गण्डकी


जनयुद्धमा पति गुमाएकी मनरुपालाई ‘माननीय’ बनाउँदै माओवादी

जनयुद्धमा पति गुमाएकी मनरुपालाई ‘माननीय’ बनाउँदै माओवादी

वाशुदेव मिश्र
पुस २२, २०८० आइतबार २२:१, पोखरा

नेकपा माओवादी केन्द्र पर्वतकी संयोजक मनरुपा सुवेदी ‘विमला’ ले गएको मंसिर १७ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्बिरसहित लेखिन्,‘आज के लेखुँ, लेख्ने शब्द नै छैन। सम्झनामा सधैँ अजर अमर मेरो आफ्नु मान्छे। हार्दिक श्रद्धासुमन।’

मनरुपाले राखेको तस्बिर श्रीमान विजय सुवेदी (विकास) को थियो भने व्यक्त भावना धेरै वर्ष अर्थात् २०६१ साल मंसिर १७ गतेसँगै जोडिएको थियो।

भएको के थियो भने, स्याङ्जाको सिर्सेकोटमा खाना खाँदै गरेका विजयसहित ५ जनालाई तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर मारेको थियो। मारिनेमा विजयसहित कृष्ण गौतम, कुविजा पराजुली, मोहनसिंह गाहा मगर र खड्ग कुँवर थिए।

मनरुपाको विहे भएको धेरै भएकै थिएन। विजय र मनरुपा दुवै माओवादीका पूर्णकालीन कार्यकर्ता नै थिए। युद्धको समयमा मनरुपाको काम पार्टीको लडाकु पंक्तिलाई सघाउनु नै हुन्थ्यो। पति गुमाएपछि पनि उनी निरन्तर पार्टीकै काममा लागिन्। कयौंपटक मृत्युको मुखबाट फुत्किइन्, बेनीसहितका युद्धमा लडाकुको सहयोगमा खटिइन्।

युद्धकालीन समयमा स्याङ्जाकै मग्याम चिसापानीमा सेनाको घेरामा परेको र बल्लतल्ल फुत्किएको घटना अहिले पनि उनलाई ताजै लाग्छ। सँगैकी साथीलाई सेनाले समातेपछि उनी गाउँलेजस्तो बनेर त्यहाँबाट फुत्केकी थिइन् रे!

पार्टी शान्ति प्रक्रियामा आयो। सहिद परिवारकी सदस्य मनरुपालाई पहिलो संविधान सभा चुनावमा पर्वतबाट उम्मेदवार बनायो। तर, उनी नेपाली कांग्रेसका अर्जुन जोशीसँग पराजित बनिन्। त्यसपछिका हरेकजसो चुनावमा उनी पार्टीबाट उम्मेदवार सिफारिस भइन्। समानुपातिकको सूचीमा रहिन् तर सिंहदरबार छिर्ने साइत भने जुरेन।

‘उहाँ सहिद परिवारको सदस्यमात्र नभएर पार्टीको अगुवा नेतासमेत हो,’माओवादीका केन्द्रीय सदस्य राजकाजी गुरुङले भने,‘त्याग र क्षमताको आधारमा उहाँ राष्ट्रिय सभाको लागि योग्य उम्मेदवार हो। उहाँप्रति पार्टीले न्याय मात्र गरेको छैन, आशा पनि गरेकै छ।’

माओवादीको भातृ संगठन अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी उनलाई पार्टीले जिल्लाको नेतृत्व सुम्पियो। जिल्ला  नेतृत्व नै पाउने सीमित महिलामध्ये एक बनेकी मनरुपाले पार्टीको कामलाई सधैं केन्द्रमा राखिन्। पार्टीले संचालन गरेको रुपान्तरण अभियान होस् कि संगठन बिस्तार निरन्तर मोर्चामा खटिइरहिन्।

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १०, वडा नम्बर १०,पिपलटारीकी उनै मनरुपालाई पार्टीले यसपटक राष्ट्रिय सभाको उम्मेदवार बनाउने घोषणा गरेको छ।  

महिला समूहबाट माघ ११ गते हुने राष्ट्रिय सभामा उम्मेदवार घोषणा भएसँगै जीत लगभग पक्का भएको छ। कारण, उनको पछाडि सत्ता गठबन्धन रहेको छ। गठबन्धनमा आबद्ध भएका दलहरुको मतभार ३ हजार ८२७ रहेको छ।

गठबन्धन यतिबेला प्रमुख प्रतिपक्षी एमालेभन्दा झन्डै एक हजार ४ सय मतभारले अगाडि रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .