कला


ढाका–धोती : मधेश–पहाड जोड्ने र्‍याप

ढाका–धोती : मधेश–पहाड जोड्ने र्‍याप

यज्ञराज जोशी
साउन ९, २०७७ शुक्रबार १०:३६,

सुन कान खोली तोरा बोली हिमाल पहाड तराईके
देशके छोरा
भेदभाव जे कर्ले ओका खिचके लापेटा
अब सुनल जजा मधेश मे हिपहप कैसिन होला
देखा चलो

बुधबारमात्रै रिलिज भएको मधेशी र्‍याप गीत ‘ढाका–धोती’को यो अंश यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। अबधी भाषामा रहेको यो अंशको नेपाली अर्थ यस्तो हुन्छः

सबै कान खोलेर सुन, हिमाल पहाड तराईदेखि
देशको छोरा बोल्दैछ
भेदभाव जसले गर्छ त्यसलाई गालामा लपेटा
अब सुनौं मधेशमा हिपहप कसरी हान्छ

मधेशी भूभागमा बोलिने अबधी भाषाको यस र्‍यापमा राष्ट्रिय एकताको भाव बोकेकै कारण भाषा प्रष्ट नबुझ्नेहरुले पनि यो गीत मन पराइरहेका छन्।

गीतमा पहाडी भूभागको पहिरन ढाकाटोपी र तराईको पहिरन धोती लगाएर दुई युवा र्‍याप शैलीमा प्रस्तुति गरेका छन। रुपन्देहीका यी दुबै युवाको कन्सेप्टमा जन्मिएको हो, ‘ढाका–धोती।’

सुरज क्षेत्री (भियोमा) र दीपक काहार (डी वान) तीनमहिनाअघि युटूयुबमा निःशुल्क पाइने ‘बिट’हरु सुनिरहेका थिए। त्यतिबेलै उनीहरुले यो गीतको संगीत तय गरेका हुन्।

‘लौ यही म्युजिकमा एउटा गीत गरौं न त भन्ने सल्लाह भयो र त्यसपछि दुबैले गीतमा काम गर्न थाल्यौं,’ बुटवलमा रहेका सुरजले भने, ‘नेपाली भाषामा धेरै र्‍यापहरु छन। तर, मधेशी भाषामा थिएनन। यस क्षेत्रमा पनि र्‍यापलाई प्रवद्र्धन गरौं भनेर अबधी भाषामै गर्ने सल्लाह भएको हो।’

गीतको ‘हुक’ र ‘ब्रिज’ सुरजले लेखेका हुन भने भर्स (र्‍याप गाइएको कविता) दीपकले।

No description available.सुरज क्षेत्री यस गीतका लेखक तथा गायक हुन्

युटूयुबमा ‘बिट’ सुनेपछि आफूले एकैपटकमा लेखेको र दीपकले पनि दुई–तीन दिनमा बाँकी काम सकाएको उनले बताए।

‘भौगोलिक र जातजातिका हिसाबले बाँडिएका मान्छेहरु एउटै गीतमा समेटौं भनेर त्यहि कन्स्पेप्टमा लेख्न थालेका हौं,’ उनले भने, ‘सबैलाई जोडोस् भनेर सरल शब्दहरु राख्यौं। गीत पनि सरल रुपमा बगेकाले धेरैले मन पराइदिनुभयो।’

यो गीतको बजेट एकदमै सानो छ। निर्माणमा जम्माजम्मी ३५ हजार रुपैयाँ खर्च भएको गीतलाई सबैले मन पराइदिँदा उनीहरु प्रफुल्ल छन।

भिडियो बनाउँदा सबै स्थानीय स्रोत साधन र घरवरपरकै मानिसहरु प्रयोग गरिएको सुरजले बताए।

चारवर्ष अघि फुटबल खेल्दा सुरजको खुट्टा फ्याक्चर भएको थियो। त्यसपछि उनले ६–७ महिना बेडरेस्ट गर्नुपर्ने भयो। त्यहीक्रममा उनको म्युजिकतर्फ रुचि जागेको हो।

त्यसपछि उनका डेढ दर्जन गीत सार्वजनिक भइसकेका छन। जसमध्ये ‘स्ट्रेट आउट बुटवल’ बोलको र्‍याप गीतलाई दर्शकले रुचाएका छन।

No description available.

संगीत यात्राकै क्रममा सुरजको भेट दीपकसँग भएको थियो। मधेशीमूलका दीपक भिडियोमा पहाडीमूलको पहिरन ढाका टोपी लगाउँदै र्‍याप हानिरहेका छन। उनले अझैपनि समाजमा पहाड मधेशबीच भेदभाव रहेकाले त्यसलाई हटाउन गीतमार्फत सन्देश दिन खोजेको बताए।

‘तराईको, पहाडको भन्ने भेदभाव अहिलेपनि हाम्रो समाजमा छ। हामी त्यही सुन्दै हुर्कंदै आएका हौं,’ उनले भने, ‘यस्ता भेदभावलाई हटाउन थोरै भएपनि गीतका माध्यमबाट चेतना ल्याउन सकिन्छ कि भनेर गीत ल्याएका हौं। मान्छेहरुले मन पराइदिनुभएको छ। यसले परिवर्तन पनि आओस भन्ने अपेक्षा छ।’

‘ढाका–धोती’ गीतको भाग दुई ल्याउने तयारी उनीहरुको छ। त्यसका लागि यी दुई युवाले गीत समेत लेखिसके।

तर, पहिलो भागले निकै चर्चा पाएपछि अर्को भागलाई अझै राम्रो गीत निकाल्ने जिम्मेवारी थपिएको र आफुहरुले त्यहिअनसार तयारी गरेको सुरजले बताए।

भिडियो:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .