सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ को व्यापार लगातार घटिरहेको छ। पहिलो साता आक्रामक कमाई गरेपनि दुई दिनयता फिल्मको व्यापार घट्दो छ।
लक्ष्मीपूजाका दिन रिलिज भएको यस फिल्मले पहिलो दिन साढे ४४ करोड भारुको ओपनिङ गरेको थियो। त्यसैगरी सोमबार फिल्मले ५८ करोड तथा मंगलबार ४४ करोड भारु कमाएको थियो।
बुधबार भैयादुत भएकाले फिल्मको कमाई आधाले घटेको देखिन्छ। उक्तदिन फिल्मले २२ करोड भारुको व्यापार गरेको थियो।
त्यसैगरी, बिहिबार पनि फिल्मले १८ करोड ५० लाख भारुको मात्रै कमाएको छ। भारतमा चलिरहेको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटकारण फिल्मको कमाई घटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
पाँचदिनमा फिल्मले घरेलु बक्सअफिसमा १८० करोड भारु कमाउँदा विश्वभर २ करोड ७० लाख भारुको व्यापार गरिसकेको छ। मनीष शर्मा निर्देशित यस फिल्ममा आदित्य चोपडाको लगानी छ। स्पाई थ्रिलर यस फिल्मको कथा आदित्यले नै लेखेका हुन्।
‘टाइगर ३’ मा सलमानसहित कट्रिना कैफ, इमरान हासमी, ऋतिक रोशन, शाहरुख खानलगायतले अभिनय गरेका छन्। यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा समेत रिलिज भएका छन्।
यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा छन्।
Shares

प्रतिक्रिया