World Cup 2026


पेले–म्याराडोनादेखि मेसीसम्म : ९१ वर्षमा १८औँ विश्वकप कभर गरिरहेका मकाया

‘चेकोस्लोभाकियासँग अर्जेन्टिनाको ६–१ को पराजयले अहिले पनि घोचिरहन्छ’
पेले–म्याराडोनादेखि मेसीसम्म : ९१ वर्षमा १८औँ विश्वकप कभर गरिरहेका मकाया

स्विडेन १९५८ विश्वकपयता उनले लगातार कभर गरिरहेका छन्। (Getty Image/BBC)


एलिजाबेथ कनवे
असार ३१, २०८३ बुधबार १४:४९, काठमाडौँ

यस्तो लाग्छ, उनीसँग जो पनि फोटो खिच्न चाहन्छ। उनी अर्थात् अर्जेन्टिनाका ९१ वर्षीय खेल पत्रकार एनरिक मकाया मार्किज। 

अर्जेटिनाका प्रशिक्षक लियोनल स्कालोनी विश्वकप समूहचरणको जोर्डनसँगको खेलअघि उनै मार्किजसँग उभिए, फोटो खिचाए।

मकायाको करिअरको आफ्नै कथा छ। झण्डै ७ दशक लामो करिअर। उनले लगातार १८औँ विश्वकप कभर गरेका छन्। सन् १९५८ को विश्वकप उनको पहिलो थियो। जहाँ १७ वर्षका पेलेले खेलेका थिए। 

त्यतिखेर मकाया २४ वर्षका थिए। विश्वकपका लागि उनलाई स्विडेन पठाइएको थियो। उनलाई अस्ट्रियाविरुद्ध पेलेको ब्राजिलको खेल कभर गर्ने जिम्मेवारी दिइएको थियो। तर विश्वकपको पहिलो सम्झना नै तीतो रह्यो। जुन उनको मानसपटलमा ‘डिजास्टर अफ स्विडेन’ बनेर बसेको छ। अर्जेन्टिना चेकोस्लोभाकियासँग ६–१ ले पराजित भयो। 

‘यसले सधैँ मलाई घोचिरहन्छ, अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका लागि ठूलो हार थियो’, उनी भन्छन्, ‘न सूचना, न डेटा, हामीलाई चेकोस्लोभाकियाबारे केही नि थाहा थिएन। हामीलाई आश्चर्यमा पारिदिए।’ 

झण्डै ७ दशक हुनलाग्दा मकायाले ज्यादाजसो फुटबल रुपान्तरण देखेका छन्। 

उनले पेले, डिएगो म्याराडोना, लियोनल मेसी र अन्य धेरै ठूला खेलाडीहरुको रिपोर्टिङ गरे। 

टिभीहरु डिजिटल र तथ्यांकहरु तात्कालिक भइसकेका छन्। विश्वकप विश्वप्रतिष्ठित रुपमा विस्तार भएको छ।

र, एउटा चिज भने अपरिवर्तित अवस्थामै छ। त्यो हो– मकाया निर्णय दिन हतारिँदैनन्। 

त्यो सिद्धान्तले उनको दृष्टिकोणलाई आकार दिएको छ। सन् २०१८ मा अर्जेन्टिनाको व्यवस्थापकको रुपमा स्कालोनीलाई अनपेक्षित नियुक्ति दिइएको थियो। 

‘मलाई कुनै आशा नै थिएन’, डीस्पोर्ट्स रेडियोमा कमेन्टेटर उनी भन्छन्, ‘उनीबारे मलाई थाहै थिएन।’

स्कालोनी तिनै व्यक्ति हुन्, जसले अर्जेन्टिनालाई कोपा अमेरिका, फिनालिसिमा र विश्वविजेतासम्म बनाए। जुन फुटबलको ठूलो सफलताको कथामध्येको एउटा हुनपुगेको छ। 

‘कसैप्रति एउटा गहिरो, पूर्ण बुझाइविना तपाईंले दृष्टिकोण बनाउन सक्नुहुन्न’, उनी भन्छन्।

डलासमा अर्जेन्टिनाको पत्रकार सम्मेलनका बेला मकायासँग स्कालोनी

मेसी कि म्याराडोना? 
अर्जेन्टिनाले एकपटक फेरि विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको छ र पुरानो प्रतिस्पर्धी इंग्ल्यान्डसँग बुधबार राति खेल्दै छ। 

मकायालाई लाग्छ– यसपटक पनि २०२२ को उनीहरुको सफलता दोहोरिँदै छ। 

‘हो त, उनीहरुले जित्न सक्छन्’, उनी भन्छन्, ‘के होला भनेर सम्भावना र भविष्यको कुरा गर्दा अर्जेन्टिनाले हराउन सक्छ भन्ने लाग्छ।’

मेसी उनलाई मन पर्ने खेलाडी हुन्। 

तर जब सर्वकालिक महान् खेलाडीबारेको प्रश्न आउँछ, उनी उत्तरमा केवल मुसुक्क हाँस्छन्। 

‘यो प्रश्नले मुस्कानको अपेक्षा गर्छ’, उनी थप्छन्, ‘खेलाडीलाई इतिहासबाट मापन गर्ने बाटो नै छैन।’ 

‘समय बदलिएको छ। प्रतिस्पर्धीहरु फेरिएका छन्। हरेक खेलाडी विशेष छन्। सबैभन्दा धेरै मन पर्ने खेलाडीबारे म व्यक्तिगत रुपमा भन्न सक्छु तर यसको मतलब त्यो खेलाडी इतिहासकै सर्वोत्कृष्ट भन्ने होइन’, उनी भन्छन्। 

यो त्यस्तो उत्तर हो जसले मकाया किन लामो समयदेखि सम्मानित छन् भन्ने बुझ्न मद्दत गर्छ। निश्चित वरीयताभन्दा उनी सूक्ष्म पक्षहरुलाई बढी ध्यान दिन्छन्। 

मेसी र अर्का प्रतिभावान् डिएगो म्याराडोनाबारे उनीसँगको कुराकानीमा यही कुरा लागू हुन्छ। 

‘चिसो तुलना बनाउन यो साह्रै कठिन कुरा हो’, उनी भन्छन्। किन? 

‘प्रतिस्पर्धीहरु फरक थिए, आवश्यकताहरु भिन्न थिए। टोलीका साथीको सहयोग छुट्टै थियो। हरेकसँग आफ्नै जीवन र आफ्नै इतिहास थियो’, उनको जवाफ छ। 

र, सन् १९७० मा पेलेको ब्राजिल र सन् १९८६ मा म्याराडोनाको अर्जेन्टिनाबारेको जिज्ञासामा पनि उनको जवाफ उस्तै छ। 

‘उनीहरुलाई तुलना गर्ने बाटो नै छैन’, उनी भन्छन्, ‘शैली नै पूर्णतया फरक छ।’ 

त्यसो त जति जितमा रमाउन सहज हुन्छ, मकाया भन्छन्– पराजितले झन् धेरै अर्थ राख्छ। 

‘धेरै सम्झनलायक खेलहरु छन्’, उनी भन्छन्, ‘हारेका नतिजाहरु पनि त्यही सम्झनाका हिस्सा हुन्।’

एउटा अर्जेन्टिनीका लागि विश्वकप जित्नु एउटा खास कुरा हो। 

‘विश्वकप जित्नु नै मेरो विशेष सम्झना हो र म्याराडोनाकोमा त मलाई लाग्छ त्यो ट्रफीले उनलाई जीवनभरि खोजेको सफलता दिलायो– एउटा विश्व विजेता।’, उनी भन्छन्। 

विश्वकै ठूलो खेल प्रतियोगितालाई ७० वर्षसम्म कभर गरिसकेका उनको आफ्नै करिअर अब अवकाशको नजिक आइपुगेको छ। 

‘सायद अब अवकाश लिन्छु होला’, उनी हाँस्छन्। बीबीसीबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad