जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।
आज (शुक्रबार) राति ९:१० बजे सूचना जारी गर्दै मौसम विभागले भनेको छ, 'यी आसपासका ठाउँहरूमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।'
विभागका अनुसार आज राति देशभर अधिकांश बादल लाग्नेछ।
अनि देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।
साथै कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि आज राति मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
यसैगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाका साथै एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
Shares

प्रतिक्रिया