जिङ ऊले सामुद्रिक सतहमा गई अध्ययन गर्ने खतरनाक मिसनका निम्ति नायक ज्यासन सहितको एउटा विज्ञ टोली बनाएका हुन्छन्, जसको नियन्त्रण कक्ष पनि समुद्रमै बनाइएको हुन्छ।
टोली अध्ययनका निम्ति विशेष यन्त्रसहित सामुद्रिक सतहको गहिराईमा निस्कन्छन्। अध्ययनमा हजारौं फिट तल पुगेका इन्स्टिच्यूटका निर्देशक जिङ ऊ र उनको टिमलाई आफ्नै टिमका हिलारीले ढोका दिन्छिन्। उनले नियन्त्रण कक्ष सम्हालेकी चेस र उनकी प्रेमी मार्टिसलाई पनि प्रलोभनमा पार्छिन्।

हिलारीलाई जिङ ऊ को इन्स्टिच्यूटमा निर्मित त्यो प्रविधि चाहिएको छ जसको सहायताले उनी सामुद्रिक सतहमा पुगि त्यहाँ रहेको अमूल्य धातुमा नियन्त्रण पाउन चाहन्छिन्।
एकातर्फ मैग्स जस्ता सामुद्रिक जीवहरूसँग संघर्ष गर्दै अगाडि बढ्नुपर्ने चुनौती अर्काेतर्फ आफ्नै टिमका साथीहरूको गद्दारी। त्यसपछि सुरु हुन्छ घात–प्रतिघात सहितको सामुद्रिक लोकको रोमाञ्चक यात्रा जसले सिनेमा हल नै स्तब्ध बनाउनेगरि बाँधेर राख्दछ।
निर्देशक वेन बेट्लेले कथाकार जोन होयबर, एरिक होयबर र डिन जर्जिसको लेखनलाई यति चुस्तताका साथ अगाडि बढाउँछन् कि दर्शकले अप्रत्याशित दृश्यले नतर्साउँदासम्म दृश्यलाई ‘आँखा झिमिक्क नगरि’ हेरिरहन्छन्।
कल्पनाको यस्तो लोक जहाँ रोमाञ्चकता सिवाय केही छैन। सिनेमामा पानीमुनी यी तीन पक्षबीच चल्ने द्धन्द्धलाई आकर्षक ढंगले फिल्मांकन गरेको छ। क्लाईमेक्समा सतहमुनि रहेका मैग्सहरूले ‘दि मैग’मा झैं सतह बाहिर आइ मान्छेहरूलाई आक्रमण गर्न थालेपछि नायक ज्यासनले हिरोगिरी देखाई तिनको वध गरि मानवजातिको रक्षा गर्छन्।

हलिउडी पुरुषार्थ शैलीमा वाचन गरिएको यो सिनेमाको कथा यति नै हो। तर यसमा केही नवीन प्रवृत्ति पनि छन्। मैग–२ विश्वको दोस्रो शक्तिकेन्द्रको रुपमा उदियमान चिनियाँ दर्शकलाई ध्यानमा राखेर बनाइएकोले होला सुरुमा निकै लामो समयसम्म मेन्डारिन भाषामा संवाद वाचन गरेको देखाइन्छ।
एक्सन नायकका रुपमा ज्यासनलाई राखिएपनि कथाका नायकका रुपमा चिनियाँ हिरो जिङ ऊलाई राखिनुले हलिउडले पनि आफ्नो बजार पहिल्याउन खोजेको देखिन्छ।
केही वर्षअघिसम्म एशियन अनुहारलाई ‘साइड पात्र’को रुपमा मात्र राख्ने हलिउड फिल्म इन्डस्ट्रिजभित्र बजारका कारण आएको यत्रो परिवर्तनले खास सन्देश दिन्छ।
नेपालखबर मल्टिमिडिया टिमले यो एडभेन्चर सिनेमा सिभिलमलस्थित क्यूएफक्स सिनेमा हलमा हेर्यौं। यदि तपाईंले अझैसम्म यो सिनेमा हेर्नु भएको छैन भने भोलि शनिबार आफ्ना बालबच्चासहित हेरिहाल्नोस्। हामीलाई विश्वास छ तपाईंसँग बच्चा पनि अवश्य खुसीले गदगद हुनेछन्।
सिनेमाको ट्रेलरः
Shares

प्रतिक्रिया