केही दिनदेखि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) पनि देशभर आकाशमा साधारणतया बादल लागेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
महाशाखाले आज बिहान ८ जारी गरेको प्रक्षेपणअनुसार,
दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा, कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
काठमाडौँ उपत्यकामा पनि वर्षा जारी रहने
आज काठमाडौँ उपत्यकामा पनि मौसम बदली र वर्षा जारी रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले दिएको जानकारीअनुसार आज पनि काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ।
'आज बिहानै पनि काठमाडौँ उपत्यकामा पानी परेको थियो, तर अहिले रोकिएको छ। बुढानिलकण्ठतिर छिटपुट पानी परिरहेको देखिन्छ', आज बिहान सवा ७ बजेतिर नेपालखबरसँग उनले भनिन्, 'अब वर्षा केही समयका लागि रोकिने सम्भावना छ, तर अपराह्न र राति फेरि वर्षा हुने सम्भावना छ।'
मौसमविद् महर्जनका अनुसार काठमाडौँमा विशेषगरी दिउँसो २/३ बजेपछि वर्षाको बढी सम्भावना छ।
'भोलि र पर्सि वर्षाको सम्भावना अझ बढी छ', उनलेे भनिन्।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया