प्रसूति गराउने क्रममा लापरवाही गरेको ठहर गर्दै अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न चिकित्सकबाट ३९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।
उपभोक्ता अदालतले प्रसूति गराउने क्रममा मृत्यु भएकी काठमाडौँको गोठाटारकी मनिता शर्माको उपचारमा लापरवाही भएको ठहर गरेको हो। काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीले लापरवाही गरेको अदालतले फैसला सुनाएको छ।
उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको संयुक्त इजलासले बिहीबार यस मुद्दामा फैसला सुनाएको हो। एभरेस्ट अस्पताल र चिकित्सकले उपचारमा लापरबाही गरेको ठहर गर्दै पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउने आदेश आएको उपभोक्ता अदालतका प्रवक्ता होमनाथ कँडेलले बताए।
प्रवक्ता कँडेलका अनुसार, इजलासले पीडित पक्षलाई ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ। जसमा एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा. तिवारीबाट नौ लाख रुपैयाँ क्षतिपूर्ति भराउन भनिएको छ।
अदालतले उपचार प्रक्रियामा भएका कमजोरीलाई निर्णयको मुख्यआधार बनाएको प्रवक्ता कँडेलले बताए। ‘अस्पताल र उपचारमा संलग्न चिकित्सक दुवैको लापरवाही देखिएकाले क्षतिपूर्ति दिने गरी फैसला भएको छ,’ फैसलाबारे जानकारी दिँदै कँडेलले नेपालखबरसँग भने, ‘प्रि-एक्लेम्प्सियाको समस्या भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि अपरेसनअघि नदिई शल्यक्रियापछि मात्रै दिइएको विषयलाई उपचारमा भएको गम्भीर कमजोरीका रूपमा लिइएको छ।’
मनिता गर्भावस्थाको अवधिभर एभरेस्ट अस्पतालमा कार्यरत डा. तिवारीको नियमित निगरानीमा उपचार गराइरहेको फैसलामा उल्लेख छ। ३४ हप्ताको गर्भ रहेको मनिताको २०८१ मंसिर २५ गते डा. तिवारीले शल्यक्रियामार्फत बच्चा निकालेकी थिइन्।
मनिताका पति सुवास पराजुलीका अनुसार, पेटको माथिल्लो भाग दुखेपछि मनितालाई मंसिर २५ गते दिउँसो एभरेस्ट अस्पताल लगिएको थियो। उनलाई तत्काल इमर्जेन्सीमा भर्ना गरिएको थियो।
साँझ साढे ४ बजे शल्यक्रियाका लागि अपरेसन थिएटरमा लगिएको थियो। त्यही साँझ ५ बजेर १५ मिनेट जाँदा छोरीको जन्म भएको थियो।
पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको मनिताको शल्यक्रियामार्फत छोरीको जन्म भएपछि विभिन्न समस्या देखिन थालेका थिए। उनको मृत्यु भएको भयो।
त्यसपछि मनिताका पति सुवासले उपचारमा लापरवाही भएको भन्दै उपभोक्ता अदालतमा मुद्दा दाययर गरेका थिए। उनले क्षतिपूर्ति समेत माग गरेका थिए।
यो मुद्दा उपभोक्ता अदालतमा एक वर्षदेखि चलिरहेको थियो। बिहीबार फैसला सुनाउँदै उपभोक्ता अदालतले क्षतिपूर्ति भराउन आदेश दिएको हो।
अस्पतालविरुद्ध अदालत पुग्नुअघि पीडित परिवारले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए। काउन्सिलले न्याय नपाएपछि उनीरू अदालत पुगेका थिए।
Shares

प्रतिक्रिया