कला


बुवालाई कलेजो दिइन्, सिनेमालाई रङ : कस्ट्युम डिजाइनर जानकीको कथा

बुवालाई कलेजो दिइन्, सिनेमालाई रङ : कस्ट्युम डिजाइनर जानकीको कथा

लक्ष्मी बलायर
असार ५, २०८३ शुक्रबार ९:२०, काठमाडौँ

प्रदर्शनरत फिल्म ‘लालीबजार’मा स्वस्तिमा खड्का मधुबालाको भूमिकामा छिन्। फिल्मभित्र जब ‍मधुबाला पात्रको जीवनमा उतारचढाव आउँछ, तब उनको पहिरन पनि परिवर्तन हुँदै जान्छ।

यौन पेसा गर्दा मधुबाला ब्लाउज र धोती लगाउँछिन्। प्रेमीलाई भेट्न जाँदा उनी कुर्तासुरुवाल लगाएर जान्छिन्।

आमा बनिसकेपछि भने उनी पूर्णतया बदलिन्छिन्। काँधमा छोरीको जिम्मेवारी हुन्छ। त्यसैले उनी साधारण म्याक्सी र ब्लाउज लगाएर गिट्टी कुट्न जान्छिन्।

पात्रको फरकफरक अवस्थालाई प्रस्ट्याउन मधुबालाको पहिरनलाई तीन भागमा छुट्याइएको छ। जसले मधुवालाको फरक मनोदशालाई पनि झल्काउँछ। पोसाकको माध्यमबाट मधुबालाको पात्रलाई जीवन्त तुल्याउने व्यक्ति हुन्: कस्ट्युम डिजाइनर जानकी कडायत।

वादी समुदायको पृष्ठभूमिमा रहेको ‘लालीबजार’मा आमाछोरीको कथा भनिएको छ। आफ्नै जन्मथलो सुदूरपश्चिमको वादी समुदायको कथा भएकाले सुरुमा जानकी निकै उत्साहित भइन्। तर, उक्त समुदायको कस्ट्युम रिसर्च गर्नु उनका लागि ठूलो चुनौती थियो।

‘हामीसँग कुनै फोटो वा भिडिओको दस्ताबेज थिएन। पछि दिदीहरूको पुराना फोटो फेला पार्दा त उहाँहरु पुरै बलिउड स्टाइलमा ८०/९० को दशकको स्कर्ट, जिन्स र कुर्ता लगाउनु हुँदो रहेछ। इन्डिया नजिक भएकाले फेसन त्यतैबाट आउँथ्यो। त्यस्तै फेसन देखायो भने फेरि दर्शकले गंगुबाई भन्लान् भन्ने डर थियो,’ उनले भनिन्।

फिल्ममा स्वस्तिमाको कस्ट्युम कस्तो हुने भन्नेमा निकै बहस भएको थियो।

उनले भनिन्, ‘थोरै रिभिलिङ राख्ने कि भन्ने कुरा भएर हामीले ओपन गरेका थियौँ। अहिलेसम्म अट्रयाक्टिभ भनेको छोटो/टाइट लुगा लगाउनु अनि चेस्ट क्लिभेज देखाउने भन्ने स्कुलिङ छ। तर, एउटा कुर्तामा सिम्पल तरिकाले नै बोल्ड देखाउन सकिन्छ।’

फिल्ममा जानकीले कस्ट्युम डिजाइनर मात्रै नभई अभिनय समेत गरेकी छिन्। उनी स्वस्तिमा खड्काको साथीको भूमिकामा देखिएकी छिन्। अडिसन दिँदा सुरुमा उनलाई मेकर्सले अलि कम उमेरको देखिन्छ कि भनेका थिए। तर, उनले पहिरन र लुक्स परिवर्तन गरेर आफ्नो भूमिका पक्का गरिन्।  

‘लालीबजार’ सहित पछिल्लो समय त्रिवेणी राई निर्देशित ‘सेप अप मम’ पनि चर्चामा छ। यसमा पनि जानकीले कस्ट्युम डिजाइनर र कलाकारको रुपमा काम गरेकी छिन्। जसबाट जानकीले राम्रो तारिफ बटुलिरहेकी छिन्।

निर्देशकसहित सबै महिला टिम र फिल्मको स्क्रिप्टले आफूलाई तानेको उनले बताइन्। स्क्रिप्ट पढ्दा आफ्नै कथा कसैले भनिरहेको जस्तो महसुस भएको उनको भनाइ छ।

सिक्किममा कस्ट्युम रिसर्च गर्दा उनले रङको मनोविज्ञानमा काम गरिन्। पात्रको मुड र ब्याकग्राउन्डको भित्ताको रङअनुसार कस्ट्युम तय हुन्थ्यो।

‘कुनै पनि क्यारेक्टरको मुड कस्तो छ, त्यसैका आधारमा उसलाई हामी कस्तो रङ दिने  भनेर प्राक्टिस गर्छौँ कस्ट्युममा। जस्तै गौमायाको विष्णु क्यारेक्टरलाई रातोबाट सुरु गरेर बिचमा पहेँलो र फेरि हरियो कपडा दिइएको छ,’ उनले भनिन्, ‘सुरुमा उनी रिसाहा भएको हुनाले रातो राखिएको हो। प्रकृतिसँग एकाकार हुन थालेपछि पहेँलो अनि हरियो दिएका छौँ। हजुरआमालाई हामीले बिचबिचमा पर्पल कलर दिएका छौँ। अर्थात कसैको मृत्यु हुँदैछ भन्ने संकेत गरिएको हो।’

संसारका २१/२२ देशमा पुगिसकेको यस फिल्मको हालै किम्फमा नेपाल प्रिमियर गरिएको थियो। फिल्म देखेर दर्शकहरू रोएका थिए।

उक्त भावुक क्षण सम्झिँदै जानकी भन्छिन्, ‘किम्फमा फिल्म हेरेपछि कति धेरै जनाले आएर अंकमाल गर्नुभयो। अनि एक जना जापानीलाई भेटेँ, उहाँले अँगालो हाल्दै भन्नुभयो- यो सिक्किमको र नेपालको मात्र कहानी होइन। जापानमा पनि मलाई यस्तै भएको थियो। यति गाह्रो भएको थियो, म अब कहिले पनि जापान फर्किन्नँ भन्नुभयो। उहाँ हात समातेर रुनु नै भयो। अनि म पनि सँगसँगै रोएँ।’

फेसनमा रूचि
कैलालीको नारायणपुर (हाल टीकापुर नगरपालिका) मा जानकीको बाल्यकाल बित्यो। ३१/३२ जनाको संयुक्त परिवार एउटै छानामुनि बस्थ्यो। हजुरबुवा र बुवाहरूको मिहिनेतले ठड्याएको मिल, कपडा र खाद्यान्न पसल थियो। जसले परिवार चलाउन खासै गाह्रो थिएन।

तर, माओवादी द्वन्द्व सुरु भएपछि जानकीको परिवारमा ठुलो बज्रपात पर्‍यो। माओवादीले उनीहरूको पसल र मिल जलाएर खरानी बनाइदिए। बुवालाई मार्ने धम्की दिए।

जानकी भन्छिन् ‘सामान लुट्न सक्नेले लुटे, लान सक्ने सयवटा ट्रक, ट्याक्टर आएको थियो। कपडा लिएर गए, लुट्न सकेको लुटे अनि नहुनेले आगो लगाइदिए। उनीहरूले देखेको त्यो मात्र थियो। हामीसँग कति धेरै ऋण थियो। बुवालाई पनि माओवादीले मार्ने धम्की दिएको थियो। छतबाट लिएर फाल्दिने र गोली हानेर मार्दिने भन्ने थियो। तर एकजनाले अर्डर आएको छैन, गर्नुहुँदैन भनेर बुवालाई छोडिदिएको थियो।’

द्वन्द्वकै कारण कालिका इङ्लिस बोर्डिङमा ५ कक्षासम्म पढेकी जानकी परिवारसहित टीकापुर सर्नुपर्‍यो। बिचमा काठमाडौँ आएकी उनी कोठा भाडामा बस्दाको किचकिच मन नपरेर गाउँ फर्किइन्। र, गाउँमै व्यवस्थापन विषयमा प्लस-टु गरिन्। स्नातकसम्मको पढाइ भने शङ्करदेव क्याम्पसबाट पूरा गरिन्।

जानकीलाई कस्ट्युम डिजाइनमा आउँछु भन्ने लागेकै थिएन। तर, बाल्यकालमै यसको बिउ रोपिसकिएको थियो। त्यतिबेला हजुरआमासँग बसेर टीभीमा फेसन सो हेर्थिन्।

‘म त्यही चारपाँच कक्षामा पढ्थेँ। अनि त्यतिखेर हामी भिक्टोरियाज् सिक्रेटजस्ता ब्रान्डहरूको फेसन सोहरू आउँथे। अनि बजै र म बसेर छोटो लुगा लगाएको छ भनेर हाँस्थ्यौँ,’ उनले भनिन्, ‘मलाई कुनै आइडिया थिएन म कस्ट्युम डिजाइनर बन्छु भनेर। तर, इन्ट्रेस्ट चाहिँ थियो। हाम्रै पसल छेउमा एकजना दाइले कपडा सिलाउनुहुन्थ्यो। उहाँ नहुँदा म यसो हाम्रो पसलको कुर्ताहरू लिएर सिलाउने गर्थेँ।’

बुवालाई दिइन् कलेजो
जानकी बुवाको सबैभन्दा प्रिय छोरी थिइन्। उनी डेढ वर्षको हुँदा भाइ जन्मिएपछि आमा सुत्केरी भइन्। राति जानकी रुँदा बुवाले कागज जलाएर कचौराको दूध तताउँदै उनलाई खुवाएर हुर्काएका थिए।

सुदूरपश्चिमजस्तो रूढिवादी समाजमा बुवाले जानकीलाई भरपूर स्वतन्त्रता दिए। एसएलसी सकेपछि बुवाकै बाइक मागेर हुइँक्याउँदा बुवा भित्रभित्रै मेरी छोरीले गरी भनेर गद्गद् हुन्थे।

करोडौँको ऋण र मानसिक तनाव। उनका बुवा बिस्तारै मदिराको लतमा फसे र बिरामी परे। बुवाले पढाउन सक्दिनँ भनेपछि उनले सहकारीमा पैसा उठाउने काम सुरु गरिन्। पछि उनी क्यासियर समेत बनिन्।

काम गर्दागर्दै फेसन डिजाइन पढ्ने रहर जाग्यो। त्यसपछि उनी बागबजारको ‘आइएसी फेसन स्कुल’ मा भर्ना भइन्।

तर, सन् २०१४ मा बुवाको कलेजो खराब भयो। उपचारका लागि दिल्ली पुग्दा डाक्टरले कलेजो प्रत्यारोपण नै अन्तिम विकल्प भएको बताए। आमाको कलेजो म्याच भएन। भाइको भर्खरै विवाह भएकाले केही भइहाले बिजनेस र परिवार बर्बाद हुने डर थियो।

यस्तोमा सामाजिक र पारिवारिक दबाबबिच २६ वर्षकी अविवाहित जानकीले भनिन्: म बुवालाई कलेजो दिन्छु।

कलेजो प्रत्यारोपण सफल भयो। तर, विडम्बना! उनका बुवा अप्रेसनको एक हप्तापछि बिते। जानकी आफैँ ओछ्यानमा बेहोस जस्तै थिइन्, उनको ब्लड प्रेसर अत्यधिक लो भएको थियो। बुवा बितेको १५ दिनपछि मात्र उनलाई यसबारे थाहा भयो।

‘मलाई कुनै पछुतो छैन। म त गर्व गर्छु किनकि मैले मेरो बुवाको लागि अन्तिम समयसम्म कोसिस गर्न पाएँ। तर, अन्तिमपटक बुवालाई हेर्न पाइनँ,’ जानकीले रुँदै भनिन्।

बुवाको मृत्युपछि जानकीलाई एक वर्षसम्म केही काम नगर्न र स्वास्थ्यको ख्याल गर्न भनिएको थियो। त्यसैअनुसार उनी एकवर्ष खाली बसिन्। त्यसपछि आइएसी फेसन स्कुलका ४ जना साथीहरू मिलेर एउटा साथीको कोठामा मेसिन राखेर काम बुटिक सुरु गरे। जुन आजसम्म पनि सञ्चालनमा छ।

‘ऐना झ्यालको पुतली’देखि लालीबजार’सम्म
विज्ञापनसँगै प्रवीण राउतको सर्ट फिल्मबाट सुरू भयो जानकीको सिनेमा यात्रा। त्यसपछि उनले सुजित बिडारीको फिल्म ‘ऐना झ्यालको पुतली’ मा कस्ट्युम डिजाइनरको रूपमा काम गर्ने अवसर पाइन्। जुन फिल्म अस्करमा समेत सिफारिस भएको थियो।

तर, त्यो फिल्म नै उनको जीवनकै ठुलो परीक्षा बन्यो। फिल्ममा बजेटको चरम अभाव थियो, सुटिङ कतिबेला रोकिने हो थाहा हुँदैनथ्यो।

‘म त अब फिल्म गर्दिनँ भनेर छोड्न आँटेको थिएँ। बुटिकतिरै ध्यान दिन्छु, फिल्मतिर त साह्रै गाह्रो हुने रहेछ जस्तो भयो। तर, फिल्म आउँदाखेरि चाहिँ एकदमै राम्रो प्रतिक्रिया पायो। कति राम्रो कस्ट्युम भनेर धेरैले भन्नुभयो,’ उनले भनिन्।  

‘ऐना झ्यालको पुतली’ मा सन् १९८०/९० को दशकको पृष्ठभूमि देखाउनुपर्ने थियो। जुन पर्दामा दुरुस्तै उतार्न जानकी काठमाडौँ र गाउँका पुराना ठाउँ, कपडाका पसल र पुराना बाकसहरू चहार्न पुगिन्। पुराना रङ उडेका सुतीका कपडाहरू र गाउँका केटाकेटीले लगाउने मैला जामाहरू खोज्न उनले महिनौँ रिसर्च गरिन्।

गौरी मल्लको सिफारिसमा रवीन्द्र सिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईको टोलीसँग उनको भेट भयो। प्रदीप भट्टराईको ‘महापुरुष’मा उनले काम गर्ने मौका पाइन्। त्यस्तै, ‘महाजात्रा’ र ‘लालीजार’ जस्ता ब्लकबस्टर फिल्ममा काम गरिसकेकी छिन्।

नेपाली चलचित्र क्षेत्रमा पर्दापछाडि खटिने कस्ट्युम डिजाइनरहरूले सीमित बजेट र दोहोरो दबाबका बीच काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। फिल्ममा पहिरन व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको सुनाउँछिन् जानकी।

उनले भनिन्, ‘कस्ट्युम डिजाइनरले भोग्नुपर्ने मुख्य समस्या भनेकै कस्ट्युम कसैलाई नपुग्ने, तर आपत पर्दा चाहिँ सबैलाई तुरुन्तै चाहिने प्रवृत्तिको हो। त्यसमाथि बजेट नै हुँदैन। बजेट नहुँदा एकदमै कन्जुस्याइँ गरेर, धेरै कुराहरू मिलाएर काम गर्नुपर्छ। अन्तिममा पेमेन्टको त झन् ठूलो समस्या भइहाल्छ। जसले हामीजस्तालाई काम गर्न गाह्रो छ।’

अन्तर्राष्ट्रिय मञ्चसम्म
कस्ट्युम डिजाइन गर्दागर्दै जानकीलाई अभिनयको पनि भोक जाग्यो। उनले दीपक रौनियारको फिल्म ‘राजागञ्ज’ मा सानो भूमिका खेलेकी थिइन्। जसको कारण उनी पशुपति राई र निकिता चान्डकसँगै प्रतिष्ठित ‘बुसान फिल्म फेस्टिभल’ को रेड कार्पेटसम्म पुगिन्।

त्यतिमात्रै होइन, जानकी कस्ट्युम डिजाइनतर्फ सन् २०२६ को बर्लिनले ट्यालेन्ट समेत बनिसकेकी छिन्। बर्लिनलेले पहिलो पटक घोषणा गरेको यस शीर्षकमा ट्यालेन्टमा छनोट हुने उनी नेपालबाट पहिलो हुन्।

बर्लिनलेको प्रतिष्ठित मञ्चमा संसारभरिका फिल्ममेकरहरूसँगै उभिएर नेपालको प्रतिनिधित्व गर्नु जानकीका लागि गौरवको क्षण थियो।

पहिलो दिन बर्लिनले पुग्दा जानकीको मनमा अलिकति डर थियो। किनभने उनको अंग्रेजी ठिकै मात्र थियो। तर, त्यहाँ पुगेपछि कसैले कसैलाई जज नगर्ने हुँदा कला र संस्कृतिको आदानप्रदान गर्न सहज भएको सुनाउँछिन् उनी।

नेपालमा फिल्ममा काम गरेको अनुभव भए पनि बर्लिन पुगेपछि प्रोडक्सन डिजाइनको अन्तर्राष्ट्रिय आयाम बुझ्ने मौका मिलेको उनको भनाइ छ।

‘हामी प्रोडक्सन डिजाइनकै क्लासहरूमा बढी व्यस्त भयौँ। यो विधामा कसरी काम हुँदो रहेछ भनेर थप नजिकबाट सिक्न पाउँदा एकदम खुसी लाग्यो। उनीहरूले दिएको यो अवसरबाट पक्कै हामीले केही सिकेर आएका छौँ, जुन अब यहाँ नेपालमा लागू गर्नुपर्छ,’ उनले खुसी हुँदै भनिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad