गण्डकी


फेवातालको सीमांकन गर्न पोल गाड्न थालियो

फेवातालको सीमांकन गर्न पोल गाड्न थालियो

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८२ शनिबार २१:२८, काठमाडौँ

पोखराको पर्यटकीयस्थल फेवातालमा सीमांकन गर्न सुरु भएको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै प्रदेश सरकार, पोखरा महानगरपालिका र स्थानीय प्रशासनको सक्रियतामा आजदेखि फेवातालमा सीमांकन गर्न सुरु गरिएको हो।  

यसअघि, सीमांकन गर्ने क्रममा स्थानीय जग्गाधनीले मुआब्जाको विषयमा आफूहरूसँग छलफल नगरी एकलौटी रूपमा काम अगाडि बढाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै काममा अवरोध सृजना गरेका थिए।

तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवातालको नयाँ सीमासहितको क्षेत्रफल निकालेको थियो। उक्त समितिले फेवाताल छुट्याउने गरी ‘डिजिटल’ रूपमा एक हजार ५५ वटा पोल गाडिने जनाएको छ। सोही अनुसार आज सातवटा पोल गाडिएका छन्। 

तालको उच्चतम पानीको विन्दुमा सातवटा पोल गाडिएको हो। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आज फेवातालको किनारस्थित बाराहीघाटमा पोल गाडेर सीमांकनको शुभारम्भ गरे।

सर्वोच्च अदालतको परमादेश आएको २३ महिनापछि फेवातालको नयाँ क्षेत्रफल कायम गरेको थियो। सहजीकरण समितिले विसं २०८० माघ ११ गते फेवातालको सीमांकन गरी प्रतिवेदन पेस गर्न प्राविधिक उपसमितिसहित विभिन्न उपसमिति गठन गरेको थियो। 

सर्वोच्च अदालतले विसं २०८० असार ४ गते फेवाताल किनारबाट ६५ मिटरसम्मका सबै संरचना हटाउन संघीय र प्रदेश सरकार तथा पोखरा महानगरपालिकाका नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो। उक्त परमादेशको पूर्णपाठ विसं २०८० असोज ९ गते सार्वजनिक भएको थियो।

पूर्णपाठमा वर्षायामको उच्चतम पानीको विन्दुबाट ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन परमादेश जारी गरेको थियो। उक्त आदेशमा २०३१ सालपछि दर्ता भएका फेवाताल परिसरका स्थानीयको जग्गामा मुआब्जासमेत दिन नपर्ने उल्लेख छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad