मेस्सीका फ्यान अभिनेता अनमोल केसी यतिखेर अमेरिकामा छन्। गएराति भएको अर्जेन्टिना र इङ्ल्यान्डबीच भएको खेले हेरेसँगै उनले विश्वकप यात्रा र अर्जेन्टिनाप्रति आफ्नो समर्थनबारे उनले लेखेका छन्।
सामाजिक सञ्जालमा लामो स्टाट्स लेख्दै उनले एउटा मात्र खेल हेर्ने सोच बनाएर अमेरिका गएको बताउँदै समयसँगै एउटा खेल चार खेलमा परिणत भएको उल्लेख गरेका छन्। ‘मलाई अझै याद छ, विमान चढ्दा म सोच्दै थिएँ कि सायद एउटा मात्र खेल हेर्नेछु। जीवनको खेल पनि कस्तो अनौठो हुन्छ। एउटा खेल हेर्ने योजना चार वटा खेलमा परिणत भयो।’
र, एउटा स्टेडियमबाट यात्रा चार फरक सहरसम्म पुगेको उनको भनाइ छ। उनका अनुसार नेपालबाट टेक्सास, वासिङ्टन, मियामी, भर्जिनिया, शिकागो, कान्सास, मेरिल्यान्ड र एटलान्टासम्मको यात्राका क्रममा उनले उडानको संख्या गन्न छाडेर जीवनभर सम्झिरहने क्षणहरू बनाएका छन्।
उनले यात्राको क्रममा फुटबल आफ्नो लागि खेलभन्दा धेरै ठूलो अनुभव बनेको लेखेका छन्। हजारौं अपरिचित समर्थकसँगै प्रत्येक नाराबाजी, प्रत्येक गोल र प्रत्येक उत्सवले आफूलाई त्यहीँको एक हिस्सा भएको अनुभूति दिलाएको उनको भनाइ छ।
अनमोलले आफ्नो उपस्थितिले खेलमा कुनै परिवर्तन नल्याएको हुन सक्ने भए पनि आफ्नो मनमा भने त्यसले विशेष अर्थ राखेको महसुस भएको बताए।
उनले विश्वकपको फाइनल प्रत्यक्ष रूपमा रंगशालामा बसेर हेर्ने इच्छा भए पनि त्यो सम्भव नभएको उल्लेख गर्दै परिवार र साथीहरूसँग घरमै बसेर फाइनल हेर्न चाहेको सुनाए। साथै अर्जेन्टिनाले चौथो विश्वकप उपाधि जितेको हेर्ने आशा व्यक्त गरेका छन्।
अनमोलले अर्जेन्टिनाले फाइनल जितेन भने पनि त्यसले आफ्नो अनुभूतिमा कुनै फरक नपर्ने बताएका छन्। आफूले प्रत्यक्ष हेरेका प्रत्येक खेलमा अर्जेन्टिना विजयी भएको र ती अनुभवले जीवनभरका लागि सम्झना दिएको उल्लेख गर्दै त्यसका लागि खर्च गरेको हरेक पैसा सार्थक भएको उनले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया