गण्डकी


पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट

नेपालखबर
असार ५, २०८३ शुक्रबार १८:४८, पोखरा

पोखरा महानगरपालिकाले ५१.१ प्रतिशत रकम चालु खर्चतर्फ छुट्याउँदै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

शुक्रबार आयोजित १९ औँ नगरसभामा उपप्रममुख मञ्जुदेवी गुरुङबाट प्रस्तुत आयव्यय विवरण (बजेट) मा पुँजीगततर्फ ४४.९ प्रतिशतमात्र छुट्याइएको छ। 

बजेटको स्रोतको रूपमा संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाट प्राप्त हुने ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ छ।

उपमेयर मञ्जुदेवी गुरुङले संघ सरकारबाट प्राप्त हुने अनुदानमध्ये २ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ ससर्त अनुदान, ४९ करोड ३७ लाख रुपैयाँ समानीकरण, ५ करोड ५० लाख विशेष  र १ करोड ८२ लाख रुपैयाँ समपूरक अनुदान हुने अनुमान पेस गरिन्।

गण्डकी प्रदेश सरकारबाट महानगरले कुल ९ करोड १५ लाख ३६ हजार रुपैयाँ पाउने प्रक्षेपण गर्दा समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार, समपूरक ६० लाख र विशेष अनुदान ४० लाख रुपैयाँ छ।

चालु आर्थिक वर्षमा राजश्व संकलनमा कमजोर देखिएको महानगरले आन्तरिक आय र राजस्व बाँडफाँटतर्फ ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

यसमध्ये महानगरको आफ्नै आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार र बाँकी रकममध्ये संघीय राजस्व बाँडफाँटबाट ३४ करोड ३४ लाख ७३ हजार, प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय राजस्वतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।

‘सम्मुनत पर्यटकीय पोखरा’ निर्माणको लक्ष्य लिएको महानगरले चालु आर्थिक वर्षमा ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो।

आर्थिक वर्ष सकिनै लाग्दासम्म बजेटको ४० प्रतिशतमात्र खर्च भएको छ। ४ अर्ब ६१ करोड ४० लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य लिइएकोमा २ अर्ब १२ करोड ३८ लाख अर्थात् ४६.२ प्रतिशतमात्र उठेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad