समाज


विष्णु पौडेललाई २१ करोडको मुद्दामा तान्ने मालपानी र चुन्नप्रसादको यस्तो छ बयान

विष्णु पौडेललाई २१ करोडको मुद्दामा तान्ने मालपानी र चुन्नप्रसादको यस्तो छ बयान

नेपालखबर
साउन १, २०८३ शुक्रबार १०:१०, काठमाडौँ

व्यवसायी चुन्नप्रसाद पौडेल र कमलकिशोर मालपानीले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसाय विस्तारमा 'सहजीकरण' गरिदिएबापत विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीलाई श्रीराम टोबाको उद्योगको जगेडामा रहेको २० प्रतिशत सेयर बेचेको बयान दिएका छन्।

तत्कालीन अर्थमन्त्री पौडेलले नै भट्टसँग चिनजान गराइदिएको जिकिर दुवै व्यवसायीले गरेका छन्। साथै भट्टलाई व्यापार व्यवसायमा भित्र्याउँदा सबै सरकारी निकायहरूमा उनैले सहजीकरण गर्नेदेखि देश बाहिर पनि व्यवसाय विस्तारमा सघाउने भनेपछि श्रीराम टोबाको उद्योगको २० प्रतिशत अर्थात् ३ लाख ७५ हजार कित्ता सेयर पौडेलकै आग्रहपछि प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गरेको बयान उनीहरूले दिएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले नेतासमेत रहेका पूर्वअर्थमन्त्री पौडेललाई २० करोड ९० लाख र भट्टलाई ४७ करोड ७७ लाख ६६ हजार २५० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको छ।

व्यवसायी चुन्नप्रसादले तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले आफूहरूको व्यापार व्यवसायमा अनावश्यक दु:ख हैरानी दिएर काम गर्न असहजता खडा गरेको  बताएका छन्।

तत्कालीन महानिर्देशक मैनाली र निर्देशक रामप्रसाद रेग्मीसमेतले दु:ख हैरानी दिने नियतले आफूहरूको कम्पनीसमेतका विभिन्न २० देखि २५ ठाउँमा छापा मारेर राजस्व छलीको कसुरमा अनुसन्धान गर्न र व्यवसाय चल्नै नसक्ने अवस्था सिर्जना गरेको बयान उनीहरूले दिएका छन्।

त्यस घटनापछि तत्कालीन अर्थमन्त्री पौडेललाई भेटेर घटनाबारे जानकारी गराएपछि उनले आफूसँग राजस्व अनुसन्धान विभागको महानिर्देशकको फोन नम्बर नभएको बरु उल्टै पौडेलले दीपक भट्टसँग उनकै सानेपास्थित घरमा लगेर भेटाइदिएको चुन्नप्रसादले बयानमा भनेका छन्।

'पूर्वअर्थमन्त्री पौडेलले उहाँ (दीपक भट्ट) धेरै काम गर्ने मान्छे हो, सहयोग हुन्छ, उहाँसग सम्पर्कमा रहनु भनेका थिए', चुन्नप्रसादले बयानमा भनेका छन्।

पूर्वअर्थमन्त्री पौडेलले नै भनेपछि भट्टलाई श्रीराम टोबाको उद्योगमा साझेदारका रूपमा भित्र्याएपछि सुपारी आयात सहज भएर व्यवसायमा सहजता थपिएको बयान उनले दिएका छन्। 

'के कुन निकायमा के कस्तो सहजीकरण गरी सुपारी आयात भयो भन्ने कुरा आफूलाई व्यक्तिगत रूपमा थाहा नभएको पूर्वअर्थमन्त्री पौडेलले भनेका थिए। पहिला ट्रेडिङ कम्पनीले सुपारी आयात गर्दा उद्योगले नपाउने अवस्था रहेको र पछि भट्टलाई व्यावसायिक साझेदारको रूपमा भित्र्याएपछि उद्योगले सुपारी आयात गर्न पाउने कोटा निर्धारण भएर आयात गर्न पाएपछि अवस्था सहज भयो। भट्ट र पूर्वअर्थमन्त्री पौडेलले नै सहजीकरण गरिदिएका हुन्। यी सबै कारणले हिमालयन एसेट म्यानेजमेन्टलाई श्रीराम टोबाको उद्योगको सेयर दिन बाध्य पारिएको हो', चुन्नप्रसादले बयानमा भनेका छन्।

चुन्नप्रसाद र मालपानीले भट्टको इन्फिनिटी होल्डिङ्स प्रालिको स्वामित्वमा रहेको हिमालयन एसेप्ट म्यानेजमेन्ट प्रालीमा नाममा श्रीराम टोबाकोको २० प्रतिशत सेयर लगत कायम गरेर बेचेको बताएका छन्। सेयर बिक्री गर्दा सरकारलाई तिर्नुपर्ने कर कट्टा गरेर सबै सेयर धनीलाई वितरण गरिएको र उक्त स्वामित्व बराबरको लाभांश भट्टको कम्पनीलाई वितरण पनि गरिएको उनीहरूको बयान छ।

'मलाई दीपक भट्टसँग तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नै चिनजान गराई हाम्रो व्यापार व्यवसायमा सबै सरकारी निकायहरूमा कारोबारको सिलसिलामा निजले सहजीकरण गर्छन्, निजलाई साझेदारको रूपमा भित्र्याउँदा हाम्रो व्यापार व्यवसाय पछि देशबाहिर पनि विस्तार गर्न सहज हुन्छ, कम्पनीलाई अझ विकास गर्न सकिन्छ भने बमोजिम श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत अर्थात् ३ लाख ७५ हजार किस्सा सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले दीपक भट्ट सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्सको स्वामित्वमा रहेको हिमालयन एसेप्ट म्यानेजमेन्ट प्रालिका नाममा लगत कायम गरी बिक्री गरिएको हो। उक्त सेयर तत्कालीन अर्थमन्त्री पौडेलले सहजीकरण गरिदिएबापत दिएको हो', चुन्नप्रसाद र मालपानीले दुवैले बयानमा भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad