जेठ १० गतेबाट प्रदर्शन हुने फिल्म ‘पुजार सार्की’ अभिनेत्री परीक्षा लिम्बु मुख्य भूमिकामा छिन्। ‘जारी’ र ‘छक्का पञ्जा’ मा सहायक भूमिकामा देखिएकी उनी पहिलोपटक प्रमुख पात्रमा देखिदैँछिन्।
यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहसहित अञ्जना बराइली मुख्य भूमिका छन्। यो चलचित्रमा अभिनय गरेसँगै परीक्षा फिल्ममेकरको नजरमा परेकी छन्। ट्रेलर र गीतमा देखिएको उनको कामको प्रशंसा भइरहेको छ।
परीक्षाले अडिसन मार्फत यस फिल्ममा भित्रिएकी हुन्। ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनुभएको रहेछ। मलाई चिन्नु हुनेले चलचित्रको अडिसन खुलेकोले प्रयास गर्न भन्नुभयो। त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ। म फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’, उनले भनिन्।
छनोट भएपछि कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवज सिक्दै ‘पुजार सार्की’ मा फाइनल भइन्। परीक्षा पूर्वकी भएकाले पश्चिमको भाषा सिक्न चुनौती भएको उनको भनाइ छ।
परीक्षा यस फिल्ममा ‘मैतबहादुर’ अर्थात अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’ को भूमिकामा छिन्। ‘पुजार सार्की’ मा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ।
प्रदीपसँगको सहकार्य निकै राम्रो लागेको सुनाउँछिन् उनी। ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ। उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ। व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन्।
अभिनयको अनुभवलाई परीक्षा ‘भोक’सँग तुलना गर्छिन्। ‘भोक लागेको बेला जे खाए पनि मिठो हुन्छ। मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो। तर ‘पुजार सार्की’को हकमा भने भोक लागेको बेला मिठो खाने कुरा खान पाए जस्तै भयो।’
राम्रो चलचित्र बन्न कलाकार र निर्देशकको ट्युनिङ मिल्नुपर्ने परीक्षाको बुझाइ छ। दिनेश राउत राम्रो निर्देशक भएकाले काम गर्न सहज भएको सुनाउँछिन् उनी।
परीक्षालाई ‘पुजार सार्की’ बाट ठुलो आश छ। उनको बुझाइमा उनको उमेरका धेरै दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ।
‘अहिलेका मानिसलाई जातीय विभेद गर्नु भनेर सम्झाउँदा अलिक समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ। चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ। कुनै बेलाको सती प्रथा हट्यो। त्यस कारण अब जातीय विभेद पनि हट्नुपर्छ भन्ने हाम्रो भनाई हो’, उनी भन्छिन्।
विकास सुबेदीको लेखन रहेको यो फिल्म नेपाल र विदेशमा एकसाथ रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया