वैसाख ३० गते यता नभेटेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ करिब २ घण्टा भलाकुसारी भयो।
हुन त उनीहरु पार्टीभित्रको देखिएका समस्या समाधानबारे छलफल गर्न जुटेका थिए। स्वभावतः आपसी सञ्चो विसञ्चोबारे खैखबरी हुने भइनै हाल्यो। भेटमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई के छ हालखबर भनेर सोधे।
केही दिनदेखि जनैखटिरो आएर हैरान भएका नेता नेपालले जवाफ दिए, ‘हेर्नु न कमरेड दुई तीन दिनदेखि जनै खटिरा आएर हैरान भएँ, दुख्न नि खुब दुख्दो रैछ।’
नेपालले यति भनेपछि सबै विषयको ज्ञान भएझैं गरी धाराप्रवाह अभिव्यक्ति दिने अध्यक्ष ओलीले जनै खटिरो कसरी निको हुन्छ भनेर सुझाए।
‘कालो तिल चबाएर खटिरा भएको ठाउँमा लगानुस् निको हुन्छ,’ ओलीले नेता नेपाललाई व्याख्यासहित बताए।
‘लगत्तै माधव कमरेडले घरमा श्रीमतीलाई फोन गरे कालो तिल छ कि छैन भनेर सोध्नुभयो,’ ओली र नेपालको संवाद सुनिरहेका एक नेताले नेपालखबरसित भने, ‘उताबाट किन भनेर प्रश्न आयो, माधव कमरेडले कालो तिल लगाएपछि जनैखटिरा निको हुने रैछ भन्नुभयो।’ छलफलस्थलमा ओली र नेपालको नजिकै रहेका ती नेताले सुनाएअनुसार फोनमा नेपालपत्नी गायत्रीले ‘कुन उट्पट्याङले सुनायो यस्तो कुरा भनेर सोधेकी थिइन्।’
अध्यक्ष ओलीले विहीबार नाष्टको कार्यक्रममा जनैखटिरो कसरी निको हुन्छ भनेर बुधबार बेलुका नेताहरुलाई नेपाललाई दिएको टिप्स सम्झिँदै भने, ‘मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो। पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधि चाहीँ बताईदिएँ। म आफैलाई पानीसरा भएको थियो। पानीसरा अत्यन्तै पोल्छ। र दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिवरमा लान्छ त्यसले। साधारण औषधि कालो तिल आफैले चपाएर थपकथपक लगाईदियो भने, विमारीले चपाउन पनि आनन्द मान्छ। र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाईदियो भने। लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टा भित्र सुक्छ। त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो।’
प्रतिक्रिया