क्यानडाका एक व्यक्ति बाह्रसिंगेको सिङ खस्दै गरेको अत्यन्त दुर्लभ दृश्य खिच्न सफल भएका छन्। पूर्वी क्यानडामा ‘ट्रेजर हन्ट’ गर्ने डेरेक बर्गोइनले भाग्यवश यस्तो मौका पाएका हुन्।
उनले ड्रोनको सहायताले न्यु बर्न्सविक क्षेत्रमा मेपल र बर्च वृक्षको भिडिओ खिचिरहेका थिए। त्यहीबेला उनले तीन वटा बाह्रसिंगे देखे।
टाउकोमाथि ड्रोन उड्दै आएपछि ती बाह्रसिंगे भाग्न थाले। बर्गोइनले एउटा भालेको पिछा गर्न थाले।
दौडिनुअघि सो बाह्रसिंगेले आफ्नो शरीरबाट हिउँ खसाउन ज्यान हल्लाउन थाल्यो। त्यहीबेला उसको टाउकोबाट सिङ झर्न पुग्यो।
‘बाह्रसिंगेले सिङ खसाएको मैले पहिले पनि देखेको छु। तर, यो अर्कै तहको कुरा हो,’ उनले भने, ‘वन्यजन्तुको फोटो खिच्ने मामिलामा यो चिट्ठा परेजस्तो हो। यहाँभन्दा गतिलो पाउन सकिन्न।’
उत्तर अमेरिकामा पाइने यो प्रजातिको बाह्रसिंगे हिउँद लाग्न थालेपछि शारीरिक रुपले परिवर्तन हुन्छ। अलि पाको भाले बाह्रसिंगेले उर्जा बचाउन सिङ खसाउँछ। वसन्तमा उसको सिङ फेरि पलाउँछ।
हिउँ पग्लेपछि खसेका सिङ भेटिन्छन्। तर, सिङ खसाउँदै गरेको दृश्य चाहिँ दुर्लभ हो। द गार्डियन
प्रतिक्रिया