ad ad

रोचक


घुम्न बाँकी एउटै मुलुक नभएपछि जसले घोषणा गरे आफ्नै ‘देश’

घुम्न बाँकी एउटै मुलुक नभएपछि जसले घोषणा गरे आफ्नै ‘देश’

नेपालखबर
असार १६, २०८० शनिबार १८:५४,

‘म यसलाई सरल तरिकाले भन्न चाहन्छु। सबै मुलुक घुमेर सकिए। त्यही भएर मैले आफ्नै देश बनाएँ,’ स्लोजामस्तानका सुल्तान भनेर चिनिने सान डिएगोका स्लो जाम्स डीजे र्‍यान्डी विलियम्स भन्छन्।

रेडियो प्रस्तोता विलियम्सले विश्वका हरेक मुलुक घुमेरै जीवन बिताए। राष्ट्रसंघले मान्यता दिएकामध्ये एक मुलुक मात्र घुम्न बाँकी हुँदा उनले क्यालिफोर्नियाको मरुभूमिमा ११.०७ एकड जमिन किने। त्यसैलाई उनले नयाँ मुलुक भन्न थाले। 

आफ्नो सबैभन्दा राम्रो सुट र चस्मा लगाएर स्लोजामस्तानका यी सुल्तानले १ डिसेम्बर २०२१ मा दिउँसो १२ः२६ बजे अमेरिकाबाट औपचारिक स्वतन्त्रताको घोषणा गरे। रिपब्लिक अफ स्लोजामस्तानको राजधानी डबल्यान्डियास्थित खुला आकासमुनिको सरकारी ‘कार्यालय’बाट उनले लाइभ गर्दै सो घोषणा गरेका थिए।

दुई वर्ष बित्दा उनले केही अनौठा कानुन पनि बनाएका छन्। उदाहरणका लागि क्रक्स लगाउन उनले प्रतिबन्ध लगाएका छन्। त्यसमाथि यो गणतन्त्रको आफ्नै व्यवस्था छ। जसको आफ्नै पासपोर्ट, आफ्नै झण्डा, आफ्नै मुद्रा र राष्ट्रिय गान समेत छ।

आफ्ना पाँच सय नागरिक रहेको स्लोजामस्तानको दाबी पनि छ। त्यस्तै ४५ सय जनाले नागरिकताका लागि आवेदन दिएको उसको भनाइ छ। 

‘जब म रेडियोमा हुन्नँ, तब म धेरैजसो मान्छेले नाम समेत नसुनेको मुलुकको भ्रमणमा हुन्छ,’ घुम्न बाँकी एक मात्र मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जानुअघि उनले भने, ‘मैले स्लोजामस्तान घोषणा गर्नुको एउटा कारण १९३ देश घुमिसकेपछि १९४ औँ देशको आवश्यकता महसुस भयो।’

विलियम्सको स्वघोषित यो ‘देश’ सान डिएगोबाट उत्तरपश्चिमतर्फ अढाई घण्टा यात्रा गरेपछि हाइवेको किनारमा छ। जमिनको यो सानो टुक्रो मरुभूमिजत्तिकै छ। तर, विलियम्सले सडक किनारामा ‘वेलकम टु स्लोजामस्तान’ लेखिएको विशाल बोर्ड ठड्याएका छन्। 

विश्व भ्रमणका क्रममा स्वशासित इलाकाहरु देखेर आफ्नै मुलुक घोषणा गर्न उत्प्रेरित भएको उनको भनाइ छ।

२०२१ मा उनले रिपब्लिक अफ मोलोस्सिया घुमे। नेभाडास्थित ११.३ एकडको यो इलाकाले १९९८ मा अमेरिकाबाट स्वतन्त्रता घोषणा गरेको थियो। जहाँ उनलाई ‘महामहिम राष्ट्रपति केभिन बो’ आफैँले घुमाएका थिए। 

त्यहाँ जाँदा उनले थाहा पाए, मोलोस्सिया अस्तित्वमै नरहेको पूर्वी जर्मनीसँग ‘युद्ध’ मा रहेछ, त्यहाँको मुद्रा सुनको सट्टा कुकिजमा आधारित रहेछ। र, त्यसको सीमामा पासपोर्टमा छाप हानिँदो रहेछ। 

सान डिएगो फर्केपछि उनले पनि आफ्नै मुलुक बनाउने योजना निर्माण गरे। १९ हजार डलर तिरेर उनले जमिन किने र डिसेम्बर २०२१ मा स्लोजामस्तानको स्वतन्त्रता घोषणा गरे।

 

मरुभूमिका तानाशाह
‘हामीकहाँ धेरैजसो समय तानाशाही चल्छ,’ उनी भन्छन्, ‘खासखास बेला हामी चुनाव र जनमतसंग्रह पनि गर्छौँ। हालै मैले नागरिकहरुलाई हाम्रो राष्ट्रिय फल, खेल र जनावर के हुने भन्नेबारे निर्णय गर्न मतदानको अनुमति दिएँ।’

‘गणतन्त्र’ भनिने मुलुकमा तानाशाह सुल्तान अमिल्दो देखिन्छ। तर, उनले देखाउन खोजेकै त्यही हो। उत्तर कोरियालगायतको भ्रमणमा उनले आफ्नै आँखाले त्यस्ता असुहाउँदो व्यक्तिपूजा देखेका थिए। 

सुल्तानको हरियो पहिरन लगाएर फोटो खिचाउन र भाषण गर्न विलियम्सलाई मन पर्छ। नक्कली सैन्य पदवी, झुम्का र चश्मा ढल्काउन उनलाई मन पर्छ। उनी ‘सीमा रक्षक’ हरु खटाउँछन् र कुनै समारोह आयोजना गर्दा रक्षकहरुबाट घेरिन्छन्। 

सुल्तानको चरित्र राजनीति र तानाशाहीमा उनले देखेको निरर्थकताको प्रतिनिधित्व हो। 

यहाँको नागरिकता र मन्त्री पदका लागि वेबसाइटमार्फत आवेदन दिन सकिन्छ। 

अहिले उनले पर्यटकका लागि सीमा खुला गरेका छन्। स्लोजामस्तानमा पर्यटकले गर्ने सबैभन्दा लोकप्रिय गतिविधि भनेको बोर्डअगाडि सेल्फी खिच्नु, स्वतन्त्रता चोक घुम्नु र राष्ट्रिय जनावर राकन हेर्नु हो। 

अब पैसा उठाएर एउटा नदी खन्ने, सालक फार्म बनाउने, बीबीक्यू बनाउने र महान् नेता (आफ्नै) को विशाल सालिक स्थापना गर्ने उनको योजना छ।

उनले अन्य मुलुकसँग कूटनीतिक सम्बन्ध गाँस्ने प्रयास पनि गरिरहेको बताएका छन्। पछिल्ला भ्रमणहरुबाट उनले दक्षिण अफ्रिका, न्युजिल्यान्ड, भानुआतु र अमेरिकासहित १६ वटा मुलुकबाट स्लोजामस्तानको आफ्नो पासपोर्टमा छाप समेत हान्न लगाएका छन्।

१९३३ को मोन्टेभिडेओ कन्भेन्सन अनुसार सार्वभौम मुलुकका लागि चाहिने सम्पूर्ण मापदण्ड प्राविधिक रुपमा स्लोजामस्तानले पूरा गरेको उनको भनाइ छ।

सो कन्भेन्सनअनुसार कुनै पनि देश बन्नका लागि स्थायी बासिन्दा, निश्चित क्षेत्र, सरकार र अन्य राज्यहरुसँग कूटनीतिक सम्बन्धमा प्रवेश गर्ने क्षमता आवश्यक छ।

उनका लागि अबको काम भनेको अमेरिकाबाट विभाजन हो। जुन सम्भव छैन।

‘म अलि निराश पनि छु। राष्ट्रपति बाइडेनलाई इमेल र फेसबुक, ट्विटर, इन्स्टाग्राम तथा माइस्पेसमा मेसेज गर्दा पनि हाम्रो मेसेज नपढी छाडियो,’ विलियम्स भन्छन्। सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .