ग्लोबल


रुस र युक्रेन : कसको सेना कति बलियो?

रुस र युक्रेन : कसको सेना कति बलियो?

युक्रेनी सैनिकका साथ राष्ट्रपति जेलेन्स्की। (९ अप्रिल २०२१ को तस्बिर)।


नेपालखबर
फागुन ११, २०७८ बुधबार १९:६, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका छन्। युक्रेनमा विद्रोहीका नियन्त्रणमा रहेका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि उनले यो कदम चालेका हुन्।

रुसी राष्ट्रपतिले आफ्ना सेना त्यहाँ ‘शान्ति कायम राख्न’ गएको दाबी गरेका छन्। तर अमेरिकाले यसलाई बकवास भनेको छ। 

यसपछि रुसी सेना युक्रेनका ती दुई इलाकातर्फ अघि बढिरहेको तस्बिर सार्वजनिक भइरहेका छन्। रुसले केही महिनादेखि युक्रेनको सीमामा झन्डै २ लाख (१९०, ०००) सैनिक तैनाथ गरेको थियो। यिनैमध्येबाट सैन्य एकाइ अब युक्रेनको सीमा पार गर्नेछन्।

रुसी सेनासँग ट्याङ्क र गोलाबारुद छ, उनीहरूलाई वायुसेना र नौसेनाको पनि सहयोग मिलिरहेको छ।

उता युक्रेनका राष्ट्रपतिले भनेका छन्– हाम्रो देशलाई न कुनै कुराको न कुनै व्यक्तिको डर छ।

रुसी टीभीमा युक्रेनको सीमानजिक तैनाथ ट्याङ्कको तस्बिर (१४ जनवरी २०२२)

त्यहाँ रूसी सैनिक कति छन्?
हालैका हप्तामा युक्रेन र वरपर रुसी सेनाको संख्या एक लाखदेखि एक लाख ९० हजारको बीचमा हुनसक्ने अनुमान गरिएको छ।

गत शुक्रबार अमेरिकाले रुसले युक्रेन र वरपर १ लाख ६९ हजारदेखि १ लाख ९० हजार सैनिक तैनाथ गरेको बताएको थियो। 

युरोपेली सुरक्षा तथा सहयोग संगठन (ओएससीई) मा अमेरिकी राजदूत माइकल कारपेन्टरले भने, ‘यस संख्यामा युक्रेनसँगको सिमानामा र बेलारुस र कब्जा गरिएको क्रिमियामा तैनाथ सेना समावेश छन्। यसका अतिरक्ति यो संख्यामा रुसी सुरक्षा गार्ड र अन्य घरेलु सुरक्षाकर्मी पनि सामेल छन्। साथै पूर्वी युक्रेनमा रूसी नेतृत्वको सेनाहरू पनि छन्।’

यस्तै बेलायतका रक्षामन्त्री बेन वालेसले रुसी सेनाका ६० प्रतिशत सैनिक रुस र बेलारुसको सिमानामा रहेको बताएका थिए।

रुस र बेलारुसका सैनिकले हालै सैन्य अभ्यास गरेका थिए।

अर्कातर्फ युक्रेनका रक्षामन्त्रीले यो संख्या १४९,००० हजार भनेका थिए।

रुसले यी सबै विषयमा स्पष्ट रुपमा केही बताएकाे छैन। संयुक्त राष्ट्र संघका लागि रुसी उपराजदूत दिमित्री पोलान्स्कीले भने, ‘यो सबै हाम्रा पश्चिमका साथीहरूको दिमागको उपज हो।’

गत हप्ता, रसियाको रक्षा मन्त्रालयले यसको दक्षिण र पश्चिम जिल्लाहरूमा केही सेनाले आफ्नो अभ्यास सकिसकेको र आफ्नो स्थायी अड्डाहरूमा फर्किरहेको रहेको बताएको थियो। 

तर सैन्य संगठन नेटोले यसबारे आफूले कुनै प्रमाण नपाएको बताएको थियो। नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भनेका थिए, ‘उल्टो यस्तो देखिन्छ कि रूसले चाहिँ सैन्य व्यवस्था बढाउँदै छ।’

पश्चिमी अधिकारीहरूले नाम नबताउने सर्तमा भनेका छन्–  गुप्तचरबाट प्राप्त जानकारीअनुसार रुसी सैनिक युक्रेनमा आक्रमण गर्न सक्ने ठाउँसम्म पुगिसकेका छन्।

आफ्नो दुईतिहाइ सेना सीमाको ५० किलोमिटरभित्र रहेको उनीहरूको भनाइ छ।

स्याटेलाइट तस्बिरहरूले पनि केही रूसी सेना युक्रेनी सीमानजिकै ससाना समूहमा बाँडिएका संकेत गरेका छन्। 

तर धेरै विज्ञ के ठान्छन् भने रुसले युक्रेनलाई पूर्ण रूपमा आक्रमण गर्न र उसका  धेरै वा सबै भाग कब्जा गर्न हाल तैनाथभन्दा धेरै सेना परिचालन गर्नुपर्नेछ।

युक्रेनको सैन्य क्षमता र नेटोको साथ 
युक्रेनको सेना रुसको तुलनामा निकै सानो छ तर उसले उत्तरी एट्लान्टिक सैन्य संगठन नेटोबाट सहयोग पाइरहेको छ।

अमेरिकाले युक्रेनभित्रै त कुनै सेना पठाएको छैन तर नजिकै पोल्यान्डा र रोमानियामा नेटो सेनालाई बलियो बनाउन थप ३ हजार सेना पठाएको छ र अन्य ८ हजार ५ सय सेनालाई अलर्टमा राखेको छ। 

नेटाे सेना

साथै अमेरिकाले जेभलिन एन्टी ट्याङ्क मिसाइल र स्टिङगर एन्टी एयरक्राफ्ट मिसाइलसहित २० करोड डलर बराबरको हतियार पनि पठाएको छ। यसले नेटो सदस्य राष्ट्रहरूलाई युक्रेनलाई अमेरिकामा निर्मित हतियार हस्तान्तरण गर्न अनुमति पनि दिएको छ।

यसैगरी बेलायतले पनि युक्रेनलाई छोटो दूरीका २ हजारवटा ट्याङ्कप्रतिरोधी मिसाइल पठाएको छ, ३५० भन्दा बढी सेना पोल्यान्डमा पठाएको छ र इस्टोनियामा थप ९०० सेना पठाएर आफ्नो सैन्य क्षमता दोब्बर बनाएको छ।

बेलायतले आफ्ना थप लडाकु विमान दक्षिण युरोप पठाएको छ र नेटोका अन्य लडाकु जहाजका साथ एक नौसैनिक जहाज भूमध्यसागरको निगरानीका लागि  पठाएको छ।

साथै उसले आक्रमणको अवस्थामा युक्रेनमा हुने मानवीय संकटमा सहयोग गर्न सकोस् भनेर आफ्ना १ हजार सैनिकलाई अलर्टमा राखेको छ।

डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्यान्डले पनि पूर्वी युरोप र पूर्वी भूमध्यसागरमा आफ्ना लडाकु विमान र जहाज पठाएका छन्।

र, अर्कातर्फ फ्रान्सले पनि रोमानियामा नेटोको सेनाको नेतृत्व गर्ने र त्यहाँ आफ्ना सेना पठाउने योजना बनाएको छ, तर नेटोले आफ्नो पूर्ण योजनालाई अन्तिम रूप दिन केही हप्ता लाग्ने जनाएको छ।

त्यसबेला नेटोले हस्तक्षेप गरेन, तर जवाफस्वरूप पहिलोपटक पूर्वी युरोपका धेरै देशमा आफ्ना सेना तैनाथ गरेको थियो।

नेटाे सैनिक

नेटोले इस्टोनिया, लाट्भिया, लिथुआनिया र पोल्यान्डमा चारवटा बटालियनस्तरीय बहुराष्ट्रिय एकाइ  र रोमानियामा एउटा बहुराष्ट्रिय ब्रिगेड तैनाथ गरेको छ।

यसका साथै उसले बाल्टिक देशहरू र पूर्वी युरोपमा हवाई क्षेत्रको निगरानी पनि बढाएको छ, ताकि कुनै रुसी विमानले नेटो सदस्य राष्ट्रहरूको हवाई क्षेत्र उल्लङ्घन गरेमा समात्न सकियोस्। 

यसबाट रुस रुष्ट भएकाे छ र ऊ यी सेना बाहिर निस्किऊन् भन्ने चाहन्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .