गण्डकी


पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम

पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम

नेपालखबर
असार ४, २०८० सोमबार २०:४८, पोखरा

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताएका छन् । 

‘सरकारी सेवा गुणस्तरी हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरुको दायित्व हो,’उनले भने,‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नुहुँदैन, अन्य कम्पनीसँगको प्रतिस्पर्धामा खरो उत्रनुपर्छ । 

अध्यक्ष प्रजापति नेपाल टेलिकमले प्रदान गर्ने सेवाबारे जानकारी दिन प्रादेशिक कार्यालय पोखराको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै थिए।

सोही कार्यक्रममा बोल्दै नेपाल टेलिकम प्रादेशिक कार्यालय पोखराका निर्देशक इन्दल यादवले टेलिकमले आम्दानीभन्दा पनि संचारमार्फत् देशलाई जोड्ने काम गरिरहेको जिकिर गरेका छन् । 

उनले नेपाल टेलिकमले सेवाको गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै पछिल्लो समयमा जनतालाई सजिलो हुने गरी विभिन्न खाले सुविधाहरु थपिएको पनि बताए। 

उनले भने, ‘पोखरामा टेलिकमले फाइभजी सेवाको परीक्षण गरिरहेको छ, काठमाडौंपछि सेवा विस्तारको लागि पोखरालाई प्राथमिकतामा राखिएको छ ।’

अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षणमा रहेको उनले जानकारी दिए । 

टेलिकमले गुणस्तरीय सेवाका सम्पादन गरेका विभिन्न गतिविधिबारे जानकारी दिँदै उनले सोचेजस्तो गतिमा काम नभएको स्वीकारे।

‘काम गर्न अप्ठेरो छ, हाम्रोमा निर्णय प्रक्रिया नै ढिला छ,अर्कोतर्फ गुणस्तर सुधारको काम गर्दै जाँदा आइपर्ने सानो अवरोधले पनि हामी पीडित छौं,’उनले भने,‘कतै फाइबर बिच्छ्याउने काम ग¥यो, समन्वय हुँदैन,एउटा पोल गाड्न खोज्यो,अवरोध हुन्छ, पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेको छ, दिनदिनै तार चुँडिन्छ,सेवाग्राहीले हामीलाई कराउँछन् तर अन्य निकायले त्यो कुरा बुझ्दैनन् ।

निर्देशक यादवले गण्डकीका २५ लाख १ हजार ८४२ जनाले टेलिकमको सेवा लिएको जानकारी दिए। गण्डकीमा पोष्टपेड मोवाइल चलाउने ७० हजार र प्रिपेड मोवाइल चलाउने २३ लाख ९२  हजार ५०४ जना रहेको पनि उनले बताए।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय पोखराका व्यापार प्रमुख महेन्द्र रिमालले नेपाल टेलिकमको सहरदेखि गाउँसम्म पुगेको जिकिर मात्रै गरेनन्,सस्तो र भरपर्दो भएको पनि बताए।

पछिल्लो समय नेपाल टेलिकमले प्रदान गरेको फाइबर टु होम (एफआइटीएच) बाट इन्टरनेट, टेलिभिजन र फोन सुविधा, अन्तर्राष्ट्रिय रोमिङ,कर्पोरेट युजर ग्रुप (सीयूजी)नमस्ते वाइफाइ, डेडिकेटेट लिज सर्भिस, नोटिस बोर्ड, टोल फ्रि नम्बरजस्ता सेवाबारे उनले विस्तृतमा व्याख्या पनि गरे।

टेलिकमले प्रदान गर्ने प्याकेजहरुले गुणस्तरमा सम्झौता नगर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .