समाज


भारतका चार विश्वविद्यालयमा पढेका ११४ नेपाली विद्यार्थीको समकक्षता रद्द

भारतका चार विश्वविद्यालयमा पढेका ११४ नेपाली विद्यार्थीको समकक्षता रद्द

प्रज्ञा तिम्सिना
असार ३२, २०८३ बिहिबार १२:५९, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका चार वटा विश्वविद्यालयबाट नेपाली विद्यार्थीले पाएको समकक्षता रद्द गरेको छ। 

केन्द्रले सूचना जारी गरी भारतको मेघालयस्थित सीएमजी युनिभर्सिटी र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको सांगाई इन्टरनेशनल युनिभर्सिटी र झारखण्डको प्रज्ञान इन्टरनेशनल युनिभर्सिटीबाट प्राप्त गरिएका उपाधिको समकक्षता पत्र रद्द गरिएको जनाएको छ। चारै विश्वविद्यालयबाट ११४ जना विद्यार्थीले पाएको समकक्षता रद्द गरिएको हो। 

यसअघि केन्द्रले चारै विश्वविद्यालयबाट प्राप्त समकक्षताको छानबिन अघि बढाएको थियो। त्यसक्रममा विद्यार्थीले पेश गरेका कागजात अध्ययन गरिएको थियो। 

उनीहरूको समकक्षता यथावत राख्नुपर्ने आधार नदेखिएकोले त्रिवि उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम रद्द गरिएको केन्द्रले जनाइएको छ। 

‘यी विश्वविद्यालयबाट प्राप्त गरेका उपाधिको समकक्षता पत्रहरू रद्द गर्ने प्रक्रियाबमोजिम ३५ दिने सूचना प्रकाशित गरिएकोमा सो अवधि व्यतित भइसकेकोमा सूचनामा उल्लेखित व्यक्तिले पेश गरेका कागजातबाट समकक्षता रद्द गर्नुनपर्ने आधार नभएकाले ती व्यक्तिहरुको नाममा जारी भएका समकक्षता पत्रहरू त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम रद्द गरिएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ। 

समकक्षा रद्द गरिएका अधिकांश इन्जिनियरिङका विद्यार्थी रहेका छन्। भारतका विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तह अध्ययन गरेका विद्यार्थीको समकक्षा रद्द गरिएको हो। 

रद्द गरिएका सबैभन्दा बढी सांगाई इन्टरनेशलन विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थी छन्। सांगाई विश्वविद्यालयमा पढेका ९८ जना विद्यार्थीको समकक्षता रद्द गरिएको हो। 

त्यस्तै, सीएमजी युनिभर्सिटीका १३, टेक्नो ग्लोबल युनिभर्सिटीका दुई र प्रज्ञान इन्टरनेशनल युनिभर्सिटीका एक जना विद्यार्थीको समकक्षता रद्द गरिएको हो। 

विदेशबाट पढेर आएका विद्यार्थीले नेपालमा थप अध्ययन, उच्च शिक्षा वा सरकारी/निजी सेवामा आवेदन दिँदा शैक्षिक तह समान छ भनी पुष्टि गर्न समकक्षता लिने गर्छन्। समकक्षता लिन शैक्षिक उपाधिको प्रमाण पेश गर्नुपर्छ। 

हालसम्म समकक्षता त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले दिँदै आएको थियो। अब साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोगले दिने निर्णय भएको छ। 

किन भयो रद्द?

त्रिवि पाठ्यक्रम विकास केन्द्रले गत वैसाख १४ गते सूचना निकाली सांगाई विश्वविद्यालयबाट पढेर समकक्षता लिएका विद्यार्थीलाई सम्पर्क आउन भनेको थियो। सांगाई पढेका ९८ जना विद्यार्थीको नाम सार्वजनिक गरी शैक्षिक उपाधि सम्बन्धित ठाउँबाट प्रमाणित गरेर केन्द्रबाट पाएको समकक्षतासहित बुझाउन भनेको थियो। 

सांगाई विश्वविद्यालयलाई भारतको विश्वविद्यालय अनुदान आयोगले १५ मे २०२४ मा विश्वविद्यालयको सूचीबाट हटाएको थियो। आयोगले विश्वविद्यालयबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीका लागि अवैध घोषणा गरेको थियो। 

विश्वविद्यालयमाथि प्रश्न उठेपछि आफैले दिएको समकक्षतालाई त्रिवि पाठ्यक्रम केन्द्रले पुनः शैक्षिक योग्यतासहित छानबिन गर्न सुरु गरेको हो। त्रिविले समकक्षता र आफ्ना शैक्षिक उपाधि सम्बन्धित ठाउँबाट प्रमाणित गरेर ३५ दिनभित्र बुझाउन भनेको थियो। तर विद्यार्थीले ३५ दिनभित्र बुझाएको विवरण अनुसार समकक्षता रद्द गर्नुनपर्ने आधार नभएको त्रिवि पाठ्यक्रम केन्द्रले जनाएको छ। 

त्यस्तै, भारतको मेघालय राज्य सरकार शिक्षा विभागको २० अगस्त २०२५ मा सूचना निकाली भारतीय सर्वोच्च अदालतको १२ फेब्रुअरी २०२५ को फैसलाका आधारमा सन् २०१४ र त्यसपछि सीएमजी विश्वविद्यालयबाट जारी भएका शैक्षिक उपाधिलाई अवैध घोषणा गरेको थियो। सन २०१४ पछि जारी भएका शैक्षिक उपाधि अनियमितरूपमा प्रदान गरेको आधारमा राज्यस्तरबाट छानबिन भई प्रमाणीकरण भएका उपाधिलाई मात्र मान्यता दिइएको थियो। 

सो विश्वविद्यालयबाट पढेका आएका नेपाली विद्यार्थीले समकक्षता लिएको भन्दै त्रिवि पाठ्यक्रममा उजुरी परेको थियो। केन्द्रले सीएमजी पढेका १३ जना विद्यार्थीको शैक्षिक उपाधिमाथि छानबिन गरेको थियो। 

केन्द्रबाट २५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षता पत्रको सक्कल प्रति तथा आफूले प्राप्त गरेको उल्लेखित शैक्षिक उपाधिको मेघालय राज्य सरकार शिक्षा विभागबाट गरेको प्रमाणीकरण एवं उपाधिको वैधता पुष्टि गर्ने अन्य कुनै आधार प्रमाण भए सोसहित यस केन्द्रमा लिखित रूपमा पेश गर्न भनेको थियो।

यस्तै, झारखण्डस्थित प्रज्ञान अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई भारतको विश्वविद्यालय अनुदान आयोगले १६ जनवरी २०२५ को सार्वजनिक सूचना निकाली विश्वविद्यालयको सूचीबाट हटाएको जनाएको थियो। स्थापनादेखि नै शैक्षिक कार्य नै सुरु नभएकोले विश्वविद्यालयको सूचीबाट हटाइ शैक्षिक प्रमाणपत्रलाई मान्यता नदिने निर्णय गरेको थियो। 

सो विश्वविद्यालयबाट अध्ययन गरेकी बाँकेको खजुरा गाउपालिका-२ की निरुता अधिकारीले समकक्षता पत्र लिएकी थिइन्। उनको पनि शैक्षिक उपाधि नेपालमा रद्द भएको छ। 

उनको शैक्षिक उपाधि र केन्द्रले प्रदान गरेको समकक्षता छानबिनमा परेको थियो। तर वैधानिकता पुष्टि गर्ने कुनै प्रमाण नभएका कारण समकक्षता रद्द भएको केन्द्रले जनाएको छ। 

यसैगरी, मेगालयस्थित टेक्नो ग्लोबल विश्वविद्यालय सन् २०१३ मा भारतको विश्वविद्यालय अनुदान आयोगमा दर्ता भएको थियो। तर यसले स्थापनाकालदेखि नै आफ्नो मुख्य क्याम्पसमा कुनै पनि शैक्षिक गतिबिधि भर्ना वा कक्षाहरू सञ्चालन गरेको थिएन।

मेघालय सरकारको शिक्षा विभागले अनुगमन गर्दा विश्वविद्यालय अस्तित्वमै नरहेका भन्दै सूचीबाट हटाउन विश्वविद्यालय अनुदान आयोगलाई सिफारिश गरेको थियो।

यो विश्वविद्यालयबाट शैक्षिक उपाधि लिएका नेपालका दुई विद्यार्थी छन्। दुवै जनाले त्रिविबाट समकक्षता लिएका थिए। तर छानबिन गर्दा उनीहरूको शैक्षिक उपाधि पुष्टि हुन सकेन। त्रिवि पाठ्यक्रमले उनीहरूको पनि समकक्षता रद्द गरेको छ। 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्राडा रामकृष्ण तिवारी पटकपटक सूचना सार्वजनिक गर्दा पनि विद्यार्थीले आफूले पाएको शैक्षिक उपाधिको वैधता पुष्टि गर्न नसकेका कारण समकक्षता रद्द गरिएको बताए। भारतमा नै अवैध मानिएका विश्वविद्यालयबाट शैक्षिक उपाधि पाएका विद्यार्थीबारे छानबिन गर्दा उपाधि पुष्टि गर्ने आधार नभेटिएको उनले बताए। 

‘समकक्षताका बारेमा उजुरी परे पश्चात छानबिन सुरु गरेका थियौँ। पटकपटक ३५ दिने समय दिएर सूचना सार्वजनिक गर्‍यौँ। तर विद्यार्थीले आफूले पाएको शैक्षिक उपाधि पुष्टि गर्न नसकेपछि समकक्षता रद्द गर्ने निर्णय भएको हो,’ प्रा.डा. तिवारीले नेपालखबरसँग भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad