कला


जोखिम मोलेर ‘गौँथली’मा अटिजम भएको पात्र खेलेका अरुण

जोखिम मोलेर ‘गौँथली’मा अटिजम भएको पात्र खेलेका अरुण

लक्ष्मी बलायर
साउन १, २०८३ शुक्रबार ९:२७, काठमाडौँ

केही दिनअघि अभिनेता अरुण क्षेत्री सिम्रन पन्तसँगै प्रकाश सुवेदीको सोमा पुगे। उनी ‘गौँथली’को ‘ठूले’कै भेषमा देखा परे। ‘ठूले’ जसलाई माइल्ड अटिजम भएको छ। अनौठो हाउभाउ अनि अबोध बोली। उनका क्लिपहरू भाइरल भए।

ती क्लिपहरू हेरेर दर्शकले उनलाई साँच्चिकै अटिजम भएको व्यक्ति ठानेर आर्थिक सहयोगसम्म गर्ने सोच बनाए। तर, जब ती व्यक्ति ‘महापुरुष’ बाट डेब्यु गरेका अभिनेता हुन् भन्ने थाहा पाए, तब धेरै जना दंग परे।

आफ्नो वास्तविक रूपलाई भुलेर दर्शकले पर्दाको चरित्र ‘ठूले’ लाई मात्र चिन्नुलाई ठूलो सफलता ठान्छन् अरूण।‘सोमा ठूलेको रूपमा पुगेपछि धेरैले मलाई चिन्नु नि भएन। अटिजम भएको व्यक्ति सोचेर डोनेसनसम्म गर्ने कुराहरू भएको रहेछ। तर, पछि उहाँले फिल्मको पात्रहरू हो भनेर थाहा पाउनुभयो,’ उनले भने, ‘मेरो फिल्म हेरिसकेको अडियन्सले पनि चिन्नुभएन भन्दा खुसी लाग्यो। पात्रमा डुबिएछ जस्तो लाग्यो। जुन मेरो लागि सफलता पनि हो।’

गत असोजमा अरुण काभ्रेमा एउटा फिल्मको सुटिङमा व्यस्त थिए। त्यतिबेला ‘गौँथली’ का गिरिराज घिमिरेले उनलाई फोन गरेर भेट्न बोलाए। घिमिरेसहित निर्देशक डा कपिल रिजालले अरुणसँग बानेश्वरमा भेट गरे। र, ‘गौँथली’ को मुख्य क्यारेक्टर ‘ठूले’ बारे बताए।

तर, यो साधारण पात्र थिएन। ‘ठूले’ माइल्ड अटिजम भएको पात्र थियो, जसलाई पर्दामा उतार्नु अरुणका लागि ठूलो चुनौती थियो।

अरुणलाई सुरुमा अटिजमका बारेमा खासै जानकारी थिएन। तर, जब उनले फिल्मको स्क्रिप्ट पढे, तब उनको सोच नै बदलियो।

‘ममा अटिजमबारे धारणा के थियो भने सबै एउटै हुन्छन्। तर, पछि रिसर्च गर्ने क्रममा धेरै किसिमको हुने रहेछ थाहा पाएँ। माइल्ड अटिजम भनेको हेर्दाखेरी ठिकठाक देखिने र सहयोग नचाहिने हुन्छ। तर सोच, क्रियाकलपा र बोलीमा अलिकति फरक हुँदोरहेछ,’ उनले भने।

पात्रबारे अध्ययन गर्न अरुणले काठमाडौँको ‘फिनिक्स स्कुल’ (अटिजम स्कुल) पुगेर त्यहाँका बालबालिका र वयस्कसँग समय बिताए। उनीहरूको हाउभाउलाई नजिकबाट नियाले। पात्रमा चाहिने क्युटनेस र बोल्ने लय भने उनले आफ्नै ८ वर्षीय भान्जाबाट टिपेका हुन्।

चलचित्र 'गौँथली'मा ठूले अर्थात् अरुण क्षेत्री
उनले भने, ‘मेरो भान्जा आठ वर्षको हुनुहुन्छ। उहाँ आफ्नै जोनमा बस्ने टाइपको हुनुहुन्छ। क्युटनेस, इनोसेन्स चाहिँ मैले मेरो भान्जाबाट लिएको हो। बोल्ने स्टाइलदेखि लय तान्ने, सोच्ने र कन्फ्युज हुने स्टाइल पनि भान्जाबाट प्रभावित भएर एडप्ट गरेको हुँ।’

पर्वतको राम्जामा करिब ३५/३७ दिन सुटिङ भयो। सुरुवाती दिनमा निर्माण टिमलाई अरुणले यो पात्रलाई कसरी पर्दामा उतार्लान् भन्ने चिन्ता थियो। तर, भात खाने र घण्टी बजाउने लगायतका सुरुवाती सिनहरू हेरेपछि मेकरहरू पूर्ण रूपमा ढुक्क भए।

पात्रको आवाज मिलाउन निकै गाह्रो थियो। संवाद बोल्दा कतै दर्शकलाई झर्को नलागोस् भनेर उनले मनैदेखि बोलेको सुनिने आवाज निकाल्थे।   

अरुणले भने, ‘क्यारेक्टरको साउन्ड कस्तो सुनिन्छ? कतै बोली इरिटेटिङ लाग्न सक्छ कि भन्ने कुरामा हामी एकदम डिस्कस गरिरहेका थियौँ। यसलाई भित्रैदेखि बोल्ने बनाऔँ। इनोसेन्ट निस्किनु पर्‍यो भन्ने हिसाबले हामी तयार भएर वर्कआउट गर्दै गयौँ।’

यो पात्र निकै संवेदनशील भएकाले अलिकति बढी अभिनय भएको भए झुटो देखिने सम्भावना थियो। त्यसैले अरुणले सुटिङको समयमा एउटा जुक्ति अपनाए: उनले रिहर्सल गर्नै छोडिदिए।

‘मैले यो क्यारेक्टरको बारेमा जति सोच्न थालेँ, त्यति फेक देखिन थाल्यो। त्यसैले म रिहर्सल पनि गर्दैनथेँ। रिहर्सलमा म डायलग मात्र बोल्थेँ, अभिनय गर्दिनथेँ। तर एक्सन भनेपछि बल्ल मैले गर्थेँ। कति नसोचेको कुराहरू म्याजिकल रूपमा निस्किरहेको थियो।’

‘ठूले’ को बानी वास्तविक जीवनमा हाबी हुँदा
सुटिङ सकिएपछि पनि अरुणका लागि सामान्य जीवनमा फर्किनु निकै कठिन रह्यो। उनी ‘गौँथली’ सकेर अर्को फिल्म ‘पहाड’ र ‘हन्टर’ को सेटमा पुगे। तर ‘ठूले’ को बडी ल्याङ्ग्वेज उनमा यसरी गढेको थियो कि उनी चाहँदाचाहँदै पनि सामान्य हुन सकिरहेका थिएनन्।

‘म अर्को फिल्मको सेटमा जाँदा हमिङ गर्ने तरिका, रियाक्ट गर्ने तरिका फरक भइरहेको थियो। अनि मेकरहरूले ‘किन अर्कै भयो अरुण?’ भन्नुभयो। कति कुराहरू आफैँ आउँदो रहेछ। अनि पछि मैले कन्ट्रोल गर्न सुरु गरेँ,’ उनले भने।

अरुणका अनुसार ‘गौँथली’ एउटा फिल्म मात्र होइन, यो अटिजम भएका व्यक्तिहरूलाई हेर्ने समाजको दृष्टिकोण बदल्ने पनि प्रयास हो। अझै पनि समाजमा अटिजमलाई पूर्वजन्मको पापका रूपमा हेर्ने गरिन्छ।

‘अटिजमलाई समाजले मेन्टल पेसेन्टको तरिकाले हेर्छ। मैले रिसर्च गर्ने क्रममा यो पात्र मैले गर्नै पर्छ भन्ने भयो। किनभने हामी नर्मल मान्छेले जुन हिसाबले एउटा धारणा बनाएको छौँ, त्यो गलत हो जस्तो लाग्छ,’ उनले भने, ‘किनभने उनीहरूमा कति राम्रो पक्षहरू छन्। हामीमा मानवता हराइसकेको छ, हामी स्वार्थी भइसकेका छौँ। तर उनीहरूको आत्मा शुद्ध हुन्छ। कति अभिभावकले उहाँहरूलाई स्वीकार गर्नुभएको छैन, बाँधेर राख्ने, टर्चर दिने गर्नुहुन्छ। मलाई लाग्छ उनीहरूभन्दा धेरै जिद्दी त हामी हुन्छौँ। हामी जिद्दी गर्ने चक्करमा अरुको भावनासँग खेलिरहेका हुन्छौँ।’

आमाले रोपिदिएकी थिइन् अभिनयको बिउ
अरुणको बाल्यकाल दाङ घोराहीमा बित्यो। कक्षा ६ मा पढ्दा उनको परिवारमाथि ठूलो आर्थिक संकट आइलाग्यो। बुवाको रेस्टुरेन्ट व्यवसाय डुबेपछि ऋण तिर्नका लागि परिवारले आफ्नो सबैथोक बेच्नुपर्‍यो। र, उनीहरू भाडाको कोठामा सरे।

बुवा ऋण गरेर जापान उडे। बुवाको सुरुवाती कमाइले ऋण तिर्न र परिवार धान्न धौधौ भयो। पछि उनकी आमा र दिदी पनि जापान गए। नेपालमा एक्लै संघर्ष गरिरहेका अरुण पनि प्लस-टु सकेपछि अन्ततः जापान पुगे।

त्यहाँ विदेशी साथीहरूको उक्साहटमा केही डकुमेन्ट्री ड्रामा र विज्ञापनहरूमा एक्स्ट्राको रूपमा काम गरे। त्यहीँबाट उनको बाल्यकालको अभिनयको रहर ब्युँतियो। उनी २०७३ तिर परिवारलाई कन्भिन्स गरेर अभिनय पढ्न नेपाल फर्किए। र, कान्तिपुर फिल्म एकेडेमीमा भर्ना भए।

अरुणमा अभिनयको बिउ भने बाल्यकालमै रोपिएको थियो। दाङका सिनेमा हलमा उनकी आमाले अरुणलाई लुकिछिपी फिल्म हेर्न लैजान्थिन्। सासू-ससुरालाई ‘बजार जाँदैछु’ भनी ढाँटेर फिल्म हेर्न पुग्ने आमाको सिनेमाप्रतिको गहिरो प्रेम थियो। अरुण पनि फिल्म हेर्न भनेपछि हुरुक्कै हुन्थे। त्यतिबेला श्रीकृष्ण श्रेष्ठ निकै मनपर्ने हिरो भएको बताउँदै राजेश हमाल, दिलिप रायमाझी, विराज भट्ट र निखिल उप्रेती लगायतका फिल्म हेरेको उनले स्मरण गरे।

त्यही बाल्यकालको सिनेमाप्रतिको झुकावले अरुणलाई यो स्थानसम्म डोर्‍यायो। र, उनले ‘ज्याकी: आइ एम २१’ मा अभिनय गर्ने अवसर पाए। ‘ज्याकी: आइ एम २१’ पहिलो फिल्म भएपनि ‘महापुरुष’ रिलिजको हिसाबले उनको डेब्यू फिल्म बन्न पुग्यो। प्रदीप भट्टराई निर्देशित फिल्मबाट अरुणले ठूलो सफलता चाखे। यद्यपि, यसपछिका फिल्महरू भने बक्सअफिसमा खासै सफल हुन सकेकन्।

अरुण यस पटक ‘गौँथली’ बाट निकै आशावादी छन्। बलियो विषयवस्तु र आफ्नो चरित्रलाई दर्शकहरूले रूचाउने उनको भनाइ छ। यो  फिल्म शुक्रबारबाट देशभर रिलिज भएको छ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि जोरपाटीका एक अभिभावकले म्यासेज पठाए। जसको ७ वर्षको छोरामा पनि माइल्ड अटिजम छ। उनले अरुणलाई भिडिओ कल गरेर भावुक हुँदै भने: 'मेरो छोरा भोलि एडल्ट भइसकेपछि उसको इच्छा र भावना कस्तो होला भनेर मलाई यो फिल्म हेर्न हतार भइसकेको छ।'

अरुणकी आमा पनि छोराको यो रूप पर्दामा देख्दा र विगतका ती कठिन दिनहरू सम्झँदा निकै भावुक बनिन्। हुन त सुरूमा अरुणका साथीहरूले ‘अहिले यस्तो च्यालेन्जिङ रोल नगर, कम्फर्ट जोनमै बस’ भनेर सल्लाह दिएका थिए। तर, कम्फर्ट जोनमा बसेर आफ्नो कलालाई सीमित गर्नुभन्दा सुरुमै जोखिम लिन उपयुक्त ठानेको सुनाउँछन् उनी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad