अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गरे तर त्यो देशका प्रमुख टेलिभिजनहरूले प्रसारण गरेनन्।
अमेरिकाका एबीसी टेलिभिजन, एनबीसी टेलिभिजन, सीएनएनलगायत नेटवर्कहरूले उनको सम्बोधन मुख्य च्यानलमा प्रसारण नगरेका हुन्।
कारण हो- ट्रम्पले झुट बोल्छन् भनेर।
त्यसपछि आक्रोशित ट्रम्पले षड्यन्त्र गरिएको आरोप लगाउँदै ती टेलिभिजनको प्रसारण लाइसेन्स नै खारेज गरिनुपर्ने चेतावनी दिएका छन्।
उनले भने, ‘एनबीसी र एबीसीजस्ता फेक न्युज नेटवर्कले मेरो भाषण नदेखाउने निर्णय गरेछन्। यस्तो ठगी गर्नेहरूको लाइसेन्स खारेज हुनुपर्छ।’
अमेरिकामा ४ महिनापछि मध्यावधि निर्वाचन हुँदै छ।
त्यही सन्दर्भमा ट्रम्पले बिहीबार राति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
तर अमेरिकाका तीन प्रमुख नेटवर्कमध्ये एबीसी र एनबीसीले आफ्नो मुख्य टेलिभिजन च्यानलमा ट्रम्पको भाषण प्रसारण गरेनन्।
सीएनएनले पनि नियमित टेलिभिजन च्यानलको सट्टा वेबसाइट र सदस्यता-आधारित डिजिटल प्लाटफर्ममा मात्र प्रत्यक्ष प्रसारण गर्यो।
सीबीएसले ट्रम्पको सम्बोधन प्रत्यक्ष प्रसारण त गर्यो तर उसले त्यसअघि नै निर्वाचनसम्बन्धी उनका धेरै दाबी गलत रहेको भनी दर्शकलाई सचेत गराएको थियो।
सम्बोधनको करिब १५ मिनेटपछि सीबीएसले प्रत्यक्ष प्रसारण रोकेर ट्रम्पका दाबीको तथ्य-जाँच पनि प्रस्तुत गरेको थियो।
यस्तै फक्स न्युजले पनि ट्रम्पको सम्बोधन प्रत्यक्ष प्रसारण गर्यो।
अमेरिकाको संविधानले सञ्चारमाध्यमहरूलाई कार्यक्रम प्रसारणका विषयमा स्वतन्त्र निर्णयको अधिकार दिएको छ।
एबीसीले ट्रम्पको सम्बोधन आफ्ना एबीसी न्युज लाइभ स्ट्रिमिङ सेवा र रेडियोमार्फत मात्र प्रसारण गरेको थियो भने एनबीसीले पनि मुख्य च्यानलको सट्टा एनबीसी न्युज नाउमा मात्र देखाएको थियो। यिनको पहुँच परम्परागत टेलिभिजन च्यानलभन्दा निकै कम छ।
आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकाको निर्वाचनमा चीनले हस्तक्षेप गरेको दाबी गर्दै केही गुप्तचर दस्तावेज सार्वजनिक गरेका थिए।
उनले इरानसँगको युद्ध जितिरहेको र अमेरिकी अर्थतन्त्र इतिहासकै उत्कृष्ट अवस्थामा रहेको दाबी पनि गरे।
रोयटर्सका अनुसार निर्वाचन सुरक्षाका विषयमा भने ट्रम्पले पुरानै दाबी दोहोर्याए।
ट्रम्पले अमेरिकामा सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेर आफूलाई हराइएको दाबी गर्ने गरेका छन्।
तर अमेरिकाकै गुप्तचर निकायले त्यस निर्वाचनमा चीनको भूमिका रहेको कुनै प्रमाण नभेटिएको निष्कर्ष यसअघि नै सार्वजनिक गरिसकेका छन्।
त्यही भएर डेमोक्र्याट नेताहरूले ट्रम्पले फेरि त्यही गलत दाबी दोहोर्याउने सम्भावना रहेको भन्दै केही टेलिभिजन नेटवर्कलाई उनको भाषण प्रत्यक्ष प्रसारण नगर्न आग्रह गरेको रोयटर्सले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया