समाज


नेपालमा मनसुनसहित ४ मौसम प्रणाली

नेपालमा मनसुनसहित ४ मौसम प्रणाली

नेपालखबर
असार ६, २०८३ शनिबार ८:५८, काठमाडौँ

हाल कोसी प्रदशका केही स्थानमा मनसुनी वायुको प्रभाव छ भने देशका बाँकी स्थानमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो तथा राति देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना छ।

हेर्नुहोस् प्रक्षेपण:

दिउँसो : कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना छ। 

राति : कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान साथै लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेशका एक-दुई स्थान र कोसी प्रदेशको तराईका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। 

काठमाडौँमा मध्यमसम्म वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना देखिएको हो। 

‘अहिले बिहान काठमाडौँको आकाश बादलले भरिएको छ’, उनले बिहान ७:२५ बजे नेपालखबरसँग भने, ‘तत्काल पनि वर्षाको सम्भावना देखिएको छ तर सम्भावना थोरै छ। वर्षा भइहाल्यो भने हल्कासम्म हुन्छ। दिउँसो भने मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

उनका अनुसार केही समयपछि काठमाडौँ उपत्यकामा घाम पनि लाग्ने सम्भावना छ। 

तर मध्याह्नपछि फेरि बादल बढ्दै गएर मध्यमसम्म वर्षा हुने देखिएको छ मौसमविद् ढकालले भने। 

उनका अनुसार अहिले काठमाडौँ उपत्यकामा विशेषगरी पश्चिमी वायुको प्रभाव बढी छ। साथै पूर्वी वायुको पनि प्रभाव छ। 

पूर्वी वायु आफैँमा मनसुनी वायु पनि हो। ‘तर त्यसो भनेर कोसी प्रदेशमा जस्तो काठमाडौँ उपत्यकामा मनसुन आइसकेको छैन’, मौसमविद् ढकालले भने, ‘गण्डकीसम्मै पूर्वी वायुको प्रभाव देखिए पनि यसलाई मनसुन भन्न मिल्ने गरी मापदण्ड पूरा भइसकेको छैन।’

कोसी प्रदेशका केही स्थानमा भने हिजो अर्थात् असार ५ गते मनसुन प्रवेश गरिसकेको छ। 

नेपालको पूर्वी क्षेत्रबाट मनसुन भित्रिने सरदर मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी जुन १९ तारिख (असार ५ गते) मा भित्रिएको हो। अब मनसुन पूर्वबाट बिस्तारै पश्चिमतर्फ फैलिँदै देशको पश्चिमसम्म पुग्छ। यसका लागि केही दिन लाग्ने मौसमविद् बताउँछन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad