अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका रहेको फिल्म ‘गौँथली’ प्रदर्शनमा आएको छ। देशभरका हलमा दुई सयभन्दा धेरै शो पाएको सिनेमा आज देशभर रिलिज भएको हो।
प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो व्यापार गर्नेमा निर्माण टिमको विश्वास छ। प्रिमियरमा सिनेमा हेरेकाले विषय, अभिनय र प्रस्तुतिले दर्शकलाई तान्ने प्रतिक्रिया दिएपछि निर्माण टिम त्यसको सकारात्मक प्रभाव हलमा देखिनेमा ढुक्क छ।
केही हलमा दर्शकको शो उच्च देखिएको छ। बिहीबार नै केही शोमा अकुपेन्सी धेरै देखिएको थियो।
फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
‘गौँथली’लाई कपिल रिजालले निर्देशन गरेका छन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्।
निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन्।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ।
Shares

प्रतिक्रिया