विश्व फुटबलमा लियोनल मेसी र लमिन यमाल चिरपरिचित नाम हो।
यिनै दुई खेलाडी अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकपको उपाधिका लागि भिड्ने भएका छन्।
युरोपेली च्याम्पियन स्पेनले फाइनलमा साबिक विजेता अर्जेन्टिनासँग भिड्ने तय हुँदा मेसी र लमिन यमालको भेट पक्का भएको हो।
मेसी र यमालको यो दोस्रो भेट हुनेछ। तर अहिले उनीहरुको पहिलो भेटको एउटा तस्बिरले बढी चर्चा पाइरहेको छ।
सामाजिक सञ्जालहरुमा भाइरल तस्बिरमा मेसी एउटा सानो बच्चालाई नुहाइदिँदै छन्। र, त्यो सानो बच्चा अरु कोही नभएर तिनै लमिन यमाल हुन्। जति बेला मेसी भर्खर २० वर्षका थिए भने यमाल सानो शिशु।
न्युजर्सी इस्ट रथरफोर्डमा आइतबार राति मैदानमा पहिलोपटक भेट्दै गर्दा १९ वर्षीय यमाल र ३९ वर्षीय मेसीमा सबैको आँखा पर्नेछ।
त्यो तस्बिर एउटा इभेन्टमा खिचिएका तस्बिरहरुमध्ये एक थियो। जुन दुई वर्षअघि स्पेन युरोपियन च्याम्पियन बन्दै गर्दा अनलाइनमा पुनः देखिएको थियो।
त्यो तस्बिर भने हुआन मनफर्टले खिचेका थिए। युनिसेफसँगको सहकार्यमा क्याटलान पत्रिका डियारियो स्पोर्टले एउटा च्यारिटीमा उपस्थित हुनेका लागि मातारोको रोका फोन्डामा एउटा कार्यक्रम गरेको थियो। जहाँ लमिनको परिवार बस्थ्यो। उनीहरुले पनि नाम दर्ता गरेका थिए। भाग्यवश उनीहरु छानिए। त्यसपछि क्याम्प नाउको च्यारिटी कार्यक्रममा बार्सिलोनाका खेलाडीसँग फोटो खिचाउने अवसर मिलेको थियो।
लमिन र उनकी आमा शिला इबानाले भिजिटर लकर रुममा सन् २००७ को त्यही कार्यक्रमको दौडान मेसीलाई भेट्न पाएका थिए। त्यही भेटको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो।
त्यो क्षणमा मेसी चेन्जिङ रुममा पानी भरिएको बाथटब खोज्दै प्रवेश गरेका थिए। त्यसभित्र तिनै यमाल थिए। सुरुमा यमाललाई कसरी बोक्ने अलमलमा मेसी परेका थिए। त्यसपछि नै यो फोटो खिचिएको थियो।
यमालले बार्सिलोनामा १५ वर्ष ९ महिना १६ दिनको हुँदा डेब्यु गरेका थिए। उनले अहिले तीन ला लिगा जितिसकेका छन् भने स्पेनसँग सन् २०२४ को युरो पनि जितेका छन्। उनले संसारको उत्कृष्ट खेलाडीमा आफूलाई पनि स्थापित गरिसकेका छन्।
Shares

प्रतिक्रिया