कला


विजयलाई लिएर ‘बेहुली फ्रम मेघौली’ निर्देशकले फिल्म ‘जिरो डिग्री’ बनाउने

विजयलाई लिएर ‘बेहुली फ्रम मेघौली’ निर्देशकले फिल्म ‘जिरो डिग्री’ बनाउने

नेपालखबर
भदौ ९, २०८२ सोमबार १२:४७, काठमाडौँ

गतवर्ष रिलिज भएको ‘बेहुली फ्रम मेघौली’ का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म बनाउने भएका छन्। उनीहरूले  फिल्म ‘जिरो डिग्री’ बनाउन लागेका हुन्।

सोमबार पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको हो। फिल्मको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्।

‘जिरो डिग्री’ को कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ।

यो फिल्म एउटा फ्रिज गाउँसम्म पुर्‍याउने प्रसङ्ग मात्र नभएर 'लाइट कमेडी' कथा पनि रहेको निर्देशकले बताए। यस फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा मध्य भागमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसहरूले बोकेर खोला तारिरहेका छन्। सामान्यतया चलचित्रको पोस्टरमा कलाकारको अनुहार वा ठुलो दृश्य रहने परम्परालाई तोड्दै कथाको महत्त्वपूर्ण वस्तुलाई यहाँ केन्द्रमा राखिएको छ।

चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’ को छायांकन तिहारपछि सुरु हुनेछ र आगामी वर्ष प्रदर्शन गर्ने योजना छ। यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ। चलचित्रका गीतहरूमा अंकितबाबु अधिकारीले संगीत दिनेछन् भने चलचित्र 'ऊनको स्वीटर'को चर्चित गीत 'काफ्ले'का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad