गण्डकी


पोलियोलाई जितेका पदम परियार: जसले राष्ट्रियसभामा गर्नेछन् चार समुदायको प्रतिनिधित्व

पोलियोलाई जितेका पदम परियार: जसले राष्ट्रियसभामा गर्नेछन् चार समुदायको प्रतिनिधित्व

वाशुदेव मिश्र
पुस २४, २०८० मंगलबार १४:२७, पोखरा

जन्मेको ६ महिनामै लागेको पोलियो रोगले उनलाई जित्न त सकेन तर नमेटिने निशानी छाडेर गयो। देब्रे खुट्टाले भर नपाउने गरी मसिनो र छोटो बनाइदियो। उनी अर्थात् तनहुँको व्यास नगरपालिका १ निवासी पदमबहादुर परियार। 

यतिबेला अपांगता भएकाहरूको हक-हितमा काम गरिरहेका होचो कदका पदमको उचाइ एकाएक बढेको छ। 

कारण- उनलाई नेपाली कांग्रेसले अल्पसंख्यक/अपांगतातर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ। राष्ट्रिय सभाका १९ सदस्य चुन्न आउँदो माघ ११ गते हुने निर्वाचनका लागि ४२ वर्षीय पदमले पुस २३ गते उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गराउनासाथ उनले बधाई पाइरहेका छन्। किनकि गण्डकीमा मतभार रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित सत्ता गठबन्धनका दलले उनलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रतिस्पर्धामा रहेका एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको भन्दा सत्ता गठबन्धनको मतभार बढी रहेकाले उनको जित लगभग निश्चित देखिन्छ। 

‘माननीयको टिकट फुस्काउने रस्साकस्सीमा नलागेको तर ‘योगदान र सम्भावना’को मूल्यांकन गरिएको’ पदमकै प्रतिक्रियालाई सत्य मान्ने हो भने उनी भाग्यमानीमै दरिएका छन्। कांग्रेसको भागमा परेको अन्य समूहको सिटका लागि मारामार हुँदा अपांगता/अल्पसंख्यक समूहका ४३ जनामध्ये तनहुँका यी युवाको नाममा सहमति जुटेको हो। 

तनहुँको जलदेवी निमाविमा पढ्दादेखि नै उनी नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए। हालै स्वर्णिम वाग्लेलाई संसदीय निर्वाचन परिणाम बुझाएका गोविन्द भट्टराईले कक्षा ७ मा पढ्दा नै सदस्यता थमाएको उनले सम्झे।

त्यसपछि  वसन्त आले नेविसंघ तनहुँको सभापति हुँदा उनी आन्दोलनमै होमिए। उनी यति खरा कांग्रेसी बनेछन् कि २०५१ सालमा एमालेको प्रचारमा हिँडेका आफ्नै भिनाजुसँग पनि बाझाबाझ गर्न भ्याएछन्। स्कुले पढाइ सकियो। उनी भानुभक्त बहुमुखी क्याम्पस भर्ना भए।

त्यहाँ रहँदा उनी नेविसंघको राजनीतिसँगै नेपाल रेडक्रस सोसाइटीमा बढी सक्रिय देखिए। अध्यक्ष बने। विद्यार्थी जीवन उति सजिलो थिएन। उनले जेनतेन आफूलाई अगाडि बढाए। त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गरे। 

संघर्षको कुराचाहिँ उनलाई नजिकबाट चिन्ने देव रसाइलीबाट सुनौँ न त। उनी  भन्छन् ,‘पदम अत्यन्तै निम्नवर्गीय परिवारबाट आउनुभएको हो।  थोरै जमिन भए पनि खान पुग्दैनथ्यो। कुनै दिन क्याम्पस पढ्न बस्दा खर्च गर्ने पैसा हुँदैनथ्यो। संघर्ष गरेर अगाडि बढ्नुभएको हो।’

देवका साख्खै दाजु भीम रसाइलीसँग पदमको दोस्ती थियो। भीमका पिता डोबाटे विश्वकर्मा कांग्रेसका प्रतिबद्ध कार्यकर्ता।

‘त्यही संगतले पनि, हाम्रो बुबाको त्याग र क्रियाशिलताले पनि पदमजीलाई प्रभावित गरेको हुनुपर्छ’, देवको अनुमान छ।

अपांग हुनुको पीडा भोगेका पदमलाई अपांगताको हक-अधिकारबारे बोल्नैपर्छ भन्ने लाग्यो। यसअघि अपांग क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा पुगेका प्रकाश पन्थसँग हिमचिम बढ्यो। अपांगताको क्षेत्रमा काम गर्ने रिसेड भन्ने संस्था जन्मियो। उनी तीन कार्यकाल अध्यक्ष बने। हाल उनी अपांगताकै हित पैरवी गर्ने सीबीआर नेसनल नेटवर्कको  अध्यक्ष छन्।

अपांगता भएका व्यक्तिको सशक्तीकरणका लागि अवधारणागत, भौतिक र नीतिगतजस्ता अवरोध रहेको उनको बुझाइ छ। 

‘अपांगता भएकालाई कम आँक्ने, लाञ्छना लगाउने गरिन्छ।  भौतिक अवरोध भोग्नुपर्छ। दृष्टिविहीन हुँदा अरुसरह हुन सकिँदैन। बहिरा समुदायले सञ्चाचारमै समस्या भोग्नुपर्छ’, व्याख्यात्मक शैलीमा उनले भने, ‘नीतिगत अवरोध त्यस्तै छन्, अपांगमैत्री नीति-नियम बनेका छैनन्। बने पनि कार्यान्वयनमा ल्याउन उस्तै चुनौती छन्।’

राष्ट्रिय सभामा पुगेपछि  पहिलो प्राथमिकता अपांगता क्षेत्रको उत्थान हुने पनि उनले बताए। 

कसको आशीर्वादले काम गर्‍यो र टिकट हात पर्‍यो त?  उनले टिकट पाउनुमा सबै नेताको सदाशयता रहेको जिकिर गरे।

‘आशा गरेको हो। पक्कै गरेको हो। पार्टी ठूलो छ। आकांक्षीको लर्को छ। मलाई नै हुन्छ भन्ने थिएन। लोकतन्त्रले  सबै वर्ग र क्षेत्रको प्रतिनिधित्वको सुुिनश्चितता गरेको छ। नाम सिफारिस भएपछि मैल पनि आशा गरेकै हो। हाम्रो पार्टी ठूलो छ। आकांक्षी पनि धेरै नै हुनुहुन्थ्यो। मैलेमात्र पाउनुपर्छ भन्ने थिएन’, उनले भने, ‘मेरो हकमा युवा हुनुले फाइदा गर्‍यो होला।  समावेशी बनाउन खोज्दा पनि सहज भयो होला। यो नेताले गर्‍यो भन्नु भन्दा पनि सबै नेताले सदाशयता जनाउनुभएको हो। धनराज दाई (धनराज गुरुङ), विश्व दाई (विश्वप्रकाश शर्मा), गगन दाइ (गगन थापा), जीवन दाइ (जीवन परियार) र शेखर दाइ (शेखर कोइराला), अनि सभापति आदरणीय शेरबहादुर देउवाकै कारण उम्मेदवार बन्ने मेसो मिलेको हो।’

आमा, श्रीमती र एकछोरासहितको परिवारमा बस्ने पदमका दुई दाजु पनि छन्। अब उनी पारिवारिक दायित्वसँगै नीति निर्माण गर्ने ठाउँमा पुग्दैछन्। पहिलो झमटमै राष्ट्रिय सभा छिर्ने अवसर पाएका उनीसँग केही गरौँ भन्ने हुटहुटी पनि छ। 

‘उहाँ काम गर्नुपर्छ भन्ने खालको मान्छे हो। उहाँ दलित, अपांग, गरिब र युवाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ’, देव रसाइली भन्छन्,‘दलितको राजनीतिमा पनि पहुँच कम हुन्छ। भुइँ मान्छेलाई अवसर दिएर कांग्रेसले उम्मेदवार छान्ने क्रममा न्याय गर्‍यो। अवसर दिएर गरेका अन्य दोष मेटायो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .