नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरिएको छ।
यसका लागि शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओई) गर्ने प्रक्रिया अघि बढाइएको छ। स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेहलगायतका दीर्घरोगका औषधिसमेत लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास (आरएन्डडी), गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारी भइरहेको जनाइएको छ।
स्वास्थ्य मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने भएको छ।
समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणालीमार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्ने र नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग तथा बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस पहलले स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित हुने मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया