बायोपिक फिल्म ‘म मदनकृष्ण’ को डिजिटल अधिकार बिक्री भएको छ। डिजिटल कम्पनी ‘ओएसआर डिजिटल’ले सिनेमाको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै ठूलो रकम खर्चेर यसको अधिकार सुरक्षित गरेको जनाएको छ।
भदौ दोस्रो सातादेखि फिल्मको छायांकन सुरु हुनेछ। यस फिल्मलाई बायोपिक सिनेमामा बनाउँदै आएका निर्देशक मिलन चाम्सले निर्देशन गर्दै छन्।
७६ वर्षीय वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को असारको पहिलो साता निर्माणको घोषणा गरिएको थियो। श्रेष्ठको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह, साथै जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह-अवरोहलाई समेटेर फिल्म निर्माण हुनेछ।
‘ध्रुर्व सत्य कुरा के हो भने, ओएसआरले अहिलेसम्मकै महँगो मूल्यमा हाम्रो सिनेमाको डिजिटल राइट खरिद गरेको छ। यो मदनकृष्ण दाइप्रतिको सम्मान र उहाँको ब्रान्ड भ्यालुको नतिजा हो,’ निर्देशक चाम्सले भने।
नेपाली चलचित्र इतिहासमा कुनै चर्चित व्यक्तिको जीवनीमा सिनेमा बन्नु नयाँ कुरा नभए पनि अभिनेतामाथि बायोपिक बन्न लागेको यो पहिलोपटक हो। यसअघि गायक भक्तराज आचार्यको जीवनमा ‘आचार्य’ बनेको थियो भने अन्य क्षेत्रका व्यक्तित्वका बायोपिक पनि बनेका थिए। तर, रङ्गमञ्च र सिनेमाका हस्ती श्रेष्ठमाथि फिल्म बन्नुलाई नेपाली सिनेमाको एक ऐतिहासिक मानिएको छ।
यस फिल्ममा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन्। उनले श्रेष्ठकी पत्नी यशोदाको भूमिका निर्वाह गर्नेछिन्।
चलचित्रमा हरिवंश आचार्यको भूमिका कसले निभाउनेछ भन्ने विषयलाई अहिले निकै गोप्य र कौतुहलतापूर्ण राखिएको छ। यस्तै, फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन्। फिल्मको कथा तथा पटकथा यम थापाले लेखेका हुन्।
Shares

प्रतिक्रिया