एक जना १११ वर्षीय बेलायती नागरिक संसारकै जेठो पुरुष मानिस घोषित भएका छन्।
नयाँ नयाँ कीर्तिमानको अभिलेख राख्ने गिनिज वर्ल्ड रेकर्ड्सले बेलायतका जोन अल्फ्रेड टिनिसवुडलाई संसारकै वृद्ध पुरुषको रुपमा आधिकारिक अभिलेख राखेको हो।
यसअघि यो कीर्तिमान भेनेजुएलाका १ सय १४ वर्षीय हुवाँ भिसेन्टे पेरेजको नाममा थियो। उनको मृत्युपछि जोनले कीर्तिमान आफ्नो नाममा राखेका हुन्। पेरेजपछि जापानका गिसाबुरो सोनोबे १ सय १२ वर्षका रहे पनि गत मार्च ३१ मा उनको पनि मृत्यु भइसकेको छ।
टिनिसवुड सन् १९१२ को अगस्ट २६ मा जन्मिएका थिए। उनी अहिले पनि हिँड्डुल गर्न सक्छन्। दैनिक रेडियो सुन्न रुचाउने उनी आफ्नो दीर्घायुलाई विशुद्ध भाग्यको देन ठान्छन्।
‘लामो समय तपाईं बाँच्नुहुन्छ कि छोटो समय’, उनी भन्छन्, ‘यसमा तपाईं केही धेरै गर्न सक्नुहुन्न।’
टिनिसवुड आफूले खानामा कुनै विशेष भन्ने नरहेको बताए। तर उनी सबै कुरा मिलाएर गर्ने आनीबानीले आफूलाई स्वस्थ राख्न सकेको बताउँछन्।
‘यदि तपाईं धेरै पिउनुहुन्छ वा खानुहुन्छ वा हिँड्नुहुन्छ, कुनै पनि कुरा धेरै गर्नुहुन्छ भने अन्ततः तपाईंलाई समस्या आउनसक्छ’, उनले भने।
त्यही बानीबाट जोगिँदा आफू स्वस्थ रहेको उनको भनाइ छ।
टिनिसवुडका एक छोरी, चार नातिनातिनी र तीन पनातिपनातिनी छन्।
पुरुषमा उनी नै जेठा भए पनि महिलामा भने स्पेनकी मारिया ब्रान्यास मोरेरा छिन्। १ सय १७औँ जन्मदिन उनले मार्चमा मनाइन्। संसारमा धेरै बाँच्ने मानिस पनि उनी नै हुन्। एजेन्सी
Shares
प्रतिक्रिया