गण्डकी


खगराजलाई अर्को मौका, प्रदेश प्रमुखमाथि दोषको भारी

खगराजलाई अर्को मौका, प्रदेश प्रमुखमाथि दोषको भारी

वाशुदेव मिश्र
बैशाख १७, २०८१ सोमबार २२:५१, पोखरा

सर्वोच्च अदालतको सोमबारको आदेशले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई राहत मिलेको छ भने प्रदेश प्रमुख डिल्लीराज भट्टको टाउकोमा दोषको भारी थोपरिएको छ। 

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार गरेको आदेशले चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई पुनः संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूसँग बहुमत सदस्यको समर्थन छ भन्ने पुष्टि गर्ने मौका प्रदान गरिदिएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेबाट दायर गरिएको रिट खारेज गर्दै सुनाउँदै सर्वोच्चले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र आफूसँग ६० सदस्यीय संसदको बहुमत रहेको सिद्ध गर्न खगराज अधिकारीलाई निर्देशन दिएको छ। संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतले आफूलाई नै मुख्यमन्त्री नियुक्त गरिनुपर्ने सुरेन्द्रराजको दाबी अदालतले अस्वीकार गरिदिएको छ।

खगराजले विश्वासको मत प्राप्त नगरे धारा १६९ को उपधारा ३ क्रियाशील हुने पनि सर्वोच्चले उल्लेख गरेको छ।

‘संविधानको धारा १६९ को उपधारा २ अनुसार  नियुक्त मुख्यमन्त्रीलाई धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत प्राप्त हुने सम्भावना रही रहेकै अवस्थामा धारा १६८ को उपधारा ३ मा जान मिल्ने देखिएन,’आदेशमा भनिएको छ, ‘तसर्थ निवेदकको दाबी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएका संसदीय दलका नेताको हैसियतले निवेदन दाबी बमोजिम निवेदकलाई मुख्यमन्त्री नियुक्त गरिपाउन परमादेश जारी गर्नुपर्ने देखिएन।’
    

सर्वोच्चले सभामुखको पद तटस्थ र स्वतन्त्र पद नै भएको स्पष्ट ब्याख्या गर्दै निजलाई राजनीतिक फाइदा बेफाइदाको गणनामा प्रयोग गर्न नपाइने दोहो¥याएको छ।

तर, सर्वोच्चको यही फैसलामा सभामुखलाई संसदको सदस्यबाट माथि राख्दै  ५९ सदस्यीय संसदमा खगराजको हकमा ३० जनाको  समर्थन रहेको देखिएको उल्लेख गरिदिएको छ।

जसले गर्दा सभामुखलाई गणना नगर्दा पनि प्रदेशसभामा खगराजको पक्षमा बहुमत पु¥याउन सजिलो हुने बाटो खुलेको छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत सिद्ध गर्न ३१ सांसद हुनुपर्छ भन्ने मान्यता स्थापित छ।

सर्वोच्चको फैसला अनुरुप अब मुख्यमन्त्री अधिकारीले वैशाख २४ गतेभित्र आफूसँग ६० सदस्यीय संसदमा बहुमत सदस्यको समर्थन रहेको प्रमाणित गर्नुपर्छ।

मुख्यमन्त्री नियुक्त हुँदा उनले माओवादीबाट विजयी बनेका सभामुख कृष्ण धितालसहित ८,एमालेका २२ र स्वतन्त्र सांसद दीपक मनाङेसहितको दलगत समर्थनमा ३१ सांसद रहेको जिकिर गरेका थिए।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई पनि बहुमत सिद्ध गर्ने प्रक्रियामा जोडेर खगराजले बहुमत पुर्‍याएकाले नियुक्ति खारेज गर्दै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार  बन्न नसक्ने अवस्थामा ठूलो दलको नेताको हैसियतले आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गरेका थिए।

यता, मुख्यमन्त्री खगराजको प्रयत्नमा आँखा चिम्लेर समर्थन जनाएको र मुख्यमन्त्रीमा दाबी गर्न आफैले दिएको पूरा समय पनि नकुरेकोमा सर्वोच्चले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई सचेत गराएको छ।

‘जहाँसम्म प्रदेश प्रमु्खले आफूले दिएको समयसम्म पनि दाबी यो वा त्यो रुपमा दिनसक्ने विकल्पको समयसम्मलाई नकुरी,आफूले दिएको समय तालिकालाई आफैंले नमान्नु वा समयअघि नै निष्कर्षमा पुग्नु सूचनाको पवित्रतासम्म पनि मर्यादा नराखी हतास मानसिकताबाट निष्कर्षमा पुग्न खोजेको देखियो,’ आदेशमा भनिएको छ, ‘समयसीमाको पालना स्वभाविक र सामान्य अपेक्षा हो। प्रदेश प्रमुखजत्तिको जिम्मेवार व्यक्ति सदैव यस्तो विषयमा सजग र सचेत पनि रहन आवश्यक छ। तर, प्रस्तुत मुद्दामा प्रदेश प्रमुखले तोकेको समयसीमासम्म निवेदकको बहुमत छ भनी दाबी लिन सकेको देखिएन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .