भारतको राजधानी दिल्लीको जन्तरमन्तरमा आमरण अनशनरत वातावरणीय अभियन्ता सोनम वाङचुकले अनशनको २०औँ दिन आज समर्थकहरूलाई सम्बोधन गरेका छन्।
यस क्रममा उनले बाहिरबाट कमजोरजस्तो देखिए पनि भित्रबाट आफू धेरै बलियो रहेको बताए।
उनले भने, ‘मलाई आशा छ- तपाईंहरू पनि भित्र र बाहिर दुवैतिर धेरै बलियो हुनुहुनेछ। जुलाई २० सम्ममा हामीलाई यो शक्ति चाहिन्छ, जब हामी धेरै शान्तिपूर्ण तरिकाले संसदमा मार्च गर्नेछौँ।’
उनले थपे, ‘म कुनै पनि हालतमा जुलाई २० सम्म बाँच्नेछु। यदि तपाईं आउनुभएन र जुलाई २० सफल भएन भने म भूत बनेर फर्कनेछु।’
भारतीय कंग्रेसका नेता पवन खेराले पनि सोनम वाङचुकसँग भेट गरेका छन्।
खेराले भने, ‘हामी सबै सोनम वाङचुकको स्वास्थ्यप्रति चिन्तित छौँ। धेरै असंवेदनशील सरकार छ, जसले लोकतान्त्रिक विरोधको भाषा बुझ्दैन।’
उनले थपे, ‘यस्तो सरकारको अगाडि विरोधको तरिका परिवर्तन भइरहनुपर्छ। हामी उहाँको स्वास्थ्यबारे चिन्तित छौँ, हामी त्यहाँ बसिरहेका बालबालिकाको स्वास्थ्यबारे पनि चिन्तित छौँ। आफ्नो ज्यान जोखिममा पारेर तपाईं यो सरकारबाट केही पनि प्राप्त गर्न सक्नुहुन्न।’
Shares

प्रतिक्रिया