पत्रकारसमेत रहेका श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको छ। ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।
संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको सुमधुर स्वरले गीतको प्राण भरेको छ।
गीतको एरेञ्ज सन्तोष प्रगाढ राईले गरेका छन् भने इडिट वीरेन्द्र भाट विपिन र मिक्सिङ गोविन्द सोनीले गरेका छन्। गीतले एकतर्फी प्रेम पीडादायी र चोखो प्रेम आत्मीय हुने कुरा प्रस्तुत गरेको छ।
२०७५ सालमा शिला खनालले राईको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको गीत गाएकी थिइन्।
त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ मा नवराज पराजुलीले उनको ‘सञ्चो छौ कि बिसञ्चो’ बोलको गीत गाएका थिए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका राई साहित्य लेखन र पत्रकारितामा सक्रिय छन्। हाल उनी नागरिक दैनिकमा कार्यरत छन्।
साहित्यका विविध विधामा उत्तिकै कलम चलाउने उनका ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) दुई बालकथा संग्रह प्रकाशित छन्।
लघुकथा विधाको उन्नयनमा सक्रिय राई ‘लघुकथा सौन्दर्य’ का संस्थापक हुन्।
‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’(२०७९) उनका सामूहिक लघुकथा संग्रह हुन्।
हालै उनको संयोजन तथा विमल भौकाजीको सम्पादनमा ‘बलेँसी’ सामूहिक लघुकथा संग्रह बजारमा आएको छ।
रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्षसमेत हुन्।
Shares

प्रतिक्रिया