कला


प्रियंका र दुर्गेशको ‘मास्टर्नी’ गीतको किन भइरहेछ आलोचना?

प्रियंका र दुर्गेशको ‘मास्टर्नी’ गीतको किन भइरहेछ आलोचना?

लक्ष्मी बलायर
साउन १, २०८३ शुक्रबार १५:३०, काठमाडौँ

ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा गत असार ३० मा एक भव्य कार्यक्रममाझ फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत सार्वजनिक भयो। गीत सार्वजनिक भएसँगै विवादमा तानिएको छ। गीतमा प्रयोग भएका द्विअर्थी शब्दलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आलोचना गरिरहेका छन्।

खासमा ‘मास्टर्नी’ अभिनेत्री प्रियंका कार्कीको डेब्यू लगानीमा बनेको फिल्म हो। फिल्मको जनरा क्राइम थिलर र मर्डर मिस्ट्रीको कथा भनिएको छ। जसमा प्रियंका नै मुख्य भूमिकामा छिन्।

यहि फिल्मको प्रमोसनका लागि दुर्गेश थापाले ‘मास्टर्नी’ गीत प्रियंकालाई उपहार स्वरुप दिएका थिए। दुर्गेश र प्रियंकाले गीत ‘दुस्मन हेरेको हेर्‍यै’ मा सहकार्य गरेका थिए। जुन गीत निकै चलेको थियो। त्यस बेलादेखि दुर्गेश र प्रियंका निकट छन्।

दुर्गेशकै शब्द, संगीत र स्वरमा यो गीत तयार भएको हो। साथै दुर्गेशलाई स्वरमा वविना किरातीले साथ दिएकी छन।

अहिले विशेषगरि, गीतका शब्दलाई लिएर सामाजिक सञ्जाल तातेको छ। 

यो गीतको भिडिओमा प्रियंका र दुर्गेशसहित आयुष्मान देशराज जोशी र आर्यन सिग्देल फिचर्ड छन्। गीतको पहिलो अन्तरामै दुर्गेशले ‘तारा बाजी लै लै, मास्टर्नी खोइ’ भन्दै बोलाउँछन्।

त्यसपछि प्रियंकाले जवाफ फर्काउँदै भन्छिन्:

म्याथ सिक्ने भए, सबैलाई जित्ने भए
ट्युसन पठाइदिन्छु, बेलुका घरमा आए।
युआर नटी ब्वाइ, युआर हटी ब्वाइ
युआर डर्टी ब्वाइ।

त्यसपछि दुर्गेशले अन्तरामा भन्छन्:

क ख ग होइन्, हामीलाई अ आ पढाइदेउ
तिम्रो सेक्सी नजरले घायल गराइदेउ
तिम्रो आनीबानी सबै मन पर्ने!
अरे
! मास्टर्नी, अब के गर्ने?

हुन त यो गीत फिल्मभित्र समावेश छैन। तर, गीतमा प्रयोग भएका यस्तै द्विअर्थी हरफ र नृत्यको हाउभाउले शिक्षिकाको पेशागत संवेदनशीलतामाथि प्रहार गरेको छ।

‘म्याथ सिक्ने भए बेलुका घरमा आउँ’ भन्ने शब्दहरू अस्वाभाविक सुनिन्छन्। अझ ‘क ख ग होइन्, हामीलाई अ आ पढाइदेउ’ जस्तो हरफले दुर्गेश र प्रियंका सस्तो लोकप्रियताको लागि जे पनि गर्न तयार भएको देखिन्छ। यसले शिक्षणजस्तो मर्यादित पेशाको अपमान गरेको भन्दै विरोध भइरहेको छ।

शुक्रबार बिहानै नेपाल शिक्षक महासंघले यस गीतप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल बन्द गर्न माग गरेको छ। यस गीतले महिला शिक्षक र शिक्षण पेशाकै गरिमामा गम्भीर प्रहार गरेको महासंघको भनाइ छ।

‘आगामी भदौ ५ गतेबाट प्रदर्शनका लागि प्रचार गरिएको नेपाली चलचित्र मास्टर्नीको प्रवर्द्धनात्मक (प्रमोसनल) सामग्रीका रूपमा भर्खरै सार्वजनिक भएको गीतप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेशाको गरिमा माथि गम्भीर प्रहार गरेको छ,’ महासंघले भनेको छ, ‘त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ।’

सस्तो प्रचारप्रचारका लागि पेशामाथि नै आँच आउने शब्द प्रयोग गरेकोप्रति शिक्षकहरूले विरोध जनाएका छन्। यद्यपि, अहिलेसम्म यो युट्युबबाट हटाइएको छैन। दुर्गेश र प्रियंकाबाट पनि कुनै जवाफ आएको छैन।

गीतको आलोचना सुरु भएसँगै भ्युज भने बढिरहेको छ। यो गीत १० लाखभन्दा बढी पटक हेरिइसकेको छ।

गीत सार्वजनिक कार्यक्रममा दुर्गेश र प्रियंकालाई द्विअर्थी शब्दको प्रयोगबारे प्रश्न सोधिएको थियो। जवाफमा दुर्गेशले राम्रो दिमागले सुने राम्रै लाग्ने जवाफ दिएका थिए।

‘तपाईंको सुनाइ कस्तो छ भन्ने कुरा हो। डर्टी माइन्डले सुन्यो भने डर्टी नै सुनिन्छ। राम्रो माइन्डले सुन्यो भने राम्रो नै सुनिन्छ। तपाईंले घर गएर १० चोटी सुन्नुपर्ला,’ उनले भनेका थिए।

दुर्गेशले गणितभन्दा आफूलाई मजा नलागेकोले म्याथ शब्दको प्रयोग गरेको स्पस्ट पारेका थिए। उनले भनेका थिए, ‘इङ्लिस वर्ड पनि सुन्नुस् न तपाईंले। इङ्लिसमा भन्या हो म्याथ भनेर। कि गणित भन्नुपर्‍यो। गणितभन्दा मजा आएन के मलाई। मलाई म्याथ भन्दा मजा आयो।’

सधैं चर्चा र विवादमा आइरहने दुर्गेशले यसअघि पनि द्विअर्थी लाग्ने गीतहरू ल्याइसकेका छन्। जुन गीतहरू पनि विवादित बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad